Shittalpati
बगनासकालीको खानीछाप वडा कार्यालयले आफ्नै भवनबाट सेवा दिन थाल्यो

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –४ खानीछाप वडा कार्यालयको आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएको छ । विद्यालयको साँघुरो कोठाबाट सञ्चालन भएको वडा कार्यालयको अहिले आफ्नै भवन निर्माण भएको हो ।

सुविधा सम्पन्न नवनिर्मित वडा कार्यालय भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै अध्यक्ष बस्यालले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउँदै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । बगनासकालीमा आफुहरु निर्वाचित भएपछी गाउँपालिकाले विकासमा फड्को मारेको अध्यक्ष बस्यालले बताए । उनले गाउँपालिकामा जनतालाई छिटो र छरितो सेवा दिनमा आफ्नो नेतृत्वले कुनै कसुर बाँकी नराखेको धारणा व्यक्त गरे । ‘जनप्रतिनिधि भनेका जनताका सेवक हुन्’ उनले भने, बगनासकाली गाउँपालिकाका जनप्रतिनिधि जनताकेन्द्रित भई समर्पित भावले काम गर्दै आइरहेका छन् । जनताको आवश्यकतामा साथ दिन जनप्रतिनिधि हरदम तयार छन् ।’ गाउँपालिकाले उपभोक्ता समितिमार्फत विकास निर्माणका कार्य अगाडि बढाउनुको मुख्य उद्देश्य आर्थिक पारदर्शिता, स्थानीय जनताको अपनत्व र बलियो निर्माणका लागि भएको बताउँदै अध्यक्ष बस्यालले गाउँपालिकाबासी जनताको एकता र मेहेनतले आजको सुन्दर बगनासकालीको परिचय स्थापित भएको बताए ।

गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने भन्दै नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले अब सहज रुपमा सेवा प्राप्त गर्ने बताईन् । गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले साँघुरो भवनबाट सेवा प्रवाह गरिरहनु परेकोले सेवाप्रवाह समेत चुस्त हुन नसकेको अवस्थामा भवन निर्माण भएसँगै कर्मचारी र सेवाग्राहीलाई सहज हुनेमा विश्वास व्यक्त गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बगनासकालिमा प्रशासनिक सेवामा सुधार आएको बताउदै सबै वडाहरुलाई स्तरीय भवन र सुविधा सम्पन्न प्रविधिको प्रयोग गरी सेवालाई जनमैत्री बनाएको बताए ।

वडा अध्यक्ष हुतमान सिं दर्लामीले वडाका सबै नागरिकलाई पायक पर्ने ठाउँमै वडाको नयाँ भवन निर्माण गरेको बताउँदै भवन निर्माणमा उपभोक्ता समिति र वडाबासीको सहयोग तथा समन्वयका कारण समयमै निर्माण सम्पन्न भएको बताए । उनले आफू निर्वाचित भएपछि वडामा मोटरबाटो, स्वास्थ्यचौकी भवन, वडा भवन तथा झोलुङे पुल समेत निर्माण गरेको जानकारी गराए । नवनिर्मित वडा कार्यालय भवन ३५ लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष हिरा बहादुर गाहाले बताए । कार्यक्रममा युवा क्लवका अध्यक्ष मानबहादुर बाकवल, राम प्रावि व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर अमात्य ,शिक्षकहरु निलकण्ठ न्यौपाने, सूर्यप्रसाद अर्याल, डोलराज बस्याल लगायतले आ–आफ्ना धारणा राखेका थिए । सोही अवसरमा वडालाई पूर्ण सरसफाई वडा समेत घोषणा गरिएको छ । कार्यक्रममा पूर्ण सरसफाई समितिका सचिव गोपी अधिकारीले पूर्ण सरसफाई वडा घोषणाको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम वडा अध्यक्ष हुतमान सिंह दर्लामीको अध्यक्षा,धर्मराज अधिकारीको स्वागत र वडा सचिव माधव भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शनिबार, फागुन २८, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update