Shittalpati
चैत्र १७ देखि अर्गली–पाल्पा महोत्सव हुने

पाल्पा, पाल्पा, गुल्मी र स्याङजाको संगमस्थल रुरु क्षेत्र धाम रिडीमा यही चैत्र १७ गतेदेखि अर्गली– पाल्पा महोत्सव हुने भएको छ । अर्गली जनचेतना युवा मञ्चको आयोजना र तानसेन नगरपालिका १४ को सहयोगमा चैत्र १७ गतेदेखि २७ गतेसम्म अर्गली–पाल्पा महोत्सव हुने भएको हो ।

क्लवले मंगलबार रिडीमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गर्न लागेको जनाएको छ । उसले ‘पाल्पा, गुल्मी, स्याङजाको संगमस्थल रुरु धाम जाउ, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउ’ भन्ने मूल नाराका साथ महोत्सव गर्न लागिएको जनाएको छ । यस क्षेत्रमा उत्पादित वस्तु तथा सेवाको प्रदर्शन, बिक्री–वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत महोत्सवको अवधिभर प्रदर्शन गरिने क्लवका अध्यक्ष अर्जुन कौशले बताए । महोत्सवमा कृषि प्रदर्शनी, कुटीर उद्योगबाट उत्पादित वस्तु तथा सेवाको प्रदर्शनी, हस्ताकलाका उत्पादित वस्तुको विक्री वितरण, दैनिक उपभोग्य वस्तुको विक्री वितरण, स्वदेशी तथा विदेशी लत्ताकपडाको विक्री वितरण, स्थानीय संस्कृतिको प्रवद्र्धन, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति रहने अध्यक्ष कौशलले जानकारी गराए । उनका अनुसार सांस्कृतिक कार्यक्रमतर्फ स्थानीय संस्कृति झल्कने झाँकी, भजन किर्तन, धार्मिक प्रहशन, बटुकहरुबाट स्वस्ती वाचन, मौलिक सालैजो, सोरठी, झ्याउरे, फागु गायन तथा नृत्य समेत रहने छ । महोत्वसका अन्य आकर्षणहरुमा बाल उद्यान, विभिन्न खानाका परिकार, कालीगण्डकी नदीमा र्‍याफटिङ रहेका छन् । महोत्सवबाट संकलन भएको रकमले मुस्लुकडाँडामा निर्माण भएको शौचालयका लागि अपुग रकम दिइने, रिडीमा निर्माण गर्ने शवयात्री प्रतिक्षालय/पौवा निर्माणमा खर्चिने क्लवका अध्यक्ष कौशले बताए ।

पत्रकार सम्मेलनमा नेकपा माओवादी पाल्पाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले ऐतिहासिक धार्मिक र पर्यटनका हिसावले प्रसिद्ध रिडीधामको विकास र विस्तारका लागि आयोजना गर्न लागिएको महोत्सव अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले महोत्वस गर्नु चुनौतीपूर्ण रहे पनि सबैको सहयोग र साथ आवश्यक रहेको औल्याए । अध्यक्ष पाण्डेले भने ‘धार्मिक र पर्यटन क्षेत्रको विकास हुनु भनेको सबैका लागि खुसीको कुरा हो, त्यसैले सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरौं ।’ उनले आफ्नो पार्टीको तर्फबाट महोत्सवमा पूर्ण सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गरे ।

तानसेन नगरपालिका १४ का वडा अध्यक्ष कमल रानाले स्थानीय कला, संस्कृति, कृषि र पर्यटनको विकास र विस्तारका लागि गर्न लागिएको महोत्सवमा वडा कार्यालयको सहयोग रहने बताए । उनले धार्मिक स्थलमा प्राकृतिक आँच नआउने गरी महोत्सव गर्न क्लवलाई अनुरोध समेत गरे । कार्यक्रममा नेकपा एमालेका वडा अध्यक्ष शोभाखर भट्टराई, नेकपा समाजवादीका वडा अध्यक्ष विष्णु न्यौपाने, नेकपा माओवादीका वडा अध्यक्ष लक्ष्मण भट्टराई, पत्रकारहरु रामचन्द्र रायमाझी, सन्तोष बस्याल, विजय बौडेल लगायतले महोत्व सफलताको शुभकामना व्यक्त गरे । कार्यक्रम क्लवका अध्यक्ष अर्जुन कौशलको अध्यक्षता, सचिव अजय विकको सञ्चालनमा कार्यक्रम भएको थियो 

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update