Shittalpati
सधैं पिताको सम्मान गरौं

भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसी नेपाली समाजमा बाबुको मुख हेर्ने पर्वका रूपमा मनाइन्छ । हुन त हरेक आँैसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ । आफूलाई जन्म दिएर हुर्काएर, पढाएर सक्षम पार्ने आमाबाबुलाई देवता सम्झेर श्रद्धा भक्तिपूर्वक मान्नु र पूज्नु सम्पूर्ण छोराछोरीको मुख्य कर्तव्य हो । देवताभन्दा पनि ठूला आफ्ना मातापिताको आदर्श, मूल्य र मान्यताअनुरूप हरेक वर्ष बाबुको मुख हेर्ने दिन रहन्छ ।

यस दिन आफूलाई जन्म दिने बाबुलाई विभिन्न थरिका मिठाई र फलफूल खुवाई मान्ने गरिन्छ । पितालाई अरू समयमा वास्ता नगर्ने सन्तानहरू पनि यस दिन मीठा–मीठा खानेकुरा तथा कपडा लिएर बाबुको मुख हेर्न ओइरिन्छन् । यसलाई सकारात्मक रुपमा लिए पनि एक दिन मात्र गरिएको सम्मानले पिताप्रतिको सच्चा सम्मान भने हुन सक्दैन । पिताको सेवा र सम्मान गर्दा जतिको पुण्य कुनै यज्ञबाट सम्भव छैन । बाबुको सम्मान र सेवा गर्दा आफू पनि लोकबाटै सम्मानित भइने र भविष्यमा आफूले पनि आफ्ना सन्तानबाट त्यस्तै सेवा–सम्मान पाइन्छ भन्ने कुरा कुनै पनि सन्तानले विर्सनु हुँदैन । पिता टाढा–टाढा रहनेका लागि भेटघाट गर्ने वा भेटेर सम्मान दर्शाउने दिनका रूपमा यस दिनको महत्व नभएको होइन । तर बाबुको मुख हेर्ने दिन पश्चिमा समाजमा ‘फादर्स डे’ जस्तै दिनको रूपमा विकसित भइरहेको छ । उपभोक्तावादी संस्कृति विकसित हुँदै गर्दा बुबाआमाले भनेको मान्नु नपर्ने, उमेर पुगेका छोराछोरी भिन्नै बस्ने, आमाबुबालाई वास्ता नगर्ने र वर्षको एक दिन सम्मान गरेको देखाउन खानेकुरा र लुगाफाटा लिएर भेट्न जाने परम्परा विकसित भइरहेको छ । यो आफैमा गलत र दुखद् हो । यसो हुनु हुँदैन । हाम्रै समाजमा बाबुको मुख हेर्न वर्षको एक दिन वृद्धाश्रममा पुग्ने संस्कृति विकसित भइरहेको छ । सनातन संस्कृति अवलम्बन गर्ने हो भने पिता वर्ष दिनभरि नै पुजनीय हुन्छन् । दर्शनीय हुन्छन् । पिताले गरेको सानो गल्तीले उनको महिमा घट्दैन । जन्मदेखि लालनपालन गरेर व्यक्तिलाई यस अवस्थामा ल्याउनसम्म पिताको ठूलो भूमिका हुन्छ । सनातन मान्यताअनुसार एकदिन मुख हेरेर वा मीठा खानेकुरा खुवाएर सन्तानको कर्तव्य पूरा हुँदैन । जीवित हुँदा मातापिताको अनुकुलको कार्य गर्ने, आफ्नो क्षमताअनुसार सेवा गर्ने र मृत्युपछि पनि श्राद्ध आदि कार्य गरेर उनीहरूको सम्मान गर्नुपर्छ । यसो गर्न सके मात्र पिता प्रति सच्चा सम्मान गरेको ठहर छ । तसर्थ पितालाई वर्षको एक दिन होइन सधै सम्मान र आदरभाव प्रकट गरौं ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update