Shittalpati
गीतमा तानसेन : पर्यटन प्रवद्र्धनको एउटा रमाइलो पाटो

मदन देउराली
तानसेन तानसेन तानसेन जताततै तानसेन । बाहिरबाट आउनेहरुले झवाट्ट देखोस् भनेर श्रीनगरडाँडामा ठूलो–ठूलो अक्षरबाट बनाइएको TANSEN, आजकालका युवाहरुले विभिन्न नामबाट क्यामेरा, मोबाइल अनि ड्रोनबाट खिचेका यति धेरै तानसेनका फोटोहरु, यति धेरै म्यूजिक भिडियोहरु निश्चय पनि तानसेनलाई चिनाउन अति नै महत्वपूर्ण छन् । यस्ता फोटो, मिडियो, म्यूजिक भिडियो आदिमा तानसेन मात्र नभएर पूरा पाल्पालाई नै कभर गरेर पनि पाल्पाका चिनारीहरु हिमाल पहाड, गाउँघर, बनपाखा, पर्यटकीय गन्तव्य, मठमन्दिर, बाटोघाटो, नास्ता खाने स्थल तथा खानाहरु आदि राखेर बनाइएका छन् भने ती भिडियो फोटोहरु बाहिरबाट आउने पर्यटकहरुलाई अवश्य पनि आकर्षण गर्न सक्छ होला, पाल्पा तानसेन बारे जानकारी पाउन सक्छन् होला । त्यस्तै गरी तानसेन शब्दलाई कही न कही घुसारेर थुप्रै गायकहरुले तानसेनको गीत गाएका छन् जसले पनि तानसेनलाई अझ बढी चिनाउन मद्दत गरेको छ । त्यस्ता गीतहरुमा सबभन्दा पहिला लोक गायक मास्टर मित्रसेनले तानसेनलाई यसरी गाए ।
१) ‘तानसेन रमाइलो डाँडा बाबु साहेब तानसेन रमाइलो डाँडा, उकाली ओराली लड्दै पढ्दै बुटोल सातकोस टाढा ।’
२) ‘बीच बजारमा आठकुने ढोका तानसेनको शित्तलपाटी, सम्झदा धर्किन्छ छाती धर धर ।” उडेर नानी, सीसाको दरबार, रमाइलो रहेछ तानसेन दरबार नहिड्नु राती राती ।। ”

तानसेनको बारेमा पहिलो पल्ट मास्टर मित्रसेनद्वारा गाइएका यी गीत नेपाली संगीतको पृष्ठभूमिमा सिर्जनशिल संगीतको प्रथम वीउ हो भन्दा अत्युक्ति नहोला । भाका सरल भएर पनि सिर्जित सुन्दर संगीतको यो नमूना बन्न पुगेको छ । कता–कता लोक संगीतको हाउ पस्न खोजे झै लागे पनि मनको स्वच्छन्द तरङ्गको यस गीतले आफ्नैपनको शाश्वतता बोकेको छ । यस गीतले मित्रसेनलाई एक सफल सुरस्रस्ताको हाराहारीमा उचालेको प्रतित हुन्छ । त्यस्तै गरी एक जमानामा खुब झम्कियो झलकमान गन्धर्वले गाएको गीत ‘घाँसै काटी दुई खोली दोभान, हाँसी खेली विताउँला जोवन, तानसेन घमाइलो जता निरमाया उतै रमाइलो’ खूब लोकप्रिय भयो । हुन पनि हो जाडोको मौसममा तानसेन घमाइलो हुन्छ नै । नेपाल आइडलका धेरै जसो गायकहरु अमित बराल, रविन परियार, सुजन चापागाँइ, निलमणि भण्डारी, जीके क्रियटिभिटी आदिले तानसेन घमाइलो गीत गाएर तानसेनलाई उचाइमा पुर्‍याएको पनि पाइन्छ । भाका सरल भएकाले यो गीत धेरै जसोलाई मनपर्ने गीत बन्न पुग्यो । यसरी तानसेनलाई गीत बनाएर गाउने अन्य थुप्रै गायकहरु यहाँ देखिए । जनकवि केशरी धर्मराज थापाले गाए “तानसेनको शित्तलपाटीमा, नेपाली आमाको छातिमा, गाउँछ गीत अंधेरी रातमा” । आफ्नो जमानामा इन्द्रलाल श्रेष्ठले पनि गाए “मनोहर डाँडा श्रीनगर हामीलाई प्यारो लाग्ने तानसेन शहर ।” अनि देउराली परिवारले पनि गाए आफनो प्यारो तानसेनलाई माँया गरेर
१) “घामै लाग्या ज्यानैको छाँया, नबोलिने जाने कै माँया, हो खोली तरेर, माँया काखै तानसेन झरेर ।”
२) “तानसेनको बजारैमा झिलिमिलि भाँडा, दाईकी स्वास्नी त्यति राम्री मेरी स्वास्नी गाँडा ।”

त्यस्तै किसिमबाट आधुनिक गायक सुगम पोखरेलले पनि म्यूजिक भिडियो बनाएर तानसेन गाए “बोल्देउ सानु मन पेट खोलेर, लाग्ने हैन पैसो केही बोलेर, तानसेन खस्यौली राज गर यो दिलमा रानी भई मनमा बसौली ।” यसरी म्यूजिक भिडियो बनाएर तानसेनको गीत गाउनेहरुको ताँती देखिन्छ । कसैले गीत मात्र गाए कसैले नाँचमा गाए । म्यूजिक भिडियोमा तानसेन बजार, श्रीनगरडाँडा सल्लाघारी, शित्तलपाटी, पाल्पा दरवार, रानीमहल, रम्भापानी, करुवा, पाल्पाली ढाका, हाँसको छोयला, चुकाउनी आदि आदि शब्द राखी बनाइएको नृत्यमा यहीका कलाकार सुमन थापा र अस्मिता धिताल तथा साथीहरुको नृत्य रहेको गीतमा गाएक गायिका निशान भट्टराई र अस्मिता अधिकारीले गाएको नृत्य हेर्न लायकको छ । “जिन्दगीको यात्रामा भेट भयो बाटैमा, रम्भादेवी डाँडैमा माँया बस्यो तिमीमा, घुम्न जाउँ हेर्न हजुर तानसेन बजार, सिद्धबाबा भैरवस्थान पाल्पा दरबार ।” त्यस्तै के टु पाल्पाले गाए “मलाई प्यारो लाग्छ तानसेन भन्ने ठाउँ, अर्को जुनि पाउने भए यही जन्मन पाउँ ।” स्टार गाएक शनि र विशाखाले गाए “जिद्धी गर्न नसक्ने मनले नी, हजुरले आँटन नसक्ने पाल्पा तानसेनको घुम्न जाउँला भनेको आजै नी मान्दै मानसिन्न ।” सेमन्तमणि खराल, देव कुमार अनि लक्ष्मीले गाए “हातमा झोला लिएकी सानी, संगै जामन कहाँसम्म हो तनी, तानसेनको मिनि बस” टुक्का फरक गरेर यही लयमा टीका पुन श्याम रानाले गाए “मनमा छुट्टै तरंग छायो, चिनेको झैं लाग्यो तानसेनको मिनी बस, देख्दा पनि रैछ चिटिक्कै, मैले तिमीलाई चिनिन फिटिक्कै तानसेनको मिनी बस ।” त्यस्तै गरी यही लयमा अर्का गाएक गायीका डिबी कार्की र पवित्रा घर्ती मगरले गाए टुक्का अर्कै राखेर “काठमांडौको यात्रामा जाने हो संगै बसि खाजा नि खाने हो तानसेनको मिनी बसैमा ।” तानसेनका धेरै युवा गाएकहरु मिलेर गाए “पाल्पा हाम्रो पाल्पा तानसेन पाल्पा ।” अनि बुद्ध मोक्तान र शशिकला मोक्तानले गाए “पाल्पा तानसेन फेदैमा माडीफाँट मदन पोखरा ।’’ यस्तै गरी गाए सागर घर्ती मगर र करिष्मा वीसीले गाए “तानसेन बजार ढाकाको चोलीले गाँठै पार्‍यो माँयाको मिठो बोलीले ।” राजु गुरुङ्ग र शर्मिला गुरुगले गाए “तानसेन बजार झिलि र मिलि सालै जो जुनेली रातैमा । ” राम थापाको सम्पादनमा गाएकहरुको समूहले गाए “पाल्पा तानसेन हाम्रो पहाडको ठाउँ, घुम्न आउनु है हजुर रमाइलो छ ठाउँ ।” मगर फिल्म ङउ आर्मित्मामा पनि पाल्पाको कौडा गीत नाँचमा तानसेन शब्द परेको राम्रो लाग्यो “गाजलुले हानु कि नाकुं तानसेन बजार, लाई दिउनीमा निरमाया हेला नगर ।”

ओहो कति धेरै गायकहरुले तानसेन गायका रहेछन्, कति म्यूजिक भिडियोमा नाचेर गाएका रहेछन् । यी त मैले यूट्टूवमा पाएका केही मात्र हुन् अझ कति होला होला । गाएकहरुको तानसेन प्रतिको माया हो त्यसैले गाए । हो तानसेनको सौन्दर्यमा मुग्ध भएर थुप्रै गाएकहरुले कहीं न कहीं एक टुक्रा भएपनि आफ्ना मनका बह पोखे गीत मार्फत शायद भाखा मिलाउन पनि सजिलो थियो क्यारे । निश्चय पनि यस्ता गीत नृत्यहरुले पाल्पा तानसेनको पर्यटन प्रवद्र्धनको पाटोमा अवश्य टेवा पुर्‍याउन मद्दत गर्छ होला भन्न सकिन्छ । अस्तु !
(लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: बुधबार, पुस २१, २०७८  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update