Shittalpati
आज माघे संक्रान्ति पर्व मनाइँदै

पाल्पा, प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे (मकर) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भिड लाग्छ । तर कोरोना संक्रमण कायमै रहेकाले अधिकांस ठाउँमा मेला नहुने जनाइएको छ ।

थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् भने पाल्पामा बसोबास गर्दै आएका मगर समुदायले पनि आफ्नो महान चाड माघे संक्रान्ति धुमधामका साथ मनाउँदै छन् । माघे संक्रान्तिको अवसरमा सरकारले सार्वजनिक विदा समेत दिएको छ । हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलाई भिन्नभिन्न तरिकाले मनाउँछन् । आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोसिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ । माघ १ का दिन तिलौराको रुपमा तिल दान गर्ने चलन छ, जुन सुन दान गरिएसरह हुने धर्मशास्त्रमा उल्लेख छ । धर्मसिन्धुमा भनिएको छ ‘माघे संक्रान्तिमा जसले तिल, घिउ, चाकु, तरुल आदि खाँदैन, जलाशयमा स्नानसमेत गर्दैन, तीर्थध्यान गर्दैन, त्यो व्यक्ति जन्मभर रोगी हुन्छ ।’

आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । लड्डु तथा घिउ÷चाकु संक्रान्ति पनि भनिने यस पर्वलाई नेवारी भाषामा ‘घ्यो/चाकु सँल्ह’ भनिन्छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे संक्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । माघे संक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पुजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनु बाँण खेल्दै माघे संक्रान्तिको रौनकता शुरू गर्छन् । विगतमा माघे संक्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लगातार लाग्दै आउने गरे पनि यसवर्ष कोभिडका कारण मेला नहुने भएको छ । मेला नभए पनि स्नान गर्नेहरु भने रिडी पुग्ने जनाइएको छ । कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पूण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त रिडी नदीमा पुग्ने गर्दछन् ।

प्रकाशित मिति: शनिबार, माघ १, २०७८  १०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update