Shittalpati
चिसोबाट बचौं

यतिबेला तापक्रम घट्दै गएकोले चिसो अत्याधिक बढ्दै गएको छ । जाडो बढेसँगै हामीलाई विभिन्न खालका रोगहरुले पनि सताउने गर्दछ । रोग गर्मीमा मात्र लाग्छ भन्ने कुरा गलत हो । जाडोमा जे खाएपनि पच्छ यसैले रोग लाग्दैन पनि भन्ने चलन छ । तर यो भनाइमा सत्यता छैन । रोग जाडो र गर्मी दुबै सिजनमा लाग्छ । केवल जाडोमा लाग्ने रोगको संक्रमण र गर्मीमा लाग्ने रोगको संक्रमण एकनासको नहुने मात्र हो । चिसो प्रकृतिजन्य समस्या भएकाले पनि यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्वतयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ । रोग लागेर विविध हैरानी बेहोर्नुभन्दा बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्प बारे सोच्नुपर्छ । यस्तो अवस्थामा न्यानो कपडाको प्रयोग, पोषिलो खानाको व्यवस्थापन, राम्ररी पकाइएका खानाको उपयोग तथा बासी र काँचो खानाबाट सतर्क रहनु नै उत्तम उपाय हुन सक्छन् ।

चिसो मौसममा शरीरमा तापक्रम बढाउने किसिमका खाना खानुपर्छ । सुप, दाल, खिचडी र रेसादार सागपात पर्याप्त मात्रामा खानुपर्छ । तातो खाना मात्र नभई शरीरलाई भित्रैबाट गर्मी गराउने खालको खाना खानु बढी लाभदायी हुन्छ । स्वादका लागि मात्र तातो खानेकुरा नखाई शरीरको ताप बढाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने खानामा जोड दिनुपर्छ । मानिस व्यस्त हुने हुँदा यी कुराहरुमा ख्याल गरेको हुँदैन । जसका कारण मृत्युको मुखमा समेत पुग्ने गरेको पाइन्छ । तसर्थ चिसोसँग आफु पनि बचौं र अरूलाई पनि बचाऔं ।

प्रकाशित मिति: शुक्रबार, पुस ९, २०७८  १०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update