Shittalpati
वर्षा सक्रिय : सतर्कता अपनाऔं

आइतबार साँझादेखि पाल्पा लगायत देशका अधिकाँश ठाउँहरुमा निरन्तर वर्षा भइरहेको छ । अविरल वर्षाका कारण ठाउँ–ठाउँमा बाढी, पहिरोका घटनाहरु बाहिर आउन थालेका छन् । बंगालको खाँडी तथा भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले आगामी तीन दिन भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा पुनः सक्रिय भएकाले नदीको बहावले सतर्कता तह पार गर्न सक्ने भएकाले नदी किनारका वस्तीहरुमा पूर्वतयारी अपनाउन आह्वान गरिएको छ । वर्षा सक्रिय रहेकाले वर्षा हुने क्रम निरन्तर जस्तै छ । नदी, खोला र खहरेमा बाढी बढेकाले त्यसबाट हुने जनधनको क्षति कम गर्न र सतर्क रहन जरुरी छ । यतिबेला दशै मनाएर गन्तव्यतर्फ लाग्नेहरुको भिड समेत बढेको छ । वर्षाका कारण कतिपयहरु गन्तव्यमा पुग्न सकिरहेका छैनन् । निरन्तर वर्षा भएकाले यस्तो अवस्थामा यात्रा गर्दा बढी संयमित हुनुपर्दछ ।

मनसुन सकिएर परेको पानी जमिनले नै सोस्ने भएकाले पानी परेका ठाउँमा पहिरो जान सक्ने भएकाले सचेत हुन जरुरी छ । पश्चिमी उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना छ । बंगालको खाडी र मध्य भारतमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको नेपालमा संयुक्त प्रभाव रहेको छ । बुधबारसम्म नै पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ जनाइएको छ । केही नदी तथा खोलामा आकस्मिक बहावको जोखिम रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । निरन्तर बर्षाका कारण नेपालका अधिकांस स्थानको जनजीवन प्रभावित समेत बनेको छ । हरेक वर्ष मानिसले यि र यस्ता प्राकृतिक प्रकोपसँग पैँठेजरी खेल्दै आएको छ । धेरैको प्राकृतिक प्रकोपका कारण ज्यान गएको छ भने कतिको घरबार नै गुमेको छ । प्रकोप बाजा बजाएर आउँदैन, कुनै स्थान र क्षेत्र तोकेर आउँदैन । तर यसतर्फ पूर्व सतर्कता अपनाउन सकियो भने केही हदसम्म बच्न र बचाउन भने सकिन्छ । तसर्थ सबैले उच्च सतर्कता अपनाउन जरुरी छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update