Shittalpati
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको संक्षिप्त परिचय, सन्दर्भ : संस्थापकको १४३ औं जन्मजयन्ति

लायन बुद्धिप्रसाद शर्मा
पूर्व अध्यक्ष तथा संस्थापक सचिव
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्म संयूक्त राज्य अमेरिकाको फोर्ट थोमस अरिजोनामा जनवरी १३, १८७९ मा भएको थियो । उनी अमेरिकी फौजी क्याप्टेन कल्विन जोन्सका छोरा थिए । उनको शिक्षा निजी शिक्षाबाट हाइस्कूल मिजोरीको स्कूल र उच्च शिक्षा मिजोरीकै युनियन बिजिनेस कलेज र चड्डोक कलेजबाट भएको हो । पिता जोन कल्विन थोमसबाट सरुवा भए अनि पुरै परिवार पूर्व तिर लागे । एउटा लक्का होनहार जवान मेल्भिन जोन्सले इलिनाइसको सिकागोमा घरजाम गरे । २१ वर्षको उमेरमा त्यहाँ उनी बीमा कम्पनिको फर्म जोन्स एण्ड हिगिन्स सेन्ट सरिन्समा संलग्न भए । त्यस संस्थामा काम गर्दाको अनुभव र आफैले केही गर्न सक्नुपर्छ भन्ने उद्देश्यका साथै सन् १९१३ मा आफ्नै फर्म मेल्भिन जोन्स इन्स्योरेन्स कम्पनी स्थापना गरे र सञ्चालन गर्न शुरु गरे । उनले १९१४ देखि नै सामाजिक संस्थाहरुमा संलग्न हुँदै सबै संस्थाहरुमा एकता भएमा धेरै ठूला सेवाका कार्यहरु गर्न सकिन्छ भन्ने दृढ इच्छा शक्तिका साथ एकताका लागि आÞवान गरे । सिकागोका व्यापारीहरुको वृत (Business Circle) मा आवद्ध भए । त्यसै समय मै सचिवमा छानिए । त्यस पछि त वृत्तमा आवद्ध व्यापारी सदस्यहरुको आर्थिक निकासका लागि कटिवद्ध भएर लागे र संस्थाकै पनि राम्रो स्थान बनाउन सफल भए । उद्देश्य अनुसार मेल्भिन जोनलाई सफलता मिल्यो । तर आर्थिक पक्षमा मात्र काम गर्ने संस्था भएकोले सामाजिक र मानवीय सेवाका क्षेत्रका आवश्यकताहरुमा संलग्न भएर काम गर्न सकेन । केही समयमै सो संस्था लोप भयो । तर पनि सिकागोमा व्यापारी नेताको रुपमा स्थापित भइसकेका ३८ वर्षका मेल्भिन जोन्स खाली बसेनन् । उनका धेरै योजनाहरु थिए । यस अनुसार उनले ती व्यापारीहरु जसले ज्ञान, बुद्धि, सीप र महत्वकांक्षाका कारणले आर्थिक सफलता प्राप्त गरेका थिए उनीहरुलाई मेल्भिन जोन्सले अनुरोध गर्दै भने– “व्यापारी मित्रहरु, तपाईहरुसँग भएको अपार क्षमतालाई समुदायको आवश्यकता पहिचान गर्दै सुधारका लागि उपयोग गर्न सकेमा कस्तो हुन्थ्यो होला ?”

यस्तै प्रश्नहरुको माध्यमबाट अनुरोध सहित आमन्त्रण गरिएको पाए पछि विभिन्न क्लवहरुका (Mens Clubs) प्रतिनिधिहरु सिकागोमा भेला भए । जुन ७, १९१७ का दिन मेल्भिन जोन्सको योजना अनुसार सिकागो सहरकै ला सेली होटलमा प्रतिनिधिको राष्ट्रिय भेला गराएर लायन्स क्लब अन्तर्राष्ट्रिय (Lions Clubs International) जस्तो मानवीय र सामाजिक संस्थाको बलियो जगको स्थापना गरियो । त्यसैले हामीले जुन ७, १९१७ लाई लायन्स क्लब अन्तर्राष्ट्रिय जन्म भएको दिन मान्दछौं । लायन्स क्लबको स्थापना हुँदा डा. विलियम पेरी उड्स अध्यक्ष, मेल्भिन लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्स सचिव र कोषाध्यक्ष र पछि महासचिवमा सर्वसम्मत छानिए । उनले क्लबलाई दीगोपन र लोकप्रिय संस्थाको रुपमा विकास गराउन अतुलनीय योगदान दिए । मार्च १२, १९२० मा सयुक्त राज्य अमेरिका भन्दा बाहिर क्यानाडामा पहिलो लायन्स क्लव खोलियो । त्यसपछि एक पछि अर्को गर्दै विश्वभर एउटा सशक्त र विश्वसनीय संस्थाको रुपमा स्थापित भएर समुदायहरुको मन जित्न सकेको छ ।

लायन्स क्लव अन्तर्राष्ट्रियको स्थापना गरेपछि मेल्भिन लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सले संस्थाको निम्ति पूर्ण समय प्रदान गर्ने उद्देश्यका साथ सिकागोमा स्थापित क्लबहरुको मुख्यालय (Headquarters) मा काम गर्न शुरु गरे । उनको परिपक्व र गतिशील नेतृत्व पाएर लायन्स क्लब अन्तर्राष्ट्रियले क्लबहरुका माध्यमबाट असंख्य मानवीय र सामाजिक सेवा भएका (Civil Minded) सदस्यहरुलाई आकर्षण गर्न सकेको छ । सन् १९३९ मा लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सलाई क्यूवा सरकारबाट नागरिकहरुलाई प्रदान गरिने सेवा पदक “नेशनल मेरिट अफ कार्लोस म्यानुअल डि केस्पेड्स” प्रदान गरियो साथै यस्तै धेरै सम्मानहरु उनले प्राप्त गरे ।

मेल्भिन जोन्सले १९४५ मा अमेरिकाको क्याफिोर्नियाको सनफ्रान्सिस्कोमा लायन्स क्लब अन्तर्राष्ट्रियको तर्फबाट संयुक्त राष्ट्र संघमा consultant को रुपमा प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघको वडा पत्र निर्माण गर्ने अविस्मरणीय मौका पाए । यो मेल्भिन जोन्स र लायन्स क्लब अन्तर्राष्ट्रियका लागि सबैभन्दा ठूलो सम्मान थियो । आजसम्म पनि संयुक्त राज्य सघंमा क्लबको संलग्नता कायमै रहेको छ । मेल्भिन जोन्सले भनेका छन् : “जब सम्म आवश्यकता परेका बेलामा हामीहरु कसैले पनि केही मानवीय र सामाजिक सेवा प्रदान गर्न शुरु गर्दैनौं, तबसम्म हामी निर्दिष्ट सेवाको लक्ष्य प्राप्त गर्न सकदैनौं ।” मेल्भिन जोन्सको यो अभिव्यक्ति लायन्स क्लब अन्तर्राष्ट्रिय र लायन्स क्लबहरुको निम्ति निर्देशक सिद्धान्त (guiding principle) बनेको छ । हामी लायन्सहरु सबैले क्लबको “हामी सेवा गर्छौं” भन्ने आदर्श मन्त्रलाई आत्मसाथ गरेका छौं । हामी सबैका प्रेरणाको स्रोत संस्थापक मेल्भिन जोन्सको निधन जून १, १९६१ का दिन ८२ वर्षको उमेरमा भयो ।

मेल्भिन जोन्सको सम्मानका लागि उनको नाममा “मेल्भिन जोन्स फेलोशीप अवार्ड” स्थापना गरिएको छ । उत्कृष्ट मानवीय सेवाका लागि प्रत्येक वर्ष प्रदान गरिने यो अवार्डलाई अवार्ड भन्दा पनि सम्मानको रुपमा लिने परम्परा रहेको छ । अन्त्यमा, २१० भन्दा बढी राष्ट्रहरुमा र लाखौं लाखको संख्यामा संलग्न भएको सदस्यहरु सहितको सञ्जाल लायन्स क्लब अन्तर्राष्ट्रिय संस्थाको रुपमा विकसित भइरहेको छ । समुदायको विपद्, महामारी, शिक्षा, स्वास्थ्य, वातावरण आदि क्षेत्रमा सेवाका हातहरु बढाइरहेका छन् । यस पूण्य कार्यमा स्थान समय सापेक्ष उत्कृष्ट सेवा प्रदान गर्न सकि रहौं, यहि नै मेल्भिन जोन्स प्रतिको सच्चा कृतज्ञता हुनेछ ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update