Shittalpati
अझै बनेनन् भूकम्प पीडितका घर

रामचन्द्र रायमाझी
पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका ३ की यमकुमारी वि.क.को घर ०७२ सालको भूकम्पले पूरै भत्काइदियो । त्यसपछि उनी गोठमा बस्दै आएकी छिन् । उनलाई आफ्नो घर कसरी बनाउनु भन्ने चिन्ता छ । भूकम्प पीडित भएकाले घर बनाउन सरकारी सहयोग पाउनेको सूचीमा परेकामध्ये धेरैले पहिलो, दोस्रो र तेस्रो किस्ता सरकारी सहयोग लिएर आफ्नो घर बनाइसकेका छन् । उनी भन्ने बल्ल सहयोग पाउने सूचीमा परेकी छिन् ।

उनी भन्छिन् ‘दुखिको पीडा हेर्ने कोही भएन् । पहिले सरकारले घर बनाइदिन्छ रे भने । गाउँ गाउँमा घर हेर्न मानिस पनि आए तर मेरो घरको कसैले पनि हेरेनन । पछि घर हेर्न आएपछि बल्ल सरकारी सहायता पाउने भएकी छु ।’ यमकुमारीको सम्पत्तिको नाममा त्यही एउटा घर थियो । त्यही घर पनि चर्केर चिरा चिरा पर्‍यो । पाल्पाकै तानसेन नगरपालिका ११ का नारायणबहादुर खातीको घर पनि २०७२ सालको भुइँचालोले भत्काएको थियो । उनको घर पनि अहिलेसम्म बन्न सकेको छैन । भूकम्पले चर्काएको जीर्ण घरमा बस्न बाध्य छ उनको परिवार । उनी बर्खामा भैसी बाध्ने गोठमा बस्छन् भने अघि पछि त्यही जिर्ण घरमा । ‘अहिलेसम्म हामीलाई कसैले पनि हेरेन,’ उनले गुनासो पोख्दै भने ‘अहिले बल्ल लाभग्राहीको सूचीमा नाम रहेको थाहा पाएको छु । हेरौ अब के हुन्छ ?’ भूकम्पले घर भत्काएको गुल्मी इस्माका रामबहादुर नेपालीेको बास अहिले पनि गोठमै छ । ‘गोठमा बसेको ६ वर्ष वित्यो । अझै अवस्था उस्तै छन, आफूसँग पैसा छ न सरकारले सहयोग गर्छ । विहान बेलुकाको छाक टार्न मुस्किल छ । साहुसंग ऋण लिएर घर बनाउने कुरा भएन । जाडो महिनाका शित र चिसोले गर्दा बृद्ध आमा निमोनियाले थलिएकी छन्’ नेपाली भन्छन् । सरकारी सहयोग पाउने भूकम्प पीडितको सूचीमा उनको पनि शुरुमा समावेश भएन । अहिले भने छुटेकाको सूचीमा छ । पुस्तौंअघि बनाएको घर भएको जग्गाको धनीपुर्जा घरधनीको नाउँमा नहुँदा र सर्वेका क्रममा घरमा कोही मानिस नभेटिदा पाल्पा र गुल्मीमा ३ सय ५० परिवार भूकम्प पीडित सहायता पाउने सूचीमा परेका थिएनन् । पछि भूकम्प पीडितहरुले स्थानीय सरकारसँग गुनासो गरेकाले उनीहरुलाई सरकारले लाभग्राहीको सूचीमा राखेको थियो । पाल्पा र गुल्मीका जसको नाम सहायता पाउने सूचीमा परेको थियो उनीहरुमध्ये पनि ६८ प्रतिशतको मात्र घर बनिसकेको छ । बाँकीको घर बनेको छैन ।

सरकारले पाँच वर्ष भित्रमा भूकम्पबाट क्षति भएका सबै घर बनाइसक्ने बताएको भए पनि कामले गति लिन भने सकेको छैन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाका अनुसार सम्झौता भएका मध्ये ४ हजार ७ सय ८ ले पहिलो किस्ता लगे भने दोस्रो किस्ता लाने ३ हजार २ सय १७ मात्र थिए । यहाँ २ हजार ९ सय ८३ ले मात्र तेस्रो किस्ता लगेका छन् । दोस्रो किस्ता पाउन योग्य भइसकेकाहरुलाई सरकारले समयमै बजेट नपठाइदिदा आवास पुर्ननिर्माणले गति लिन नसकेको पाल्पा र गुल्मीका इकाई प्रमुखहरु बताउँछन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ गुल्मीका कम्प्युटर अपरेटर पार्वती खत्रीका अनुसार यहाँ ७६ प्रतिशत लाभग्राहीले मात्र घर बनाएका छन् । बाँकीले घर बनाएका छैनन् । यहाँ सम्झौता गरेका मध्ये ४ हजार ४ सय ४२ ले पहिलो किस्ता, ३ हजार ७ सय ६६ ले दोस्रो किस्ता र ३ हजार ५ सय ६८ ले तेस्रो किस्ता लगेका छन् । लाभग्राहीले घर बनाउन चासो नदेखाएका कारण पुर्ननिर्माणले गतिलिन नसकेको जिल्ला आयोजना कार्यान्वयन इकाई गुल्मीका सूर्यनारायण झाले बताए । उनले भने, ‘अन्त घर भएका र भत्केको घर तत्काल नचाहिने भएकाले भत्केको घर बनाउने चासो नदिँदा पहिलो किस्ता लाने र तेस्रो किस्ता पाउनेको संख्यामा ठूलो अन्तर देखिएको हो ।’ कार्यविधिअनुसार पहिलो किस्ता लिएर घरको जग हाल्नेलाई दोस्रो किस्ता दिने प्रावधान छ । दोस्रो किस्तामा डेढ लाख दिइन्छ । पहिलो किस्ताको ५० हजार रुपैयाँ लिनका लागि अनुदान सम्झौता र नागरिकताको प्रमाणपत्र भए पुग्छ । दोस्रो किस्ता लिन भने जग उठाएको र मापदण्ड अनुरुप भएको भनी स्थानीय तहका प्राविधिक इञ्जिनियरको सिफारिस पनि चाहिन्छ । तेस्रो किस्ताको रकम लिनका लागि घरको गारो लगाउने काम सम्पन्न भएको हुनुपर्छ । मापदण्ड अनुसार गारो लगाइएको र घर बनेको सिफारिस चाहिन्छ । अन्त्यमा सुरक्षित घर बनेको सिफारिस लिएर गएपछि पूरै रकम पाइन्छ । भूकम्पपीडितको आर्थिक अवस्था कमजोर हुनु, निर्माण सामग्री र डकर्मी, सिकर्मी नपाइनु अनि महंगी बढ्नु जस्ता कारणले पनि घर बन्न नसकेका हुन् । सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका परिवारलाई नीजि आवास निर्माण गर्न तीन किस्तामा ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । पहिलो किस्तामा पँचास हजार, दोस्रो किस्तामा एकलाख पँचास हजार र तेस्रो किस्तामा बाँकी ५० हजार रुपैयाँ भुक्तानी उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update