Shittalpati
कोरोना जोखिम कायमै

विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ । यस तथ्याङ्कलाई आधार मान्दा कोरोना जोखिम हटेको भन्ने आभास जनमानसमा परेको छ । यो हुनु स्वाभाविक नै हो । तर यसो भन्दैमा कोरोना जोखिम भने हटेको मान्न सकिदैन । विज्ञहरुले तेसो लहरको कोभिड आउन सक्ने सम्भावनाको संकेत गर्नु र पूर्णरुपमा खोप लगाएकाहरुमा समेत कोरोना संक्रमण देखिदै जानुले जोखिम कायमै रहेको भन्न सक्ने आधारहरु रहेका छन् ।


हाल सरकारले लकडाउन धेरै ठाउँहरुमा हटाएको छ । यसबीचमा धेरै मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । पहिलो मात्रा भए पनि लगाउनेहरूको संख्या अझै धेरै छ । अर्कातिर कोरोना केही होइन त्यसभन्दा आफ्ना दैनिकी र काम तथा मामको जोहो गर्नुपर्ने बाध्यता नै ठूलो हो भन्ने मानसिकताले मानिसहरू सहज रूपमा बाहिर निस्केका छन् । अब त सरकारले नै लकडाउन हटाउदै गएको छ । कुनै काम र ठाउँमा जान अप्ठ्यारो नपर्ने भएको छ तर यसो भन्दैमा सन्त्रास छैन भन्ने होइन । दैनिक दुई हजारको हाराहारीमा संक्रमितहरू पाइनु र २० जनाभन्दा बढीको मृत्यु हुनुलाई सामान्य मान्नु हुँदैन । संक्रमणको जोखिम कायम भए पनि आमनागरिकले हेलचेक्रयाइँ गरेको पाइएको छ । चिकित्सकले मास्कको समुचित प्रयोग, भौतिक दूरी कायम र व्यक्तिगत सरसफाइलाई विशेष ख्याल गर्नुपर्ने बताउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयले समेत संक्रमितको संख्या कम भए पनि जोखिम कायमै रहेकाले सचेत रहन आग्रह गर्दै आएको छ । संक्रमणबाट जोगिन स्वयं व्यक्ति सचेत हुनुपर्ने छ । कोरोनाबाट बच्ने सबैभन्दा मुख्य उपाय भनेकै आत्मानुशासन हो । अहिले विभिन्न स्थानमा दिनहुँ भेला, प्रदर्शन हुन थालेका छन् । यस्तै, विद्यालय पनि खुलिसकेका छन् । तर, अधिकांशले जनस्वास्थ्यका मापदण्ड पालना गरेका छैनन् । यसो गर्नु भनेको जोखिमलाई थप बढाउनु हो । तसर्थ कोभिडबाट बच्न यसतर्फ सबैले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update