Shittalpati
काँग्रेसभित्र युवा नेतृत्व

नेपाली काँग्रेसको जिल्ला तहसम्मका अधिवेशन चलिरहेका छन् । अहिले अधिकांश स्थानमा गाउँ/नगर, क्षेत्र, जिल्लाका अधिवेशन भइसकेका छन् भने केही स्थानमा हुने तयारी छ । विगतका अधिवेशन भन्दा यस पटकको महाधिवेशन अलि फरक र रोचक हुन सक्ने देखिन्छ । यस पटकको महाधिवेशन धेरै कारणले महत्वपूर्ण हुने छ । नेतृत्वमा को पुग्छ, त्यो अर्थपूर्ण हुन्छ नै तर सबैभन्दा महत्वपूर्ण कुरो त के भने, यो महाधिवेशनका माध्यमबाट काँग्रेसको पुनर्संरचनाको पक्षमा आवश्यक वातावरणको निर्माण हुनसक्ने विश्वास पनि हो । धेरैले अपेक्षा गरेको कुरा हो, काँगे्रसमा परिवर्तन हुन्छ । तर कुन रूपमा ? सकारात्मक वा नकारात्मक, त्यसको भविष्यवाणी अहिले नै गर्न त सकिँदैन तर केही अनुमान भने निश्चय पनि गर्न सकिन्छ । काँग्रेसमा परिवर्तन आउनसक्ने सबैभन्दा ठूलो आधार हो– चौधौँ महाधिवेशनमा युवाको सम्भावित उल्लेख्य सहभागिता । युवा सहभागिता विगतको तुलनामा यस पटक अत्याधिक रुपमा बढेको छ । वडा तहदेखि जिल्ला तहका अधिकांश स्थानमा युवाहरुले नै नेतृत्व समालेका छन् । यस आधारमा महाधिवेशनको परिणाम पनि युवामय रहने बलियो आधार देखिन्छ । यो आफैमा सकरात्मक हो । अब पार्टीलाई थप सशक्त र समय अनुकूल बनाउन युवा नै नेतृत्वमा आउन आवश्यक छ ।

युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा युवा शक्तिको जोस, जागर र आँटले क्रान्तिकारी भूमिका खेलेको देखिन्छ । विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् । बूढाहरू नेतृत्वमा बसिरहे, युवाले मौका पाएनन् भन्नु सत्य हो । तर त्यो परिवर्तन गर्ने जिम्मा मूल रूपमा दलभित्र रहेका युवा जमातको नै हो । आफ्ना दलभित्र युवाहरूलाई बोलीहीन बनाउने अनि बाहिर युवाका शक्ति कहिले उठेर मद्दत गर्लान् भन्ने आशामा बस्नुमा अर्थ छैन । बाहिर प्रदर्शन गर्ने युवाहरू सिर्जनशील हुन्छन्, ती समाजका ऊर्जा शक्ति हुन् । आगामी निर्वाचनमा काँग्रेसको सत्ता आउछ भन्न जति सजिलो छ, विपक्षी पार्टीसँग प्रतिस्पर्धा गर्न पनि कठिन नै छ । तर पार्टी भित्र जोस, जागर, निष्ठा, निडरपन, सक्षमता र अध्ययनशील आधुनिक पुस्ताको उदय भयो भने पक्कै पनि यो सम्भव छ । तसर्थ अहिले जसरी वडातहदेखि जिल्लातहसम्मको अधिवेशनमा उत्साजनक रुपमा युवाहरुको सहभागिता देखिएको छ त्यो केन्द्रिय महाधिवेशनमा पनि देख्न सकियोस् नेपाली काँग्रेसलाई शुभकामना !

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ११:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update