Shittalpati
आज पनि उस्तै रहेछ तानसेन

मदन देउराली
“तानसेन आज पनि उस्तै रहेछ खासै केही पनि फरक रहेनछ । राम्रो भनेको एउटा गोरख वाटिका रहेछ नत्र अरु त्यस्तै रहेछ पहिला जे थियो त्यस्तै जुन मैले १० वर्ष अगाडि देखेको थिए । त्यही फोहर देखिने मूल ढोका, अनि बिग्रे भत्केका दरबार परिसरका बाटाहरु । ओहो श्रीनगर त झन् खतम भएको रहेछ । कति फोहर हो जताततै पिकनिक खानेहरुले फालेर गएका फोहोरको थुप्रो, वियर र रक्सीका खाली सिसीहरु, किन सफा नगरेको होला । भ्यूटावर हेर्न गएको माथिबाट त चारैतिर राम्रै देखिने रहेछ तर फोहर सिंढीहरु प्लास्टर उप्केका भित्ताहरु देख्दा दिक्क लाग्यो । यस्ता संरचनाहरु किन वास्ता नगरिएका होला जस्तो लाग्यो ।”

झण्डै १० वर्ष पछि दाङका एक स्थानीय तानसेन घुम्न आएका रहेछन् । उनले तानसेनको अहिलेको हालत देखेर भीमसेनटोलका एक जना भाईसँग गुनासो गरेका रहेछन् त्यो भाईले मलाई सुनाउँदै थियो । यस्ता गुनासाहरु त म स्वयंले पनि शैक्षिक भ्रमणमा आएका विद्यार्थी भाईबहिनीहरुबाट पनि सुनेको छु । “पाल्पा धेरै राम्रो छ, हेर्ने कुराहरु पनि धेरै रहेछ भनेर आएको खासै केही रहेनछ खाली गफै मात्र रहेछ ।” हाम्रा केटाहरु विदेशबाट आफ्नो घर आउने जाने गरे पनि यसपाली श्रीनगर हेर्ने भनेर गएको उनीहरुले पनि यही गुनासा गरे खाली पैसा मात्र लिनेरहेछ गर्ने केही रहेनछ भनेर । यही पौष ६ गतेको नव जनचेतनामा प्राध्यापक दुर्गाप्रसाद अर्यालज्यूले श्रीनगर कमाई खाने मात्र भएको तितो यर्थाथ पोख्नुभएको छ । के यही हो त तानसेनको पर्यटन ? आजकाल यूट्यूवमा पाल्पा तानसेनको सौन्दर्यको बयान गरी राखिएका राम्रा–राम्रा फोटोहरु, भिडियोहरु, म्यूजिक भिडियोहरु टन्नै देखिन्छन् अनि यूट्यूव हेरेपछि सबैलाई एकपटक तानसेन जानै पर्छ भनेर आउँछन् तर ति सबै बाहिरी रुप मात्र हुन भन्ने उनीहरुलाई के थाहा । तानसेन आएपछि बल्ल थाहा पाउँछन् भित्रि रुप जहाँ हेर्ने लायक केही पाउँदैनन् । त्यही एउटा शित्तलपाटी, वर्षौदेखि रङ्गरोगन नपाएको नेपालको सबभन्दा ठूलो ढोका भनेर चिनिने मूलढोका, गोरख वाटिका, पाल्पा दरबार अनि नगरपालिका अगाडि राखिएको पाल्पाली शान विशाल करुवा त्यति हो ।

कलात्मक अमरनारायण मन्दिर, ऐतिहासिक रणउजीरेश्वरी भगवती मन्दिरमा उनीहरुको खासै चासो हुँदैन त्यो पनि दिउँसो बन्द नै हुन्छन यी मन्दिरहरु अनि किन जाने त्यहाँ । प्रकृतिले तानसेनलाई वरदान स्वरुप दिएको एउटा श्रीनगरडाँडा हो त्यहाँ हेर्न लायक के–के संरचनाहरु छन् भनेर घुम्न आउनेहरुले पहिले नै बुझछन् अनि थाहा पाउँछन् केही रहेनछ त्यस्ता डाँडाहरु त हाम्रो घरतिर पनि छन् भनेर सितिमिति जाँदैनन् । मुस्किलले कोही कोही मात्र चढछन् तर हेर्ने केही पाउँदैनन् फर्कन्छन् अनि किन आउने पर्यटकहरु तानसेन ? के यही हो त हाम्रो पर्यटन ? पहिला–पहिला पो तानसेनमा पुराना दिनहरु सम्झाउने खालका संरचनाहरु भिंmगटीका घरहरु थिए, ढुङ्गा छापिएका बाटोहरु थिए शान्त वातावरण थियो तर समयको क्रमसंगै अहिले ती पुराना संरचनाहरु केही पनि छैनन् अहिले त जताततै सिमेन्टका घरहरु निर्माण भइ कंक्रिटको जालो भइसकेका छ, ढुङ्गा छापिएका बाटोहरु ढलान भइसके, शान्त वातावरण जनसंख्याको बृद्धिसँगै कोलाहलमय भएको छ अब त्यो सौन्दर्यता तानसेनमा छैन । अनि के हेर्ने किन आउने ? आजकल जताततै पर्यटन प्रबर्धनको लागि प्राकृतिक नभए पनि कृतिम आकर्षक संरचनाहरु बनाएर पर्यटकहरुलाई तानिरहेका छन् । उदाहरणको लागि हाम्रो नजिकैको रुपन्देहीलाई नै लिउँ । त्यहाँ प्राकृतिक संरचना नभएर के भयो र टन्नै कृतिम संरचनाहरु बनाएर भए पनि स्थानीय तथा आन्तरिक पर्यटकहरुलाई आकर्षित गरिरहेको हामी आफैले देखिरहेका छौं अनि कहिले काही हामी पनि त्यस्ता संरचनाहरुमा सहभागी भइरहेका छौं । मणिमुकुन्द फुलबारी, हीलपार्क, बनबाटिका, कुञ्जलापुर पार्क, पिस पार्क, जीतगढी, मिलनपार्क, देवदह बुद्ध पार्क, लुम्बिनी फन पार्क, मुक्तिनाथ मन्दिर, अष्ट्रिच फार्म, आदि–आदि जहाँ छुट्टिका दिनहरु मा टन्नै भिड हुन्छन् । तर हामी कहाँ त प्रकृतिले दिएको एउटा वरदान श्रीनगरलाई पनि स्याहार गर्न सकेका छैन कस्तो विडम्वना । आन्तरिक पर्यटक या शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरुको बसाई तानसेनमा भरसक एकदिन पनि हुँदैन । विहानतिर आइपुगे यसो तानसेन बजार घुम्छन् अनि फर्किहाल्छन् अर्को तिर । साझँतिर आए मात्र एकरात बस्छन् अर्को दिन विहानभरि घुम्छन् अनि अर्को तिर लाग्छन् भने यहाँका व्यवसायीहरुले के पाउने त ? यति हो त उनीहरुको लगानीको प्रतिफल ? पर्यटकहरुलाई भिœयाउन नयाँ–नयाँ आकर्षक संरचनाहरु बनाउन किन चुकेको होला स्थानीय सरकार जस्तो लाग्छ । बल्ल–बल्ल एउटा संरचना बनाउन लागे जस्तो देखिन्छ टुँडिखेलमा जेष्ठ नागरिक पार्क र बाल उद्यान त्यो पनि कहिले तयार हुने हो थाहा छैन । नजिकै रहेको वीरेन्द्र फूलबारीले अलि शोभा बढाई दिएको छ भने संगै रहेको लखन थापा पार्कले कहिले चोला फेर्ने होला भनेर पर्खेर बसेको छ । कमसेकम रंगरोगन गरी फूलका विरुवाहरु लगाई बराबर स्याहार गर्ने गरेको भए यो पनि त आर्कषक हुने थियो तर सम्बन्धित निकाय पार्क बनाई दियो चुप लाग्यो भइहाल्यो । आजकाल तानसेन बजार गुल्जार भएको छ । शैक्षिक भ्रमणमा आउनेहरुको हुलका हुल विद्यार्थीहरुको भीड तानसेन बजारमा छ्यापछ्याप्ती देखिन्छन् । टुँडिखेलमा बस राख्ने ठाउँ हुँदैन ।

तानसेन बजार घुम्ने क्रममा असनटोल तिर पुग्दा एकजना विद्यार्थीलाई पिसाब गर्न मन लागेछ हाम्रा एकजना भाईसंग सोधेछन् शौचालय कहाँ छ भनेर उस्ले पनि टुँडिखेलमा छ भनिदिएछ लौन देखाइ दिनुपर्‍यो भनेछ । उसलाई कति आपत अब कहाँ टुँडिखेल देखाउन लैजाने भनेर हँसाउँदै थियो । तैपनि उस्ले बजारमा आफुले चिनेकाको घरमा लगिदिएछ । यस्तो छ समस्या । सदरमुकाम तानसेनमा सिजनमा हजारौं आन्तरिक पर्यटकहरु आउँछन् । तर उनीहरुलाई थाहा छैन तानसेनमा के के हेर्ने ठाउँहरु छन् भनेर । टुँडिखेलमा बसबाट उत्रिएपछि भीमसेनटोल असनटोल हुँदै शित्तलपाटी, मूलढोका, दरबार त्यसपछि बडिज्ञानटोलको ठाडो ओरालो पछि फेरि टुँडिखेलमा बस चढ्यो फक्र्यो । यति हो उनीहरुको घुमाई । उनीहरुको सोचाइमा पाल्पा भनेको तानसेन मात्र हो । तानसेन बजारबाट सेरोफेरो टाढा जाने उनीहरुको सेडयूलमा हुँदैन । किनकी पाल्पाको पर्यटकिय गन्तव्य, हेर्न सकिने ठाउँहरु यी यी छन् तानसेन बजारबाट यति टाढा छन् यो यो सुविधा छ भन्ने अहिलेसम्म कुनै तानसेन सम्बन्धी ब्रोसर यहाँ छैन न त पर्यटन सूचना केन्द्र नै अनि कसरी थाहा पाउने अत बसाई छाटो हुन्छ अनि अर्कै गन्तब्यतिर लाग्छन् । कसैको त एक रातको बास पनि हुँदैन भने के फाइदा लिने तानसेनले ?

भ्रमणको सिजन छ पर्यटकहरुको पहिलो पाइला टँुडिखेल नै हुन्छ । आफनो अगाडि तानसेन नगरपालिकाको प्रागणमा रहेको पाल्पाकोे शान विशाल करुवा देख्छन् अनि करुवा स्पष्ट देखिने गरी फोटो सेसन गर्न ताँती नै लाग्छ । करुवाको हालत कस्तो छ भन्ने तिर उनीहरु लाग्दैनन् । हुनत यो हामो काम हो यस्को नियमित सर सफाई तथा त्यसबारे जानकारी राखिदिएको भए कमसेकम पाल्पाको करुवा बारे थाहा पाउँथे होला तर भएको छैन । के पाल्पाली शान करुवा बारे जानकारी गराउनु हाम्रो कर्तव्य हैन र ? तर कुनै सूचना राखिएको छैन । हुनत हामी तानसेनबासी धेरैलाई नै थाहा छैन यो करुवा कस्ले बनाएको हो, यस्को उचाइ कति छ कति तौलको छ भनेर अनि के बताउने कसैले सोधिहाल्यो भने पनि । हो यो करुवा पाल्पा उद्योग वाणिज्य संघको सौजन्यतामा न्यू बज्राचार्य वर्कसपका प्रोपराइटर दिनेश शेखर बज्राचार्यले बनाएका हुन् । यस्को उचाई साढे १३ फूट तथा लम्बाई ६ फूटको रहेको छ । यस्को तौल ४०० किलो भएको बताइन्छ । बिसं २०६४ सालको मेला महोत्सबको बेला यस्को निर्माण भएको थियो तथा त्यसबेलादेखि हरेक मेला महोत्सबमा यस्लाई राख्ने गरिन्थ्यो । तानसेन आएर कहाँ जाने के हेर्ने भन्ने बारेमा अलमल हुन्छन् उनीहरु । कमसेकम टुँडिखेलको आसपासमा एउटा सूचना केन्द्र राखी पाल्पा आएका पर्यटकहरुको हात–हातमा पाल्पा, तानसेन बारेको ब्रोसर राखिदिन पाए नेपालभर पाल्पा तानसेनबारे अरुले पनि थाहा पाउँथे होला । अझ कति पर्यटकहरुको ओइरो लाग्थ्यो होला । यो पनि भएको छैन । प्रचार–प्रसारको कमी छ पाल्पामा । पहाडकी रानी तानसेन भनेर सम्बोधन गरिन्छ, दार्जिलिङ्गसंग तुलना गरिन्छ पाल्पालाई । तर दार्जिलि·मा भए जस्ता तानसेनमा छैनन् अनि के तुलना गर्ने । अहिले भर्खर श्रीनगरको सौन्दर्यकरणको कुरा उठेको छ । श्रीनगरमा यो यो बनाउने भनेर मास्टर प्लान सहितको फोटो राखेर २० वर्षे लिजमा दिइदैछ भन्ने कुरा फेसबुक तथा पत्रपत्रिका मार्फत थाहा भयो । अत्यन्त राम्रो । धेरै ढिलो भइसक्यो यो त पहिले नै हुनु पर्ने थियो । हुनत पहिले पनि श्रीनगर बनाउने भनेर करौडौंको बजेटमा मास्टरप्लान नराखेको ठेक्का दिइएको थियो । तर नाम मात्रको संरचना बनाए करौडौ सक्काए श्रीनगर जस्ताको तस्तै । अहिले त्यस्तो नहोस् ।

तानसेनका समाजसेवी भुयुमान लिगलले श्रीनगरको अहिलेको जस्तो मास्टरप्लान सहितको योजना तयार गरी आएको बजेटले थोरै भएपनि काम शुरु गरेका थिए तर उहाँलाई साथ दिने कोही भएन उहाँ एक्लै पर्नुभयो काम हुन सकेन । अहिले भएको मास्टरप्लान र उहाँले बनाउनु भएको मास्टरप्लान झण्डै एउटै देखिन्छ । उहाँको मास्टरप्लानमा वर्षातको पानी जम्मा गरेर ताल बनाउने कुरा थियो, सानो चिडियाखाना बनाउने थियो । हुनत अहिलेको मा चिडियाखाना छैन । श्रीनगरमा पनि त्यसबेलाका सेन बंशिय राजाहरुका दरबारका भग्नावशेष छन् तर संरक्षित छैन, सुरक्षित छैन कसैलाई थाहा पनि छैन एउटा पर्यटकिय संरचना ओझलमा छ वास्ता छैन । भ्यूटावर तल एउटा ठूलो बोर्डमा त्यहाँबाट देखिने उत्तरतिरको लामो हिमालहरु, दक्षिणतिरका लेख फाँटहरुको नाम सहितको फोटो राखिदिएको भए सबैले थाहा पाउँथे होला । तथागत भगवान बुद्धको वर्षावासको अवसरमा विताउनु भएको समय झल्काउने पारिलेयक बन नाम मात्रको भएको छ । बौद्ध धर्मावलम्वीहरु बर्षको एक पटक सरसफाइ गर्छन पूजाआजा गर्छन् पुग्यो । रंग रोगन गर्ने, सुन्दर बगैंचा बनाउने आदि तिर कसैको चासो छैन । एउटा धार्मिक पर्यटकिय गन्तव्य बन्न सक्थ्यो तर भएको छैन । त्यसैले पर्यटकहलाई आकर्षित गर्ने हो भने सबभन्दा पहिला हामीसंग भएका संरचनाहरुलाई सफा, सुन्दर र चुस्त हेर्न लाएकको बनाउनु पर्छ । सकिन्छ भने नयाँ–नयाँ संरचनाहरु थप्नुपर्छ । सूचना केन्द्र मार्फत तानसेनको ब्रोसर, लिफ्लेट आदि प्रत्येक आन्तरिक वा बाÞय पर्यटकहरु, विद्यार्थीहरुकोे हात–हातमा पु¥याउन सक्नुपर्छ । यसो भयो भने तानसेनको बृहद् रुपमा प्रचार–प्रसार हुनसक्छ । तानसेनबाट नजिकैका पर्यटकिय गन्तव्यको ठूला–ठूला फ्लेक्स फोटोहरु जाने ठाउँको दुरी आदि उल्लेख गरी ठाउँ–ठाउँमा राखिनु पर्दछ । बजारको प्रत्येक टोलको नाम नेपाली अंगे्रजीमा लेखिएको बोर्ड देखिने ठाउँमा राख्ने व्यवस्था गरिनुपर्छ । जबसम्म यी सबै पूर्धाधारहरुको विकास हुँदैन तबसम्म पर्यटनको विकास हुन सक्दैन । त्यसैले पर्यटन पर्यटन भन्नु भन्दा पहिला यी सबै पूर्वाधारहरुको जोहो गरौं तब मात्र ढुक्क होऔं । अस्तु !
(लेखक देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, पुस ११, २०७८  १०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update