Shittalpati
समाचार प्रभाव : अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइयो

पाल्पा, जिल्लाको तानसेन बतासेडाँडामा अतिक्रमण गरी बनाइएका टहरा र किला भत्काइएको छ । सोमबार नवजनचेतना राष्ट्रिय दैनिक र शितलपाटी डटकममा तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण भन्ने शिर्षकमा समाचार प्रकाशित भए पछि डिभिजन वन कार्यालय पाल्पा र जिल्ला प्रहरी कार्यालयको टोलीले अतिक्रमण गरी बनाइएका टहरा भत्काएको हो । डिभिजन वन कार्यालयका निमित्त प्रमुख संयोग बस्नेतको नेतृत्वमा गएको टोलीले बतासेडाँडास्थित ढुङ्गाखानी क्षेत्रको तानसेन–तम्घास सडकमा वन क्षेत्रको जग्गा अतिक्रमण गरी निर्माण गरिएका टहरा भत्काएको छ । त्यहाँ निर्माण गरेका ७ वटा टहरा प्रहरीको सहयोगमा वन कार्यालयले भत्काएको हो । टहरा बनाएर व्यक्तिहरुले पसल गरेका थिए । केही टहरामा मानिस बस्दै आइएकाले सूचना टाँस गरिएको छ । मानिसहरु नभएका टहराहरु भने भत्काइएको वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए । उनका अनुसार मानिस बसेका टहरामा २४ घण्टाको समय दिइएको र सो समयमा पनि नभत्काएमा वन कार्यालयले नै भत्काइदिने छ ।

टहरा भत्काइदिएपछि स्थानीयहरु आक्रोसित बनेका छन् । उनीहरुले विना सूचना आएर धमाधम टहरा भत्काइदिएर आफुहरुलाई वन कार्यालय र प्रहरी प्रशासनले दुख दिएको बताएका छन् । वन कार्यालयका निमित्त प्रमुख संयोग बस्नेतले भने आफुहरुले फौजदारी व्यवस्था अनुसार नै टहरा भत्काइएको बताए । उनले भने ‘वन क्षेत्रको जग्गा अतिक्रमण गरी टहरा बनाइएकाले भत्काएको हो, टहर बनाएर मानिस नबसेकाले विना सूचना भत्काइएको हो भने टहरामा मानिसहरु बसेकाले सूचना टाँस गरिएको छ ।’ यदि सूचना टाँस गरेको २४ घण्टासम्म पनि नभत्काएमा वन कार्यालय आफैले भत्काइदिने प्रमुख बस्नेतले बताए । त्यस्तै प्रहरीले त्रिभुवन बहुमुखी क्याम्पसको जग्गामा अतिक्रमण गरी गाडिएको किला भत्काइदिएको छ ।

तानसेन नगरपालिकाले पनि पटक पटक अतिक्रमण गरिएका टहराहरु भत्काउन भने पनि अटेर गरिएको थियो । स्थानीयले नगर पालिकाले स्वीकृत दिएर टहरा बनाएको बताउँदै आएका छन् । तर नगर प्रमुख अशोक कुमार शाहीले भने वनको जग्गामा आफुहरुले कुनै पनि स्वीकृत नदिएको बताए । उनले भने‘ वनको क्षेत्रमा अतिक्रमण गरी टहरा बनाइएकाले हामीले पटक पटक उहाँहरुलाई हटाउन अनुरोध गर्दा पनि अटेर गरिएको हो, हामीले वनको जग्गा कसैलाई स्वीकृत दिएको भन्ने कुरा गलत हो’ एनजेडीसँगको जिज्ञासामा नगर प्रमुख शाहीले भने । उनले भने‘ सार्वजनिक जग्गा अतिक्रमण गर्नु गैरकानुनी हो, यस्ता गतिविधिहरुलाई निस्तेज पारिनुपर्छ ।’

बतासेडाँडामा क्याम्पसको २ सय रोपनी र सार्वजनिक जग्गा १ सय रोपनी गरी ३ सय रोपनी जग्गा अतिक्रमण गरी २०/२० हातको मोहोडाको हिसावले घडेरी बाँडिएको पाइएको छ । अतिक्रमणकारीले दिउँसो, राती र साँझको समयमा गरी करीब २ हजार ५ सय घडेरीमा किला गाडी अतिक्रमण गरेको थियो । तानसेन नगरपालिका–५ को बतासेडाँडादेखी ढुङ्गाखानी क्षेत्रको तानसेन–तम्घास सडकको दायाँ बायाँ तर्फको भू–भाग रातारात अतिक्रमणभएको पाइएको छ । बतासेडाँडा क्षेत्रमा पञ्चातकालदेखी नै रसिदको भरमा बस्ती विकास हुँदै आएको छ । अहिले पनि सो क्षेत्रमा दिनहुँ व्यवसायिक रुपमा आवास तथा भवन निर्माण भईरहेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update