Shittalpati
रिब्दीकोटबाट अवैध ढुङ्गा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकामा अवैध ढुङ्गा निकासी गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिका –५, कुसुमखोला डुम्रे सडक खण्डको पश्चिमतर्फ रहेको नै टोला खोलाबाट लु २ त ५१७४ नम्वरको ट्याक्टरलाई ढुङ्गा निकालिरहेकै अवस्थामा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो ।

मापदण्डविपरीत अबैधानिक रुपमा ढुङ्गा निकालिरहेको अवस्थामा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरी गोस्ती टोलीले ट्याक्टर फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्याक्टर नियन्त्रणमा लिई प्रहरीले आवश्यक कारवाहीका लागि रिब्दीकोट गाउँपालिकालाई बुझाएको छ ।

पछिल्लो समय जिल्लाका विभिन्न ठाउँबाट अवैध ढुङ्गा, बालुवा निकासी गर्ने सवारी साधन प्रहरी फन्दामा पर्ने गरेका छन् । केही दिन अघि मात्र रामपुरमाअ वैध बालुवा निकासी गर्ने ६ वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

मापदण्डविपरीत अबैधानिक रुपमा बालुवा निकालिरहेको अवस्थामा प्रहरी चौकी केलादीको गोस्ती टोलीले पटक–पटक गरी ६ वटा ट्याक्टर फेला पारेको थियो । ट्याक्टर नियन्त्रणमा लिई प्रहरीले आवश्यक कारवाहीका लागि रामपुर नगरपालिकालाई बुझाएको थियो । यस क्षेत्रबाट पटक–पटक अबैध रूपमा बालुवा, ढुंगा तथा गिट्टी चोरी निकासी हुँदै आएको छ ।

अवैध नदी उत्खननमा रोक लगाइए पनि जिल्लाका अधिकांश ट्याक्टर व्यावसायीहरुले विहान बेलुकाको समय पारेर चोरी निकासी गर्दै आएका छन् । जिल्लाको रामपुर, निस्दी, तिनाउ लगायतका स्थानीय तहका खोलाहरुबाट अवैध रुपमा गिट्टी–बालुवा चोरी निकासी हुँदै आएको छ । तर सम्बन्धित निकायबाट यसको निगरानी हुन नसक्दा चोरी निकासी रोकिन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update