Shittalpati
रामपुरमा गौशाला सञ्चालनका लागि महायज्ञको तयारी

पाल्पा (रामपुर), रामपुर नगरपालिका ६ तिलकपुर तातोपानीमा निर्माण भइरहेको नगर गौशालाको दिगो सञ्चालन सहयोगार्थ हुन गैरहेको श्रीमद् भागवत ज्ञान महायज्ञको तयारी अगाडि बढेको छ । यही फागुन १२ गतेदेखि २० गते सम्म हुने यज्ञको तयारी अगाडि बढेको हो । महायज्ञका लागि विभिन्न उपसमितिहरु समेत गठन भएका छन् ।

रामपुरमा बसेको सरोकारवालाहरुको भेलाले यज्ञ व्यवस्थापनको लागि ८० वटा विभिन्न उपसमिति गठन गरेको छ । भेलामा रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले मानिसलाई सबैभन्दा बढी सन्तुष्टि आध्यात्मिक विचारले प्रदान गर्ने भन्दै आध्यात्मिक विचार धर्मबाट प्राप्त हुने बताए । उनले बुबा, आमा र गाईलाई हेला गर्ने मानिसलाई कहिल्यै राम्रो नहुने बताए । उनले गौमाताको रक्षाका लागि नगरपालिकाले गौशाला निर्माणलाई अघि बढाएको बताउँदै दिगो सञ्चालनको लागि हुन लागेको महायज्ञलाई नगरले विशेष सहयोग गर्ने बताए ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले गौशाला निर्माण हुनु गौमाताको संरक्षण मात्र नभई यहाँको धार्मिक पर्यटनलाई पनि ठूलो सहयोग हुने बताए । बाल व्यास पण्डित नारायणप्रसाद न्यौपानेले गौमाताको संरक्षणका लागि हुन लागेको यज्ञलाई सबै नगरवासीले उत्सवको रुपमा मनाउन आग्रह गरे । उनले रामपुर आफैमा पूण्य भूमी रहेको भन्दै गौमाताको रक्षार्थ हुन लागेको यज्ञले अझ पूण्य भूमीको रुपमा परिचित गराउने बताए । श्रीमद् भागवत ज्ञान महायज्ञ मुलआयोजक समितिका संयोजक हुमनाथ न्यौपानेको अध्यक्षतामा भएको भेला पण्डित दिननाथ भण्डारी सहितको टोलीको स्वास्ती वाचनबाट सुरु भएको थियो । भेलाको सञ्चालन श्रीमद् भागवत् ज्ञान महायज्ञ मूल आयोजक समितिका सचिव बासुदेव ढकालले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २४, २०७६  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update