Shittalpati
विदेश पलायन रोकौं

कोरोना महामारीका बीच पनि धेरै युवाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् । कोभिडको पहिलो वर्ष भन्दा अहिले धेरै युवाहरु वैदेशिक रोजगारमा जाने क्रममा बढेको छ । महामारीका कारण रोजगार गुमाएका युवाहरु पुनः रोजिरोटीका लागि विदेशिन बाध्य भएका छन् । वैदेशिक रोजगारीका निम्ति भन्दै हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको उर्लंदो भीडले त्यस कुरालाई पुष्टि गरिरहेको छ ।


त्यसरी जान खोज्ने युवाहरु भने अधिकांश खाडी मुलुकमा रोजगारीका लागि उड्नेहरु हुन् । कोरोना महामारीका कारण वैदेशिक रोजगारी करिब दुई वर्षयता निकै प्रभावित रहँदै आएको छ । कोरोनाको दोस्रो लहरको वृद्धिसँगै रोकिएका अन्तर्राष्ट्रिय उडानहरु हालैका दिनमा पुनः सुरू हुनथालेपछि वैदेशिक रोजगारीमा जानेहरुको चाप सोचेको भन्दा बढी छ । हाल वैदेशिक रोजगारदाता कम्पनीहरुले कोरोनाविरूद्धको खोप लगाएको प्रमाण देखाउने हो भने त्यहाँ काम गर्न अनुमति दिइने भनेपछि कोरोना खोप लगाएका युवाहरुको विदेश जानेक्रम ह्वात्तै बढ्न पुगेको छ । यद्यपि, त्यसरी विदेश जानेहरुद्वारा जनस्वास्थ्यको ख्याल गरिएको भने पाइँदैन । कतिपय देशहरुले अझै पनि नेपालका तर्फबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानलाई रोक लगाए पनि नेपाल सरकारले भने उडानसँगै श्रम स्वीकृति खुला राखेको छ, जसको प्रभावस्वरुप चालू आवमा वैदेशिक रोजगारमा जानेहरुको संख्यामा उल्लेख्यरुपमा वृद्धि भैरहेको छ । स्वदेशमै रोजगारी नभएपछि नेपाली युवाहरु विदेशिनु परेको तितो यथार्थ हो । देश विकास गर्ने जनशक्ति भनेको जोश, जाँगर र नयाँ सोच बोकेका युवा नै हुन् । तर यही वर्ग अहिले देशमा अकल्पनीयरूपले घट्दै गएको छ । यसो हुनु अत्यन्त दुखद् हो । सरकारले उर्जावान युवा शक्तिलाई स्वदेशमै रोक्ने वातावरण सिर्जना गर्नु पर्छ । हरेक वर्ष ठूलो संख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानुजस्तै हो । निश्चय नै यसरी युवा पलायनको भयावह अवस्था आउनुमा मुख्य जिम्मेवार– देशमा विगतमा हुने गरेका बन्द, हड्ताल, लोडसेडिङ तथा उच्च शिक्षा हासिल गरेकाहरूलाई देशमै उचित रोजगारी नपाउने अवस्था हो । जसमा अहिले थोरै सुधार देखिए पनि धेरैजसो समस्या हटेका छैनन् । यसरी युवा विदेश जाने बढ्दो क्रम रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र सामाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था गर्नु आवश्यक छ ।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update