Shittalpati
तानसेनमा रायमाझी कूलदेवता समितिले मनायो १८ औं साधारण सभा

पाल्पा, रायमाझी कूलदेवता तानसेन नगर समितिले १८ औं साधारण सभा मनाएको छ । समितिले शनिबार तानसेनमा एक समारोहका बिच साधारण सभा मनाएको हो ।

सभाको पूर्व सांसद तथा कूल देवता समितिका केन्द्रीय सल्लाहकार यादवबहादुुर रायमाझी उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै रायमाझीले तानसेन नगर समितिले जेष्ठ नागरिक , विद्यार्थीहरुलाई प्रोत्साहन र विपद्मा परेका बन्धुहरुलाई उद्दारसँगै राहत उपलब्ध गराएर प्रशंसनिय कार्य गर्दै आएको बताए । उनले मुलुकमा विभिन्न जातजाती, भेषभूषा र धर्म मान्ने व्यक्तिहरु रहेकाले सबै एक ढिक्का भएर अगाडि बढे मात्रा समाज र देश बन्ने भएकाले रायमाझी बन्धुहरु पनि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । रायमाझीले भने ‘समाज र देशमा एकताको सन्देश प्रवाहका लागि रायमाझी बन्धुहरु एक ढिक्का हुनुहोस् ।’ समितिका सल्लाहकार समेत रहेका रायमाझीले सबै नेपालीहरु एउटै भएकाले घर परिवार समाजबाटै एकताको सन्देश दिन पहिला बन्धुहरु एक भएर जानु आवश्यक रहेको औल्याए । रिडीमा रायमाझी बन्धु बहादुर कर्णेलले निर्माण गरेको मन्दिर र पौवा भएकाले त्यसको संरक्षण र जर्गेना गर्ने दिशामा सोच्न समेत रायमाझीले समितिलाई आग्रह गरे । समितिका सभापति देवेन्द्र बहादुर रायमाझीले बन्धुत्वको भावना उजागर गरी अन्य समुदाय र वर्गलाई पनि एक शुत्रमा बाध्न रायमाझी बन्धुहरु उदाहरणीय र अनुकरणीय रहेको बताए । उनले रायमाझी बन्धुहरुमा परेको समस्यालाई समाधान गर्न समिति सधैव तयार रहेको धारणा व्यक्त गरे । सभापति रायमाझीले रायमाझी बन्धुहरु देशका उच्च ओहदामा रहेर नेतृत्व समालिरहेको बताउँदै रायमाझी बन्धुहरुका लागि अत्यन्त गौरवको कुरा रहेको बताए ।

कार्यक्रममा समितिका सह–सचिव मुना रायमाझी, सदस्यहरु नारायण रायमाझी, जीवनबहादुर रायमाझी, इन्द्रा बहादुर रायमाझी, गोविन्द रायमाझी लगायतले समितिलाई अझ मजबुद र सक्रिय बनाएर लैजानुपर्नेमा जोड दिए । कार्यक्रममा समितिका सचिव खिमबहादुर रायमाझीले २ लाख ५४ हजार १ सय ५९ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोही अवसरमा समितिले विगतमा जस्तै यस वर्ष पनि विद्यार्थी र जेष्ठ नागरिकलाई सम्मान गरेको छ । समितिले जेष्ठ नागरिक माथागढी गाउँपालिका ४ झडेवाकी ७७ वर्षीया धन कुमारी रायमाझी र एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी कादम्बरी रायमाझीलाई सम्मान गरेको हो । समितिका सभापति देवेन्द्रबहादुर रायमाझीको सभापतित्व, सचिव खिमबहादुर रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update