Shittalpati
कालीगण्डकी फाउण्डेशनद्वारा एम्बुलेन्स सेवा शुभारम्भ

इमान सिं राना
पाल्पा (रामपुर), जिल्लाको पूर्वी क्षेत्रमा रहेर सामाजिक सेवामा काम गर्दै आएको कालीगण्डकी फाउण्डेशन नेपालले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । रामपुर नगरपालिका सहित जिल्लाका पूर्वी भेगका जनतालाई सरल र सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि भारतीय स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासबाट प्राप्त गरेको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

भारत सरकारको सहयोगमा प्राप्त एम्बुलेन्सको बुधबार रामपुरमा कार्यक्रम गरी सेवा शुभारम्भ गरिएको छ । एम्बुलेन्स सेवाको रामपुर नगरपालिका ५ का जेष्ठ सदस्य ९३ वर्षिय फनकुमारी पोख्रेलले रिवन काटेर शुभारम्भ गरेकी थिईन् । जेष्ठ नागरिक पोख्रेलले सेवाको कामलाई निरन्तरता दिदै जान आग्रह गरिन् ।

कार्यक्रममा प्रदेश सांसद युवराज खनालले सरकारले स्वास्थ्य बीमा तथा विभिन्न सुविधा प्रदान गरे पनि दुर्गम क्षेत्रका नागरिकहरु समयमा पुग्न नसक्दा समस्या परेको बताए । उनले रामपुर क्षेत्रमा स्वास्थ्य क्षेत्रतर्फ पूर्वाधार निर्माण भई नसकेको अवस्थामा स्वास्थ्य सेवा लिन बाहिर जानुपर्ने अवस्थामा यसले थप सेवा प्रदान गर्ने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रामपुरबाट स्वास्थ्य सेवा लिनका लागि अन्य स्थानमा जान एम्बुलेन्स सेवाले सहज गराउने बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्याल, रामपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बासुदेव शर्मा भट्टराई, रामपुर नगरपालिकाका सल्लाहाकार लेखनाथ पोखरेल, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, नेपाल भारत मैत्री संघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र रामपुर उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दुर्गाप्रसाद भट्टराई लगायतले दिगो सञ्चालनमा ध्यान दिन अनुरोध गरेका थिए । फाउण्डेशनका अध्यक्ष निलकण्ठ भण्डारीले संस्थाले सेवालाई प्राथमिकता दिएर एम्बुलेन्स सञ्चालन गर्ने बताए । संस्थाका अध्यक्ष भण्डारीको अध्यक्षता, उपाध्यक्ष पवित्रा ढकाल पौडेलको स्वागत र सचिव सीता डोटेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update