Shittalpati
हुलाक दिवसको सन्दर्भ

आज विश्व हुलाक दिवस । हरेक वर्षको अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइने गरिन्छ । सन् १८७४ मा जापानको टोकियोमा अन्तर्राष्ट्रिय हुलाक संघको गठन भएको सम्झनामा सन् १९६९ बाट विश्व हुलाक दिवस मनाउन शुरु गरिएको हो । सञ्चारको प्रारुपको शुरुवात हुलाकबाट शुरुभएको हो । मुग्लान अथवा शहर गएका परिवारका सदस्यहरुले घरमा र घरकाले उनिहरुसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे । हुलाकी अथवा हलकाराहरुको सम्मान गाउँमा बेग्लै हुन्थ्यो ।

धेरैपरसम्म चिठी र खबर पूर्‍याउन धेरै जना हुलाकीहरुले आफ्नो जीवनकाल नै विताएका छन् । आज उनिहरुको सम्झना गर्ने दिन पनि हो । गाउँघरमा राती बस्दा हुलाकीहरुलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनिहरु त्यतिबेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरु नै थिए । धेरैजसो मुलुकहरुले आफ्नो हुलाक सेवालाई आधुनिकीरण गरी जनतालाई छिटो र छरितो हुलाक सेवा प्रदान गरिरहेका छन् । तर कमजोर सरकारी संयन्त्रका कारण हुलाक सेवाप्रति आमजनताको विश्वास घटेर गएको छ । प्रविधि र समयको माग अनुसार चल्न नसक्दा नेपालको हुलाक सेवाप्रति सर्वसाधारणको आकर्षण घट्दो छ । विश्वमा हुलाकले उच्चस्तरीय सेवा प्रदान गरे पनि नेपालमा आवश्यकतानुसार चल्न नसक्दा सेवा प्रभावकारी हुन नसकेको हो । अहिले हुलाकको काम सरकारी कागजातहरु ओसारपसार गर्ने र केही कुरियर सेवा दिनुमा सीमित बनेको छ । चिठी पत्र आदान प्रदान गर्न भने त्यति हुलाकको प्रयोग गरिएको छैन तर अन्य सरकारी कगाजातहरु भने अझै हुलाकमार्फत नै हुने गर्दछ । इमेल इन्टरनेट र मोबाइल सेवाको कारण हुलाकमार्फत चिठीपत्र पठाउने चलन घटेपनि सरसामान पठाउने क्रम भने कायमै छ । नेपाल सरकारले हुलाक सेवालाई समयानुसार परिस्कृत गर्न नसक्दा हुलाकबाट प्रदान गरिने सेवा थप चुनौतिपूर्ण बन्दै गएको छ । हुलाक दिवसको अवसरमा सरकारले नेपालको हुलाक सेवालाई चुनौतिको रुपमा नलिई समय सापेक्ष परिवर्तन गर्न सक्नु पर्दछ ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update