Shittalpati
सिमसार संरक्षणमा ध्यान देऊ

विश्वमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष सिमसार दिवस मनाइने गरिन्छ । आज पनि हरेक वर्ष जस्तै विविध कार्यक्रम गरी मनाइँदै छ । सामान्यतया सिमसार भनेको पानीले भिजेको क्षेत्र हो । नेपाल राष्ट्रिय सिमसार नीति, २०५९ अनुसार सिमसार भनेको पानी जमेको वा बगेको, स्थायी वा अस्थायी, प्राकृतिक वा कृत्रिम रुपमा बनेको दलदल क्षेत्र हो । यसर्थ सिमसार रसिलो भूमि हो, जहाँ जमिन लुक्दैन र पानी सुक्दैन । सिमसारका दुई मुख्य विशेषता पानी र जमिनसँगै हुनु हो ।

यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्दछ । जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिक स्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्छ । सिमसार संरक्षण तथा पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकन लगायतका प्राकृतिक सौन्दर्यको अनुभव सिमसारले नै गराउँछ । तर त्यही सिमसार आजभोलि संरक्षणको अभावमा लोप हुन थालेको छ । तालहरुको अवस्था झनै दयानीय छ । सिमसार क्षेत्र सरकारको प्राथमिकतामा नपर्दा तिव्र गतिमा मानवीय अतिक्रमणमा परेको छ  । ताल वा नदीका किनारमा मानवीय अतिक्रमण गरी आवास तथा होटेलजस्ता संरचना निर्माण गरिएका छन् । त्यस्तै, अधिकांस तालहरुको जलधार क्षेत्रमा मनसुन ताका जाने बाढी र पहिरोका कारण ढुंगा, गिट्टी, बालुवाजस्ता ठोस पदार्थ थुप्रिने क्रम जारी छ । मापदण्ड विपरितका सडक खन्ने डोजर आतंकले अकल्पनीय रुप लिन थालेको छ । जसका कारण वर्षा याममा बाढी र पहिरोलगायत भूक्षयले विद्यमान नदी नालाहरु धमिलिदै जलीय वातावरण बिग्रिनुका साथै दैनिक रुपमा बगाएर ल्याउने लेदो तथा गेग्रान थिग्रिदै जाने प्रक्रियाले सिमसार खासगरी ताल क्षेत्रहरु तिव्र गतिमा पुरिदै गएका छन् । यो आफैमा दुखद् रहेको छ । सिमसार क्षेत्रहरुमा सबैभन्दा बढी जल सोचन हुने भएकाले बाढी लगायतका प्रकोप न्यूनीकरणमा समेत उल्लेख्य भूमिका निर्वाह गरिरहेका हुन्छन् । भविष्यको स्वच्छ तथा सन्तुलित पर्यावरणको लागि पनि सिमसारको संरक्षण आज प्राथमिकताको विषय बनेको छ । तसर्थ मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण संकलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update