Shittalpati
विपन्न बस्तीमा पाल्पाका रेडक्रसकर्मी

कृष्ण पोखरेल
पाल्पा, विपन्न बस्ती सफाइमा पाल्पाका रेडक्रसकर्मीहरु खटिएका छन् । स्वच्छ, सफा, सुन्दर बस्ती बनाउने अभियानमा यहाँका रेडक्रसकर्मीहरु लागिपरेका हुन् ।
खास गरी विपन्न बस्ती सफाइमा उनीहरु लागेका छन् । विपन्न बस्तीका नागरिकहरुलाई सुखी, खुसी र निरोगी बनाउने उद्देश्यले रेडक्रसकर्मीहरु पाल्पाका गाउँ–गाउँमा खटिएका हुन् । स्वच्छ सफा खानेपानीको व्यवस्था नभएका गाउँमा स्वच्छ खानेपानीको व्यवस्था गर्दै रेडक्रसकर्मीहरु गाउँ–गाउँमा पुग्ने गरेका छन् । गाउँमा न्यून आयश्रोत भएका, गरिव, अशिक्षित, दलित र जनजाती परिवारहरुको उत्थानमा रेडक्रसकर्मीहरु सहयोगी बनेका छन् । पाल्पाको दोभान र कचल गाउँका विभिन्न टोल टोलहरुमा पुगेर विगत दुई बर्ष देखी यहाँका रेडक्रसकर्मीहरु सरसफाईदेखी जनचेतननाको काममा परिचालित भएका छन् । अष्ट्रियन रेडक्रसको आर्थिक सहयोग, केन्द्र रेडक्रसको समन्वय र जिल्ला रेडक्रस पाल्पाको व्यवस्थापनमा तिनाउ गाउँपालिका –१ कचल र वडा नंं २ दोभानका १ हजार ६ सय ८० घरपरिवारमा समावेशी खानेपानी, सरसफाई तथा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको नेपाल रेडक्रस सोसाईटी पाल्पाका वरिष्ठ कार्यक्रम अधिकृत बाबुराम कार्कीले बताए । स्वास्थ्य सम्बन्धी कार्यक्रम पर्चा पम्पलेट बोकेर रेडक्रसकर्मीहरु दोभान र कचलको घर–घरमा पुगेका छन् । दुबै गाउँको खानेपानी सुविधा नभएका १ सय ८० घरपरिवारमा एक घर एक धारा निर्माण गरी वितरण भएको छ ।


खोलाको पानीमा निर्भर भएका दोभान र कचलका गरिव जनताहरु घर–घरमा निःशुल्क धारा आएपछि खुसी भएका छन् । गृहिणीहरुको गाग्रीबाट पानी बोकेर खानुपर्ने बाध्यता हटेको स्थानीय माया कुमालले बताईन् । उनले भनिन् ‘घरमै पानी आएपछि अहिले पानी बोक्ने समयमा घरधन्दा देखी खेतबारीमा काम गर्न पाएका छौं ।’ स्वास्थ्यको स–साना कुराहरुको लापरवाहीबाट नै स्वास्थ्य खराब हुँदै जाने भएकाले स्वच्छ खानेपानी, सफा शौचालय, जुठा तथा फोहोर भाँडाकुडा माझ्ने तथा सुकाउने तरीका र स्थानको विषयमा रेडक्रसकर्मीहरुले सहयोग गरेको रेडक्रस पाल्पाका सुपरभाईजर बलबहादुर सिंह ठकुरीले बताए ।
रेडक्रसकर्मीले घर–घरमा मात्र होईन बालबालिकाहरुलाई लक्षित गरी विद्यालयहरुमा पनि सफा पानी र शौचालयको निर्माण गरेका छन् । घर–घरमा निर्माण भएका शौचालयको प्रयोग, शौचालय प्रयोगपछी सावुनपानीले मिची–मिची हातधुने तरिकाले गाउँ नै पूर्ण सरसफाई उन्मुख भएको छ । शौचालयको सही प्रयोग र नियमित सावुनपानीले हातधुने अभियानकै कारण पछिल्लो दुई बर्षयता झाडापखालाजन्य रोगहरुमा कमी आएको तिनाउ गाउँपालिका दोभान नुवाकोटकी हरिकला कुमालले बताईन् । शौचालय नभएका गरिव परिवारमा शौचालय निर्माणदेखी मर्मत सम्भारसम्मको सहयोग रेडक्रसकर्मीले गरेका छन् ।


रेडक्रसकर्मीहरुले परियोजनामार्फत सरसफाई मात्र होइन अति न्यून आम्दानी भएका घरपरिवारको छनौट गरी आम्दानीका श्रोतहरुको व्यवस्थापन समेत गरेका छन् । परियोजनाले १६ घरपरिवारमा बंगुर, ७ घरपरिवारमा बाख्रा, ३ घर परिवारमा स्थानीय जातका कुखुरा, युवती तथा महिलाको लागि सिलाई कटाई तथा श्रृङ्गार पसल सञ्चालनको लागि सहयोग गरेको छ । परियोजना सञ्चालनसँगै कोरोना सक्रमणले कुनै गाउँ घरपरिवार अछुतो नरहेको अवस्थामा जनचेतना, माईकिङ्ग, प्रर्चा प्लेटसँगै माक्स, सेनिटाईजर, फोहोर व्यबस्थापनका लागि बाल्टी वितरण गरी कोभिड नियन्त्रणमा समेत रेडक्रसकर्मी जुटेका छन् । कोरोनाका कारण कम आम्दानी भएका गरिव, जनजाती तथा दलित परिवारका दीर्घरोगीहरुको औषधी तथा पौष्टिक आहारको खरिदका लागि परियोजनाले दुई/दुई हजार रुपैयाँ नगद सहयोग गरेको छ ।
बिमा नभएका, अस्पतालको विरामी कार्डको आधारमा ५० बर्ष उमेर पार गरेका दीर्घरोगीहरुलाई परियोजनाले औषधी खरिदको लागि रकम सहयोग गरेको हो । कचल र दोभानका २ सय दीर्घरोगीहरुलाई दुई हजारका दरले औषधी खरिदको लागि रकम वितरण गरिएको रेडक्रस पाल्पाका लेखापाल सुवास तामाङले बताए । रेडक्रस पाल्पाले विभिन्न अस्पताल, सामुदायिक अस्पताल तथा गाउँघर क्लिनिक तथा स्वास्थ्य चौकीहरुमा माक्स, सेनिटाईजर, पञ्जा, पिपिई सेट, ज्वरो नाप्ने थर्माेमिटर, अक्सिजन प्लस लगायतका स्वास्थ्य सामग्रीहरु सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update