Shittalpati
राष्ट्रिय टोपी दिवसको सार्थकता

नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । आज पनि ढाकाका टोपीहरु लगाएर यो दिवस मनाइंदै छ । राष्ट्रिय पोशाकको प्रयोग गरी राष्ट्रियपन झल्काउन र यसको जगेर्नाका लागि १ जनवरीलाई टोपी दिवसको रुपमा मानिएको हो । नेपालमा केही वर्षयता अंग्रेजी नयाँ वर्षको सट्टा टोपी दिवस मनाउन थालिएको हो । ढिलै भएपनि अंग्रेजी नयाँ वर्षकै दिन नेपालीहरुले टोपी दिवस मनाउनुलाई सकारात्मक मान्नुपर्छ । भलै, सामाजिक सञ्जालमा तस्वीर राख्न नै किन नहोस्, टोपी दिवस मनाउने युवा जमात बढिरहेको छ । नेपाली ढाका टोपी हाम्रो सान र मान पनि हो । नेपालीपन झल्कने पहिचान पनि ढाका टोपीले दिन्छ । ढाका टोपी लगाएर हिँड्दा नेपाली हुँ भन्ने छुट्टै गर्वानुभूति हुन्छ । अर्काको संस्कृतिमा रमाउनुभन्दा आफ्नै मौलिक संस्कृतिमा गर्व गर्न सकेमात्रै नेपाल र नेपाली संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा प्रवद्र्धन गर्न सकिन्छ ।

यो दिवसका अवसरमा देशका विभिन्न स्थानमा टोपी लगाएर ¥याली आयोजना गर्ने गरेको पाइन्छ । जसलाई सकारात्मक पक्षमा रूपमा लिन सकिन्छ । टोपी दिवस मनाउनुको एउटा अर्थ आफ्नै संस्कृति तथा संस्कारको संरक्षणको रूपमा लिन सकिन्छ । किनभने नेपालीहरूले धेरै पहिले आफ्नो शिरवस्त्रको रूपमा टोपी लगाउँदै आएका छन् । तर, पछिल्लो समय टोपी लगाउने चलन विशेष सभा समारोह वा कार्यक्रममा मात्र सीमित भएको छ । वृद्धहरूले टोपी लगाइरहे पनि युवायुवतीले भने कमै मात्र टोपी लगाउने गरेका छन् । यसकारण पनि आफ्नो संस्कृतिको रूपमा रहेको टोपी लगाउने चलन कतै विस्तारै हराउने होकि भन्ने आशंका पनि बढ्दै गएको बेला दिवस मनाउनुले भने केही अर्थ राखेको छ । सर्वोच्च शिखर सगरमाथा जस्तै स्वाभिमानी र अडिग छौं भनेर गर्व गर्न हरेक नेपालीले शिरमा ढाका टोपी लगाउनैपर्छ । टोपी दिवसमा मात्र होइन सधैँभरी टोपी लगाएर नेपालीपन झल्काउन सके मात्र टोपी दिवसले सार्थकता पाउन सक्छ ।

प्रकाशित मिति: शनिबार, पुस १७, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update