Shittalpati
दलहरु बीच एकता अपरिहार्य

पृथ्वीनारायण शाहको स्मरणमा मंगलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । यस दिनलाई ऐतिहासिक रुपमा निकै महत्वपूर्ण मानिन्छ । यद्यपी विगतमा जस्तो विशेष प्रकारका कार्यक्रमहरु गरेर पृथ्वीनारायण शाहलाई स्मरण गर्ने परम्परा भने हाल त्यत्ति देखिएन । विशेषगरी देशमा गणतान्त्रिक प्रणालीको स्थापना भएसँगै उनी र उनीप्रतिको योगदानलाई कम मूल्याङ्कन गरिदैं आइएको छ, जसप्रति देशका विभिन्न भेगमा आक्रोशलाई समेत जन्म दिइरहेको छ । बाइसे र चौबिसे राज्यहरुलाई एउटा विशाल नेपालको स्वरुपमा ढाल्दै भौगोलिक रुपमा देशलाई एकिकरण गर्ने पृथ्वीनारायण शाहको योगदानलाई बिर्सेर हाल उनको अपमान गर्ने संस्कारलाई ठूला दलहरुले मलजल गरिरहेका छन् । मंगलबार ३०० औं पृथ्वी जयन्ती परे पनि न राज्यपक्षले यसबारेमा खासै चासो दखायोे, न राप्रपा बाहेकका ठूला दलहरुले आजको दिनलाई लिएर नै विशेष प्रकारले मूल्याङ्कन नै गर्न सके । बरु राजनीतिक दलहरु बीचमै झगडा, विवाद मात्रै हुने गरेको छ । पृथ्वीनारायण शाहको एकताको सन्देशलाई कसैले पनि आत्मसाथ गरेको पाइएन । पृथ्वी नारायण शाहालाई नेपालमात्र नभई दक्षिण एसियासम्म नै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वका रुपमा हेरिन्छ । तर देश गणतन्त्रमा गइसकेपछि यो दिवसको महत्व घटाइएको छ । गणतन्त्र भनिए पनि राजनीतिक दलका सीमित नेताले मुलुकलाई कसरी लतार्दै छन्, नेपाल कुन अवस्थाबाट गुज्रिँदै छ र संविधान पालना गर्ने सवालमा नेपाली कति अनुशासित देखिएका छन् कसैले कसैलाई सम्झाइरहनुपर्ने अवस्था छैन ।

राष्ट्रपतिलाई एकताको प्रतिक संस्था मान्ने कुरा त परै रह्यो, देशलाई नै अखण्ड भावले हेर्ने संस्कारको विनाश भएको छ । टुक्रा–टुक्रामा राज्यको अंशवण्डा लगाएर अस्तित्व मेटाउने आत्मघाती प्रवृत्तिले नेपाल आक्रान्त छ । अनुशासनहीनता हुर्किंदै अराजकता यति चुलिन पुग्यो कि न जनता शासकको काबुमा छन् न त सरकार नै जनभावनाबाट चल्ने प्रयत्न गरिरहेको छ । यस्तो अवस्थामा नेपाल राष्ट्रको निर्माणमा अहम् भूमिका निर्वाह गर्ने पृथ्वीनारायण शाहको योगदानलाई जबर्जस्ती भुल्न–भुलाउन खोज्नु दुखद् हो । अहिलेको अवस्थामा उनको कदर एवं मार्गनिर्देशन अवलम्बन गर्नु मुलुक तथा मुलुकवासीका निम्ति अपरिहार्य बनेको छ । यतिबेला देशका राजनीतिक दलका नेताहरू नै देशलाई विखण्डन गराउने दिशामा उदृत देखिनुले पृथ्वीनारायण शाहको अपमान गरेको ठहर छ । तसर्थ नेपालका राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर सोच्ने हो भने पृथ्वीनारायण शाहको सम्झना नगरेर बस्न सकिने अवस्था छैन । आज देशमा जातीय मुद्दालाई उठाएर नेपाली–नेपाली बीच काटमार गराउने प्रयासहरू भइरहेका छन् । यसको बीजारोपण किन, कसले र कसरी गर्‍यो भन्ने विषय गम्भीर अनुसन्धानको विषय बनेको छ । जातीय विवादले उग्ररूप लियो भने त्यसलाई कुनै पनि राजनीतिक दर्शनले मत्थर पार्न सकिने छैन भन्ने कुरा समयमै राजनीतिकदलहरुले बुझ्न जरुरी छ । देशमा देखिएको भयावह अवस्थामा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले देखाएको राष्ट्र र राष्ट्रियता प्रतिको गौरवपूर्ण सोंचलाई यतिखेर सबैले राजनीतिक दलहरुले एकतापूर्वक उच्च रुपमा मनन् गर्नुपर्ने अपरिहार्यता छ ।

प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update