Shittalpati
तिनाउ गाउँ सरकारले सक्यो ४० प्रतिशत योजना

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाले चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा सम्झौता भएका ४० प्रतिशत योजना सकेको जनाएको छ । गाउँपालिकाले सम्झौता भएका २ सय ९४ योजना मध्ये १ सय १६ वटा योजना सम्पन्न भई फरफारक भईसकेको सार्वजनिक सुनुवाईमा जनाएको हो ।

गाउँपालिकाले चिउरेपानी लिफ्ट खानेपानी योजनाको ७२ प्रतिशत, रानीबगिया, झिंगामारा ठूली उदान मोटरबाटोको ५० प्रतिशत, जाल्माघाट गिजनचौर मोटरबाटोको ८० प्रतिशत, अविरल पार्कको ९० प्रतिशत, खुलखुले पार्कको ६० प्रतिशत, चर्चरे मरामकोट बाटोको ९० प्रतिशत, डुम्रे शिखरडाँडाको ४० प्रतिशत काम सकिएको प्रगति विवरण सार्वजनिक गरेको छ । यसैगरी ३ को वडा कार्यालय भवन झुम्साको ७२ प्रतिशत, ४ सत्यवतीको वडा कार्यालय भवनको ६६ प्रतिशत, ५ चर्चरे कोल्डाडा वडा कार्यालय भवनको ६३ प्रतिशत, ६ मस्याम वडा कार्यालय भवनको ७८ प्रतिशत, तिलोत्तमा मावी झुम्साको प्राविधिक शिक्षालय भवनको ५४ प्रतिशत काम सकिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले बताए । गाउँपालिकाको कृषिको निशर्ततर्फ ४९ प्रतिशत काम भई भुक्तानी भएको, पशु सेवातर्फ ५० प्रतिशत काम सम्पन्न भई भुक्तानी भएको, शिक्षाको सशर्त तर्फ ४३ प्रतिशत र निशर्त तर्फ ३५ प्रतिशत रकम खर्च भएको, स्वास्थ्यको सशर्त तर्फ ४४ प्रतिशत, निशर्त तर्फ ५२ प्रतिशत रकम खर्च भएको छ । तिनाउ गाउँपालिकाले चालु आर्थिक बर्षको फागुन मसान्तसम्म प्राप्त बजेटको ४६.१४ प्रतिशत रकम खर्च गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताए । कक्षा १ को स्थानीय पाठ्यक्रम निर्माणको कार्य अन्तिम चरणमा पुगेको, विधार्थी तथा शिक्षकको स्वास्थ्यलाई ध्यानमा राखी गाउँपालिका भित्रका ४ माविमा विद्यालय स्वास्थ्य कमिटी निर्माण गरिएको, ५ वटा विद्यालयमा नाक कान, दाँत, आँखा रक्त समूह तथा रक्त अल्पता शिविर सञ्चालन गरेको, ३१ प्रतिशत किशोरीहरुमा रक्त अल्पता देखिएको, ५ सय १० जना जेष्ठ नागरिकहरुलाई घर घरमै पुगी स्वास्थ्य चेकजाँच तथा उपचार सेवा दिएको, सुनौलो हजार दिनका आमा र बच्चालाई पोसिलो खानाका लागि कुखुराका चल्ला, पोषिलो तरकारीको विउ विजन, फिल्टर विद्युतीय जग, सावुन ब्रस कोलगेट समान सहयोग गरेको गाउँपालिका अध्यक्ष घर्तीले बताए ।

कृषितर्फ बाली संरक्षण तथा शिविर सञ्चालन, लग्दुवाका किसानलाई ५० प्रतिशत अनुदानमा आलु पकेट कार्यक्रम सञ्चालन, बोटेगाउँ, कचल र मरामकोटमा ५० प्रतिशत अनुदानमा तरकारी पकेट कार्यक्रम सञ्चालन, ५० प्रतिशत अनुदानमा मकै तथा गहुँको विउ वितरण, न्यून आय भएका परिवारलाई निःशुल्क विउविजन वितरण, ६ वटै वडामा अध्यक्षसँग किसान कार्यक्रम र ५० प्रतिशत अनुदानमा मिनी टिलर कार्यक्रम सहयोग गर्दै आएको जनाएको छ । पशु कार्यक्रमतर्फ कृषकलाई निःशुल्क घाँस विउ, तथा औषधी वितरण, भकारो सुधार तथा दुध मिसन कार्यक्रम सञ्चालन भएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । गाउँपालिकाले दुर्घटनामा परी मृत्यु भएकालाई ३५ हजार, बाढी पहिरो तथा आगलागीबाट पूर्ण क्षति भएका घरपरिवारका लागि २० हजार , आशिंक क्षति भएका घरपरिवारका लागि १० हजार गरी ३८ जना व्यक्तिलाई सहयोग प्रदान गरेको जनाएको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । गरिवी निवारण तथा रोजगारमुलक कार्यक्रमका लागि १५ दिने डल कुसन बनाउने तथा मौरीपालन सम्बन्धी तालिम, ३ महिने सिलाई कटाई तथा सुईटर बुन्ने तालिम सञ्चालन भएको, १ सय २ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत काम गरेको गाउँपालिकाले जनाएको छ । गरीवका घरहरु फूस सहित बनाउन ५४ घर परिवारलाई जस्ता पाता खरिदको लागि ५० हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको, गाउँपालिकाले पहिलो पटक विज्ञापन कर वापत ३५ हजार रुपैयाँ संकलन गरको प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताए । सार्वजनिक सुनुवाईमा नागरिकहरु कृष्ण पाण्डे, टंकनाथ बस्याल, चट्टान, छवी गहतराज, रेनु लम्साल, कमल श्रेष्ठ, हिमाल रसाईली, राम बहादुर दर्जी लगायतले सार्वजनिक जग्गा मिचिएको, खानीको अनियमिता, ज्यादती विषयमा पालिका मौन रहेको, सडक धुलो धुवा हुँदा समेत तिनाउ गाउँपालिकाले ध्यान नदिएको काममा जनप्रतिनिधि र कर्मचारी बिच तालमेल नभएको लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती, उपाध्यक्ष दमयन्ती थापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, वडा अध्यक्षहरु, राजेश श्रेष्ठ, प्रेम पाण्डे, दानबहादुर गाहा, टोमबहादुर पुन, कृषि शाखा प्रमुख हेमन्तकुमार शर्मा, लेखा प्रमुख शंकर पुरी लगायतले उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिएका थिए । कार्यक्रम पालिका अध्यक्ष ओमबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दमयन्ती थापाको स्वागत र सहजीकरण पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलले गरेका थिए ।

प्रकाशित मिति: शनिबार, चैत १२, २०७८  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update