Shittalpati
बडादशैँ: दशा र खल्लो

यस वर्षको बडादशैँ बुधबारदेखि सकिएको छ । हिन्दु धर्मलम्वीहरुले पूर्णिमासम्म मनाउने यस वर्षको बडादशैलाई विदाई गरिएको छ । दशैँ सम्पूर्ण हिन्दू धर्मावलम्बीका लागि महान् चाड हो । हरेक वर्ष हर्सोउल्लासका साथ मनाइने दशै यस वर्ष भने धेरैको खल्लो नै रहयो । दशै नजिकिदै गर्दा सबैले ‘दसैं दशा नबनोस्’ भन्दै कामना गर्ने गर्दछन् । यसवर्ष पनि सबैले यही कामना नगरेका हैनन् । तर केहीका लागि भने यस वर्षको दशै दशा नै बन्यो । यो वर्ष दशैको मुखैमा धेरै दुर्घटना भए । करिब एक सयको हाराहारीमा नागरिकले ज्यान गुमाउनुपर्‍यो । सयौं घाइते भए । प्रहरीको तथ्यांकअनुसार दसैंको टीकाको अघिल्लो दिनसम्म नै सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८९ पुगेको थियो । सात दिनको तथ्यांकलाई लिँदा ४ सय ८५ वटा सडक दुर्घटना भए । सो दुर्घटनामा ८९ जनाको मृत्यु हुँदा ७ सय ५३ जना घाइते भए । त्यसपछिका दिनमा पनि मृतक र घाइतेको संख्या थपिइरहेको छ । यस्तो अवस्थामा दुर्घटनामा परेकाहरुको परिवारको दशैं यस वर्ष खल्लो मात्र होइन दुर्दशा नै बन्यो ।

दशैं पर्वको छुट्टै महत्व रहेको छ । यसवर्ष सधैंजसरी दशैँ पर्व मान्न देशविदेशमा रहेका नेपाली नागरिकहरू आ–आफ्नो परिवारसँग भेटघाट गर्न घर फर्किए । पारिवारिक मिलनको यस्तो संयोग अधिकांश मासिनका लागि सुखद् क्षणका रूपमा रहृयो भने केहीका लागि दुःखद् पनि बन्यो । सानातिन दुर्घटना सयौंको संख्यामा भए भने केही ठूला दुर्घटनाहरू हुनपुगे । दशैँको रमाइलोमा त्यसरी ज्यान गुमाउनेहरूको परिवारका लागि शोकमा परिणत भयो । अत्यधिक यात्रुको भार, उछिनाउछिन, चालकहरूको लापरबाही, थन्क्याएर राखेका पुराना र थोत्रा गाडीलाई प्रयोग गरेर यात्री ओसार्ने काम गर्नाले यस दशैँमा सधैं जसरी दुर्घटना भएका हुन् भन्न सकिन्छ । अहिले दुर्घटना मौसमी कारणले हुन पुग्यो । पानी अझैसम्म परिरहेको छ । जसले गर्दा यातायातका साधन दुर्घटनामा पर्नेबाहेक दशैँमा माइत–मावल, ससुराली जानेहरूसमेत खोलापाहिरोमा परेका समाचार बाहिर आए । यातायातलाई प्रशासनले नियमन गर्न सकेन सधैंझैँ दशैँ सबैको कमाउने मौका हो भन्ने भावनाले प्रहरी प्रशासनले आँखा चिम्लिदियो जसले गर्दा दुर्घटनाको संख्या बढ्न गयो । केही नेपालीका लागि दशैँ दशा बन्नपुग्यो भने अरूका लागि महँगी बढ्नाले खल्लो बन्यो । गरिबहरूका लागि त दशैँ सधैं महादशा नै बन्ने गरेको छ त्यो नियति यसपटक पनि नदोहोरिइ रहन सकेन । अब भने सडक सुधार, सवारी व्यवस्थापन र मंहगी नियन्त्रणमा सम्बन्धित निकायको ध्यान पुगोस् । कसैको चाडपर्व कुनै वर्ष खल्लो नबनोस् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  १०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update