Shittalpati
काँग्रेसमा युवा नेतृत्व आवश्यक

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि शुक्रबार करिव ४५ जिल्लामा मात्र अधिवेशन भयो । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै २१ जिल्लाको सदस्यता टुंगो लाग्न सकेको छैन । त्यसैले सबै जिल्लामा वडा अधिवेशन शुक्रबार नै हुन सकेन । काँग्रेसले बाँकी जिल्लाका वडाहरुमा भदौ २६ अघि अधिवेशन सम्पन्न गरिसक्नुपर्ने छ । तल्लो तहका अधिवेशनलाई महत्वका साथ हेरिएको छ । काँग्रेसको आगामी नेतृत्व कस्तो बनाउने भन्ने कुरा तल्लो तहबाट आउने नेतृत्वमा निर्भर रहन्छ । त्यसैले पनि वडा अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको हो ।

अहिले आगामी नीतिभन्दा पनि नेतृत्वको बहसले प्राथमिकता पाएको छ । अन्य दलमा जस्तै काँग्रेसमा पनि गुट, उपगुटहरू छन् । त्यस्ता समूहहरू पार्टीको आगामी नीति, विधि र विचारका विषयमा भन्दा पनि नेतृत्वका विषयमा बढी केन्द्रित भएका देखिन्छन् । यो स्वाभाविक हो । संगठनलाई बलियो र मजबुद बनाउनका लागि युवा नेतृत्व अहिलेको आवश्यकता हो । मुलुकले सामना गरेको मानवीय र आर्थिक संकट, संवैधानिक संकट र वर्तमान संविधानको कार्यान्वयनसँगै जनअपेक्षालाई समयमै सम्बोधन गर्न अबको काँग्रेसमा नेतृत्व चलायमान हुनु अति आवश्यक छ । त्यसको लागि युवा नेतृत्वबाट मात्र सम्भव छ । ८ लाख भन्दा बढी क्रियाशील सदस्यमध्ये हस्तक्षेपकारी भूमिकामा यस पटक युवा पुस्तामा २५ देखि ४० वर्ष उमेर समूहका सदस्य सबैभन्दा बढी क्रियाशील रहेका छन् । जसले गर्दा यस पटकको महाधिवेशनमा युवा पुस्ताका नेताको पदाधिकारी सहित केन्द्रीय कार्यसमितिमा बाहुल्यता हुन सक्ने अनुमान गर्न सकिन्छ । तर यसपालि गगन थापाले महामन्त्रीको उम्मेदवारका रूपमा आफूलाई अघि सारेका छन् । काँंग्रेसको यो पुस्ताले पार्टी सभापतिमै दाबी गर्नुपथ्र्यो । थापाबाहेक विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, गुरु घिमिरे, धनराज गुरुङजस्ता सक्षम युवा पार्टीमा छन् । पार्टीलाई थप सशक्त र बलियो बनाएर लैजानका लागि अब उनीहरु नेतृत्वमा आउनै पर्छ । तसर्थ अहिलेको आवश्यकतालाई महसुस गरेर काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउन आवश्यक छ ।

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update