Shittalpati
पाल्पामा म्यादी प्रहरीमा भर्ना हुनेको भिड, युवाहरु भन्छन् ‘रहर होइन बाध्यता’

रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनका लागि युवाहरुको भीड बढेको छ । बैशाख ३० गते हुने आसन्न स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि देशभर नै म्यादी प्रहरी भर्ना खुलाइएको छ । भर्नाका लागि गाउँ–गाउँबाट आएका युवाहरु विहानैदेखि जिल्ला प्रहरी कार्यालय अगाडि लाइन बसेका छन् । भर्ना हुनका लागि पुरुषसँगै महिलाको सहभागिता पनि उल्लेखनीय देखिएको छ ।

जिल्लामा १० स्थानीय तह छन् । त्यहाँ खटाउन १ हजार २१ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भर्ना हुन आएका अधिकांश युवाहरुले बेरोजगारकै कारण आउनु परेको बाध्यता सुनाएका छन् । रोजगारका लागि विदेश गएर आएका युवाहरुको पनि संख्या धेरै छ । देशमै रोजगार पाए विदेश गएर पसिना बगाउने रहर नभएको उनीहरुको भनाई छ । प्रहरी कार्यालयको गेट अगाडि हातमा कागजपत्र समातेर टन्टालापुरे घाममा लाईनमा उभिएका पाल्पा तिनाउ गाउँपालिका कचलका मिनबहादुर बगाले म्यादी प्रहरीका लागि आवेदन दिन आएका हुन् । टन्टालापुरे घाममा भिडभाडको समेत प्रवाह नगरी बगालेले म्यादी प्रहरीका लागि आइतबार निवेदन दिए । उनी भन्छन् ‘मेरो यो रहर होइन बाध्यता हो । केही दिन भएपनि काम त पाइन्छ भनेर आएको हुँ ।’ कतारमा ३ वर्ष काम गरेर स्वदेश आएका माथागढी गाउँपालिकाका दीपक पुनले बेरोजगारकै कारण भर्ना हुन आएको सुनाए । ‘कोभिडका कारण लामो समय घरमै बस्नुप¥यो, घरमा थोरै जग्गा छ । कृषि गरेर पनि खान पुग्दैन, म्यादीबाट आउने रकमले आफुलाई खर्च गर्न त हुुन्छ’ एनजेडीको जिज्ञासामा पुनले आफ्नो दुखेको पोखे । गुल्मीबाट म्यादी प्रहरीका लागि निवेदन दिन आएका सन्तु थापाले पनि बेरोजगारकै कारण आउनु परेको बाध्यता सुनाए । घरमा बेरोजगार बस्नुभन्दा केही दिनको म्यादी प्रहरीको रकमले घर खर्चमा सहयोग पुग्ने आसले भर्ना हुन आएको उनले बताए । म्यादी प्रहरीका लागि महिलाहरुको पनि बाक्लो सहभागिता छ ।

भर्ना हुन आएका अधिकांश युवा युवतीहरुले बेरोजगारकै कारण आउनु परेको बाध्यता सुनाए । रोजगारका लागि विदेश गएर आएका युवाहरुको पनि संख्या धेरै छ । ११ गतेसम्म आवेदन दिन पाइने छ । भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । भर्नामा देश तथा छिमेकी राष्ट्रका अवकाश प्राप्त पूर्वसुरक्षाकर्मी, वन रक्षक र विगतका निर्वाचनमा म्यादी प्रहरी रहेकालाई प्राथमिकतामा राखिएको छ । १५ गतेदेखि भर्ना छनौट हुनेछ ।

छनौटपछि आधारभूत तालिम दिइ निर्वाचनमा खटाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए । उनका अनुसार पहिलो दिन ३ सय ७४ जनाले आवेदन दिएका छन् । ४० दिन निर्वाचनको काममा खटाइने म्यादी प्रहरीलाई ४३ हजार ४ सय ४० रुपैयाँ दिइने छ । जसमा तलब बापत ३० हजार २ सय ४०, खाद्यान्न बापत ७ हजार २ सय र पोशाक तथा अन्य सामान खरिदका लागि ६ हजार तोकिएको छ । त्यसबाहेक आउने जाने तयारी बापत १ हजार उपलब्ध गराइने छ । २०७४ को निर्वाचन अनुसार जिल्लामा २ सय ४८ वटा मतदान केन्द्र रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत ८, २०७८  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update