Shittalpati
तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण !

कृष्ण पोखरेल
पाल्पा, जिल्लाको सदरमुकाम तानसेनमा सयौं रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको छ । स्थानीयतह निर्वाचनको मिति नजिकिदै जाँदा यहाँको ३ सय रोपनी जग्गा रातारात अतिक्रमण गरेको पाइएको हो ।

पछिल्लो दुई दिनको अवधिमा त्रिभुवन बहुमुखी क्याम्पसको २ सय रोपनी र सार्वजनिक जग्गा १ सय रोपनी गरी ३ सय रोपनी जग्गा अतिक्रमण गरी २०/२० हातको मोहोडाको हिसावले घडेरी बाँडिएको पाइएको छ । अतिक्रमणकारीले दिउँसो, राती र साँझको समयमा गरी करीब २ हजार ५ सय घडेरीमा किला गाडी अतिक्रमण गरेका छन् । तानसेन नगरपालिका–५ को बतासेडाँडादेखी ढुङ्गाखानी क्षेत्रको तानसेन–तम्घास सडकको दायाँ बायाँ तर्फको भू–भाग रातारात अतिक्रमण भएको हो । अतिक्रमित दुई सय रोपनी जग्गा त्रिभुवन बहुमुखी क्याम्पसको विज्ञान भवनको क्षेत्रमा र सय रोपनी सोही आसपासको जग्गा रहेको छ । क्याम्पसको बतासेडाँडादेखी पाल्पा विद्युत प्राधिकरणको वितरण शाखा स्टेसनसम्म दुई सय रोपनी जग्गा रहेको छ । बतासेडाँडा क्षेत्रमा पञ्चातकालदेखी नै रसिदको भरमा बस्ती विकास हुँदै आएको छ । अहिले पनि सो क्षेत्रमा दिनहुँ व्यवसायिक रुपमा आवास तथा भवन निर्माण भईरहेका छन् ।

दिन दहाडै क्याम्पसको जग्गामा खुलेआम घडेरीको लागि किल्ला गाडी जग्गा छुट्याएपछी त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक, विद्यार्थीहरु आक्रोसित भएका छन् । तत्काल क्याम्पसको जग्गामा अतिक्रमण जग्गा बचाउन सबै पक्ष सक्रिय हुन क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले आग्रह गरेका छन् । क्याम्पसको जग्गामा हालसम्म कुनै पक्षबाट अतिक्रमण भएको थिएन । क्याम्पसले अतिक्रमण गरेको क्षेत्रमा गुरुयोजना बनाएर विभिन्न संकायका लागि आधुनिक भवन निर्माण गर्ने, बोटानिकल गार्डेन बनाउने, विद्यार्थीका लागि छात्रावास बनाउने गरी योजना अगाडि सारेको थियो । शिक्षाको ज्योति फैलाउने क्याम्पसको जग्गामा योजनाा बद्ध, षडयन्त्रपूर्वक घडेरी वितरणको काम भईरहेकाले सहायक क्याम्पस प्रमुख कृष्ण बहादुर कार्कीले बताए । उनले भने ‘क्याम्पसको जग्गा अतिक्रमणप्रति हामी अति दुःखी भएका छौं, राज्य प्रशासनलाई चुनौति दिने काम भएको छ, यो अतिक्रमणलाई रोकिएन भने क्याम्पसको दुई सय रोपनी जग्गा सुकुम्वासीको नाममा कव्जा हुने चिन्ता बढेको छ ।’ निर्वाचनको मुखैमा सुकुम्वासी समस्या समाधान आयोगको जिल्लामा सक्रियतांसँगै सदमुकाम भित्रै राजमार्ग क्षेत्र, क्याम्पस तथा सार्वजनिक जग्गा अतिक्रमणले विभिन्न राजनीतिक दलले एक अर्कामा शंकाको दृष्टि बनाएका छन् ।

राजनीतिक दलका नेताहरुले विभिन्न आश्वासन दिएर क्याम्पस तथा सार्वजनिक जग्गामा घडेरीको खेलो गरेका हुन सक्ने भन्दै सचेत हुन नागरिकहरुले आग्रह गरेका छन् । प्रहरी प्रशासन र नगरपालिकामा जग्गा अतिक्रमणको जानकारी गराएसकेको त्रिभुवन बहुमुखी क्याम्पसका स्ववियु सभापती हरिवोल भट्टराईले बताए । यदि क्याम्पसको जग्गामा गाडिएका किला नहटाइए ३ हजार विद्यार्थी लिएर आन्दोलनमा उत्रिने उनले चेतावनी दिए । निर्वाचनको मुखमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने, बन फडानी गर्ने, गिट्टी बालुवा तस्करी गर्ने पाल्पामा बढ्दै गएको छ । यसतर्फ जिल्लामा रहेका राज्यका सुरक्षा निकाय, प्रहरी प्रशासन तथा नागरिक समाजले खवरदारी गर्न जरुरी देखिन्छ ।

 

प्रकाशित मिति: सोमबार, चैत ७, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update