Shittalpati
सबै पक्ष गम्भीर बनौं

नेपाली राजनैतिक वृतमा अहिले आएर विभिन्न खालका क्रियाप्रतिक्रियाहरु अगाडि आएका छन् । गठवन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षदलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको भेटघाट र परामर्शलाई अत्यन्तै महत्वका साथ हेरिएको छ । यसै साता प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति विद्या भण्डारीलाई उहाँकै कार्यकक्षमा भेटेर संसदमा देखिएको अवरोध अन्त्यका लागि गरेको आग्रहलाई पनि राजनैतिक वृतमा महत्वका साथ हेरिएको छ । एमसिसि पास गर्ने विषय र सरकार अनि प्रमुख प्रतिपक्ष बीचको संसद सुचारु गर्ने विषयमा देखिएको मतभेदबाट उत्पन्न परिस्थितिको आँकलन गर्ने विश्लेषकहरु भन्छन्, संसदको अवरोध अन्त्य हुना साथ एमसिसि पारित हुन्छ र त्यसको लगत्तै बस्ने मन्त्री परिषद्को बैठकले तीनै किसिमका निर्वाचन कार्यतालिकाको विषयमा निर्णय गरेर ओलीले गरेको आग्रहलाई स्वीकार गर्दै मुलुक अगाडि बढ्छ भन्ने अड्कलवाजी सही हो भने तीन वटै निर्वाचनहरु २०७८ र त्यसको पेरिफेरीमा हुन्छ भन्ने आँकलन पनि व्यापक रुपमा गरिएको छ ।

जे होस् जसरी भएपनि वर्तमान समयमा देखिएको राजनैतिक अन्यौलताको अन्त्यका प्रधानमन्त्री र प्रमुख प्रतिपक्षका बीच गाँठो फुकाउने वातावरण तयारका लागि सबै ठाउँबाट प्रयासको सही समयमा परिपालना गर्न सकियो भने मात्र मुलुकले नयाँ दीशानिर्देश गर्न सक्छ भन्ने विषय नै सबै भन्दा महत्वपूर्ण छन् । यी र यस्ता समस्याको समाधान गर्ने तरखर जसरी र जुन रुपमा अगाडि बढ्नुपर्ने हो त्यो हिसावबाट अगाडि बढ्न सकिएको छैन । अगामी दिनमा पनि यी र यस्ता सबै समस्याहरुको समाधान खोज्ने तर्फ सबैको ध्यान जानुपर्ने अवस्था छ । समयमै मुलुकमा नयाँ निर्वाचनसँगै नयाँ शैलीबाट राजनैतिक धरातललाई बुझेर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । निर्वाचनको परिणाम कस्तो आउँला भनेर डराउने र त्रसित हुने भन्दा पनि अगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारे सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने समय आएको छ अहिले ।

प्रकाशित मिति: सोमबार, पुस २६, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update