Shittalpati
तेस्रो लहर आउन सक्छ सतर्क बनौं

नेपालमा पनि कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने विश्लेषण गर्न थालिएको छ । भारतका विभिन्न शहरमा ओमिक्रोन भेरियन्ट फैलिएको र नेपालमा पनि हालसम्म ३ जनामा भेटिएकाले थप सतर्क रहन जरुरी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्ट फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरेको छ । आगामी माघ दोस्रो हप्तादेखि तेस्रो लहर आउनसक्ने देखिएकाले सर्तकता अपनाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ । अर्को लहरमा देखापर्ने पूर्व संकेत देखिसकेकाले माघको दोस्रो सातापछि अर्को लहर आउने प्रक्षेपण अहिले सर्वत्र गर्न थालिएको छ । भारतमा ठूलो संख्यामा ओमिक्रोनका केसहरु पुष्टि भइसकेकाले पनि नेपालमा त्यसको असर प्रवल देखिने संभावना छ । खुला सीमा भएका कारण भारतमा फैलिएको संक्रमणको प्रभाव नेपालमा पनि पर्छ । यसलाई अन्यथा लिन मिल्दैन । दोस्रो लहरमा पनि सीमा नाकाबाट कोरोनाका केसहरु भित्रिएका थिए । भारतका केही शहरहरु सेमि लकडाउनमा गइसकेका छन् । संक्रमणलाई कम आक्न हुँदैन । यसको असर यस अघिका संक्रमणबाट समेत भोगिएकोले पनि यसतर्फ थप चनाखो हुन आवश्यक छ ।

अन्य भेरियन्टभन्दा ओमिक्रोन बढी संक्रामक भएकाले पनि थप सावधानी अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । ओमिक्रोनको कारण आउने लहर अघिल्लो लहरजस्तै ठूलो वा उस्तै ज्यान जाने किसिमको हुन्छ कि त्योभन्दा सानो वा त्योभन्दा पनि ठूलो हुन्छ भन्ने कुरा अहिल्यै अनुमान गर्न सकिन्न । तर अर्को लहर आउने कुरा भने अब भन्न सकिन्छ । बितेका केही दिनमा विशेषगरी सभा–सम्मेलन, बिहे, भोजमा संक्रमित भएर हप्ता दिन जति पछि अस्पताल जाने, भर्ना हुने क्रम बढ्न थालेको देखिन्छ । यो डेल्टाकै पहिलेदेखिकै अपेक्षित हिउँदे उभार हो कि यसमा केही मात्रामा ओमिक्रोनको पनि देन छ, सरकारको जिनोम सिक्वेन्सिङ अध्ययनले मात्र त्यो बताउला । तर मूल कुरा फेरि सबै जना बिहेबारी, भोजभतेर, सभा–सम्मेलनबाट सकेसम्म टाढै रही उच्च सर्तकता अपनाउनतर्फ ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  १०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update