Shittalpati
गुराँसै फूल्यो वनैमा...

रामचन्द्र रायमाझी
पाल्पा, तानसेनको श्रीनगर डाँडा र गुल्मीको रेसुङ्गाडाँडा पुग्दा हरकोही त्यहाँ टक्क अडिन्छन्, वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । जसका कारण त्यहाँ पुग्ने जो कोहीका आँखा टक्क अडिने गर्छन् ।

कहिल्यै पनि वन जंगलमा नपुगेका युवायुवतीको लर्को अहिले जंगली क्षेत्रमा देख्न सकिन्छ । युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख छन् । पाल्पा र गूल्मीका ग्रामीण क्षेत्रका जंगलमा यस वर्ष विगतका वर्षभन्दा राम्रोसँग लालीगुराँस फुलेको छ । राताम्यै फुलेका लालीगुराँसको लालिमाले हरियो वनजंगलमा थप सुन्दरता प्रदान गरेको छ । त्यही सुन्दरतामा रमाउन र तस्वीर खिच्न युवकयुवती लालीगुराँस फुलेका जगंली क्षेत्रमा पुग्ने गरेका छन् । तानसेनको श्रीनगर डाँडा र गुल्मीको रेसुङ्गा डाँडामा मात्र होइन पाल्पा माथागढीको देवगीर, निस्दीको ज्यामिरे, मित्याल, झिरवास, रिब्दीकोटको बतासे, रैनादवी डाँडा, गुल्मी मुसिकोटको थुमा, लगायतका डाँडाहरु यतिबेला रातम्य भएका छन् । माघ दोस्रो सातादेखिको हिमपात र त्यसलगत्तै वनजगंल नै ढाकिने गरी फुलेको लालीगुराँसमा रमाउन यस वर्ष सयौँ युवकयुवती रेसुङ्गाको डाँडामा पुग्ने गरेको तम्घासकी इन्द्रा भट्टराई बताउँछिन् । लालीगुराँससँगै रमाउने र तस्वीर खिचाउनेमा युवा पुस्ता मात्रै होइन जनप्रतिनिधिदेखि लिएर राजनीतिक दलका नेताहरु पनि रहेका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन गाउँ गएका बेला लालीगुराँस फुलेको ठाउँमा गाडी रोकेर तस्वीर खिचाउनमा राजनीतिक दल र जनप्रतिनिधिहरु पनि व्यस्त देखिन्छन् । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जंगल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटकहरु डाँडामा पुग्ने गरेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । ालीगुराँस फुलेपछि फागुन र चैतमा वनजंगल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ ।

पाल्पाको श्रीनगरमा डाँडैभरी राताम्य फूलेका गुराँससँग रमाउन र फोटो खिचाउनेहरुको दैनिक भिड लाग्ने गरेको छ । उता गुल्मीको रेसुङ्गा डाँडामा पनि अहिले आन्तरिक पर्यटकहरुको घुँइचो देख्न सकिन्छ । रेसुङ्गा क्षेत्रमा फागुन, चैत, बैशाख महिनासम्म गुराँस फूल्ने गर्दछ । धार्मिक तथा पर्यटकीय महत्वसँग जोडिएको रेसुङ्गामा लालीगुराँसका कारण पनि निकै प्रख्यात मानिन्छ । रेसुङ्गा क्षेत्रमा धार्मिकसँगै लाली गुराँसले पनि निकै रमाईलो बनाउने गरेको त्यहाँ पुग्ने पर्यटकहरुको भनाई छ ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update