Shittalpati
पाल्पाको रैनादेवी छहरामा आगोले जलेर एक पुरुषको ज्यान गयो

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको ज्यान गएको छ । मंगलबार राती घरको कोठामा एक्कासी आगलागी हुँदा ढुकुरखोलाका ५९ वर्षीय हरिबहादुर कुमालको ज्यान गएको हो ।

कुमालको टिनले छाएको ३ तले घरको दोस्रो तलाको बैठक कोठामा अकास्मात आगलागी भएको थियो । आगलागी हुँदा कोठामा सुतिरहेका उनको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको श्रीमती, छोरा र छोरीहरु अर्को गोठसहितको (नाले) घरमा सुतेको र २ छोराहरु बुटवल बस्दै आएकाले सुरक्षित रहेको जनाइएको छ । घटना थाहा पाएलगत्तै उनका छिमेकीले राती आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट कोठमा रहेका लत्ता, कपडा र कागजपत्र जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचाभैयाले जानकारी दिए । आगो के कति कारणले लागेको भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

केही दिन अघि मात्र जिल्लाको माथागढी गाउँपालिका ३ मा ६२ वर्षीया सुमित्रा कुमालको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update