Shittalpati
क्यान्सरको समयमै उपचार गरौं

विश्वमा मानिसहरुको मृत्यु हुने प्रमख कारणहरु मध्ये क्यान्सर पनि एक हो । एक सयभन्दा धेरै किसिमका क्यान्सरहरु छन्, जस कारण संसारका धेरै मानिसहरु यसको चपेटामा पर्ने गरेका छन् । क्यान्सरलाई प्राणघातक रोगको रुपमा समेत परिभाषित गरिन्छ । क्यान्सरलाई सुरुवाती अवस्थामा नै थाहा पाउन सकियो भने यो रोगको उपचार सम्भव छ । क्यान्सर हुनुको मुख्य कारणमा अस्वस्थ्य जीवनशैली, दूषित पर्यावरणलाई मानिएको छ भने प्रमुख कारण हाम्रो खानपान नै रहेको छ । प्रायःजसो हाम्रो खानपानकै कारण क्यान्सर लाग्ने गरेको देखिएको छ ।

हामी जे खान्छौं, पिउँछौं, त्यसको सोझो प्रभाव हाम्रो स्वास्थ्यमा पर्छ । त्यसैले खानामा ध्यान दिन अत्यन्तै जरुरी छ । क्यान्सरमा पनि फोक्सोको क्यान्सर, प्रोस्टेट क्यान्स, आन्द्राको क्यान्सर, पेटको क्यान्सर, कलेजोेको क्यान्सर पुरुषमा धेरै देखिएको छ भने महिलामा स्तन क्यान्सर, आन्द्राको क्यान्सर, फोक्सो, पाठेघरको मुखको क्यान्सर र थाइराइडको क्यान्सर प्रमुख रूपमा देखिएको छ । पछिल्लो समय विश्वव्यापी रूपमा क्यान्सरको प्रकोप अत्यन्त दु्रत गतिमा बढेको छ । यसले व्यक्ति, परिवार र समाजमा अत्यन्त ठूलो भौतिक, मानसिक एवं आर्थिक दवाबको सिर्जना गरेको छ । नेपालमा पछिल्लो समय क्यान्सर एक भयावह जनस्वास्थ्य समस्याको विषय बनेको छ । आहारविहार, शारीरिक व्यायाम, मद्यपान र धूम्रपानको प्रयोगले पनि क्यान्सर रोगको संख्या बढाइरहेको छ । क्यान्सर यसरी भयावह रूपमा फैलनुमा जनमानसमा स्वास्थ्यसम्बन्धी जानकारीको कमी, स्क्रिनिङका कार्यक्रम नहुनु वा भए पनि ढिलो हुनु, सामाजिक आर्थिक रूपमा स्वास्थ्य सेवा पहुँचबाहिर हुनु, स्वास्थ्य सेवा प्रवाह सामञ्जस्यविहीन हुनुजस्ता कारणले भूमिका खेलेका छन् । जसका कारण नेपालमा क्यान्सर उपचारको नतिजा कमजोर देखिन्छ । समयमा नै उपचार गर्न सके क्यान्सर रोग निको हुने विज्ञहरु बताउँछन् । खानपान, आनीबानीमा परिवर्तन गरेर क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ । यदि लागि हाले पनि समयमै रोगको पहिचान गरी उपचार गर्न सके यो रोग निको हुन्छ । यसर्थ, क्यान्सरको समयमै उपचारका लागि बृहत् एवं दीर्घकालीन योजना बनाउन जरुरी छ ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update