Shittalpati
उद्यमी बन्न होडबाजी

रामचन्द्र रायमाझी /कौरव खत्री
गुल्मी, जिल्लामा पछिल्लो समय उद्यमी बन्ने होडबाजी नै चलेको छ । उद्यमी बन्न चाहनेहरुका लागि स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरुले आवश्यक ज्ञान, सिप र प्रोत्साहन गर्न थालेपछि यहाँका नागरिकहरु उद्यमी बन्ने होडमा लागेका हुन् ।


जिल्लाको मुसिकोट नगरपालिका –१ की दुर्गा थापालाई जिविकोपार्जनका लागि श्रीमानलाई विदेश नै पठाउनुपर्छ भन्ने कहिले लागेन । बरु श्रीमानले विदेश जाने मनसाय बनाउँदा पनि उनले कयौँपल्ट रोकिन् । स्वदेशमै केही गरेर परिवारसगैं रमाउने उनको सपना तब पुरा भयो जब थापा दम्पती कृषि पेशामा लागे । बजार, प्राविधिक र सामाजिक कठिनाईका कारण उनीहरुले आफ्नो जन्मथलो छाडेर वडा नं ७ वामीटक्सारमा भाडामा जमिन लिएर कृषि व्यवसाय सुरु गरे । निरन्तर कृषि व्यवसायमा लागेका थापा दम्पती अन्ततः उत्कृष्ट उद्यमी बन्न सफल भएका छन् । उनीहरुको कृषि कर्मको मूल्याङ्कन गरी मुसिकोट नगरपालिका र दायित्व संस्थाले उत्कृष्ट उद्यमीका रुपमा छनौट गरे । कृषि कर्म प्रतिको सम्मान देखेर उनीहरु थप उत्साहित भएका छन् । लामो समय खाडीमा विताएका मुसिकोट १ कै देव घर्ती हिजो आज स्वदेशमै कृषि व्यवसायमा लागेका छन् । झण्डै ६ वर्ष खाडी मुलुकमा बिताएका उनी परिश्रम अनुसारको पैसा नभएपछि स्वदेशमै केही गर्ने अठोट लिएर गाउँ फर्किए । तर विदेशको सीप र श्रम नेपालमा उपयोग गर्न उनीसगँ प्रसस्त रकम थिएन । सानो लगानीबाट आफुसँग रहेको सीप खर्चेरे उनले २०७४ सालबाट कृषि उद्यम सुरु गरे । पछि व्यवसाय विस्तार गर्दै कुखुरा पालन, माछापालन, तरकारी खेती गर्दै उनले फ्रेस हाउस र रेष्टुरेण्टसम्म सञ्चालन गरे । आफैले आर्जन गरेको व्यवहारिक सीप,अनुभव र अनुमानका आधारमा गरेको कृषिले उनलाई सफल पनि बनायो । उनलाई नगर सरकार र दायित्व संस्थाले उत्कृष्ट उद्यमीका रुपमा घोषण समेत ग¥यो । नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित नगरप्रमुख दायित्व ग्रामिण उद्यम कार्यक्रममार्फत सीप, दक्षता, नेतृत्व, व्यवसायिक योजना, जोखिम लगानी लगायतका विषयमा थुप्रै कुरा सिक्ने अवसर पाएकाले व्यवसायमा लाग्न थप प्रेरणा मिलेको घर्ती बताउँछन् । उनले अहिले गरेको भन्दा दोब्बर लगानी र व्यवसाय विस्तार गर्ने सोँच समेत बनाएका छन् ।
थापा र घर्ती मात्र होइनन् अहिले यहाँका अधिकांस कृषकहरु उद्यमी बन्ने सोंचमा लागेका छन् । परम्परागत रुपमा कृषि व्यवसाय गर्दै आएका कृषकहरु स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुको प्रेरणा र सम्मानबाट उद्यमी बन्ने होडमा लागेका हुन् । नगरपालिका र दायित्वमार्फत सञ्चालित कार्यक्रमले आफु जस्ता ग्रामीण क्षेत्रका कृषकहरुको मनोबल, ज्ञान बढाउने, बाटो देखाउने र जोखिम मोल्न सिकाएको ति उद्यमीहरुको भनाई छ । ‘हामीले गरेको कृषि केवल अरुको देखासिकी मात्रै हो, सफल कृषक उद्यमी बन्नका लागि साँच्चिकै हामीले जान्नुपर्ने कुरा धेरै रहेछन्, ती सबैकुरा सिक्ने अवसर दायित्व मार्फत मिल्यो’ घर्ती भन्छन्, ‘यस्ता अझै थुप्रै कार्यक्रम स्थानीय तहले सञ्चालन गर्नुपर्छ तबमात्रै युवा जनशक्ति विदेश पलायन हुने क्रम रोकिनेछ र उद्यमशील राष्ट्र निर्माणको परिकल्पना साकार हुनेछ ।’ नगरपालिकाले दायित्वसंस्थासँगको सहकार्यमा नगरप्रमुख दायित्व ग्रामिण उद्यम द्रुतीकरण कार्यक्रमको साझेदारीमा नगर भित्रका १ सय २५ उद्यमी छनौट गरी उत्कृष्ट ४०, उत्कृष्ट २०, उत्कृष्ट १० हुँदै उत्कृष्ट २ उद्यमी घोषणा गरेको छ । उत्कृष्ट २ जनाले जनही १/१ लाख र उत्कृष्ट १० जना जनही ५०/५० हजार नगद सहित पुरस्कृत भएका छन् । कृषिलाई उद्योगसँग जोड्दै अनुदानमा आधारित नभई प्रतिष्प्रर्धामा आधारित कार्यक्रम अगाडि बढाउने योजनाका साथ दायित्वसँग सहकार्य गरेर उत्कृष्ट व्यवसायीहरुको छनोट गर्ने गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । ‘अनुदानमा आधारित कार्यक्रमले उद्यमीलाई केवल अनुदान केन्द्रीत योजना बनाउने मात्रै देखियो सापकोटाले भने, तर प्रतिष्प्रर्धाको माध्यमबाट आएका उद्यमीहरु स्वावलम्बन, सीप र दक्षतासगैं आर्थिक पक्ष व्यवस्थापनका पाटोमा पनि धेरै कुरा सिक्नुभएको छ ।’ ग्रामीण क्षेत्रमा उद्यम गरिरहेका कृषकहरुको सीप, सोँच र अनुभवलाई प्रोत्साहन गरी भनसुन र पहुँचवालाहरुलाई मात्रै अनुदान दिने परम्परालाई निरुत्साहित गर्न यो कार्यक्रमले महत्वपूर्ण टेवा पुर्‍याएको दायित्वका लुम्बिनी प्रदेश सयोंजक कमल थापाले बताए । मुसिकोट नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खिमानन्द भुषालले उद्यमीहरुमा आत्मबल बढाउनुका साथै अनुदानमा निर्भर रहने परम्पराको अन्त्य गर्दै वास्तविक उद्यमीहरुको पहिचान र प्रोत्साहन गर्न उत्कृष्ट उद्यमी छनौट कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याएको बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update