Shittalpati
मनकारी अध्यक्ष :  विपन्न बालबालिकालाई न्यानो कपडा

रामचन्द्र रायमाझी
पाल्पा, स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरु निर्वाचनका बेला जनतासँग गरेका बाचाहरु फुलेर आफ्नै सुखसयलमा रमाउन तल्लिन छन् । जनप्रतिनिधि जनता समक्ष गरेका बाचा पूरा गर्नुको सट्टा आफ्ना परिवार र आफन्तको भरणपोषणमा तल्लिन भइरहेका बेला जिल्लाको एक गाउँपालिकाका अध्यक्ष भने व्यक्तिगत खर्च गरेरै सामाजिक काममा सक्रिय देखिन्छन् । कतिपय जनप्रतिनिधिहरु नातागोता र आफन्तलाई जागिर खुवाउने क्रियाकलापले आफ्नै मतदातामाझ आलोचित रहँदा बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्याल भने जनताको मन जित्ने गरी अगाडि बढेका छन् । उनले विगतमा आफुले पाउँदै आएको तलव गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा समेत आर्थिक सहयोग गर्दै आएका छन् ।

अध्यक्ष बस्यालले निर्वाचन भए लगत्तै सरकारले उपलब्ध गराएको सेवा सुविधालाई विपन्न, असाहय वर्गको क्षेत्रमा खर्च गर्ने प्रण गरेका थिए । सोही अनुरुप उनले व्यक्तिगत र गाउँपालिकाको तर्फबाट सामाजिक काम गर्दै आएका छन् । बस्यालले पहिलो वर्षको तलब गाउँपालिकाका भित्र रहेका विपन्न वर्गका विद्यार्थीहरु, बोटे समुदायका गरिब, असाहयहरुलाई न्यानो कपडा, लामो समयसम्म आर्थिक अभावका कारण उपचार नपाई मृत्युसँग लडिरहेका असाहय विरामीहरुका लागि खर्च गरेका थिए । जिल्लाकै नमूना गाउँपालिकाको रुपमा परिचय गराउन सफल बस्यालले व्यक्तिगत रुपमै दिन, दुःखी असाहय र विपन्न वर्गको उद्यानका लागि क्रियाशील रहदै आएका छन् । उनले सोमबार व्यक्तिगत खर्चमा बगनासकाली गाउँपालिका ६ गुंगा माविमा अध्ययनरत बालबालिकाकाहरुलाई न्यानो कपडा वितरण गरेका छन् । अध्यक्ष बस्यालले बालबालिकाहरु चिसोका कारण विद्यालय अनुपस्थित हुने भएकाले उनीहरुलाई विद्यालय शिक्षामा नियमित गराउन व्यक्तिगत रुपमा न्यानो कपडा सहयोग गरेका हुन् ।

उनले विद्यालयमै पुगेर ५७ जना विपन्न बालबालिकाहरुलाई एक कार्यक्रमका बीच स्वीटर वितरण गरेका छन् । कपडा वितरण गर्दै गाउँपालिकाका अध्यक्ष बस्यालले गाउँपालिकाको विकासका र विपन्न परिवारका बालबालिकाहरुलाई विद्यालय शिक्षामा समाहित गराउन आफुले व्यक्तिगत रुपमा सहयोग गर्दै आएको बताए । अध्यक्ष बस्याल र सामाजिक व्यक्तित्व स्व.कमल कृष्ण कार्कीले विगत २ वर्ष अघि जिल्लाका विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण अभियान सञ्चालन गरेका थिए । कार्कीको निधन पछि अध्यक्ष बस्यालले अभियानलाई अहिले पनि निरन्तरता दिएका हुन् । निर्वाचनका बेला जनतासँग गरेका बाचालाई आफुले आत्मसाथ गरेर काम गरेको अध्यक्ष बस्यालले बताए । न्यानो कपडा वितरण कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष लक्ष्मीप्रसाद अधिकारीले गाउँपालिकाका अध्यक्षले विपन्न वर्गको क्षेत्रमा देखाएको सहयोग र सद्भाव अनुकरणीय रहेको बताए । उनले गाउँपालिकालाई बालमैत्री गाउँपालिका घोषणा गर्ने अभियान अन्तिम चरणमा पुगेको भन्दै विद्यार्थी, शिक्षक र अभिभावकलाई बालमैत्री अभियानमा साथ दिन आग्रह गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपेन्द्रप्रसाद खनालले चिसो कारण विपन्न वर्गका विद्यार्थीहरुलाई विद्यालय आउन समस्या भइरहेका बेला सामाजिक व्यक्तित्व तथा गाउँपालिकाका अध्यक्ष बस्यालले व्यक्तिगत रुपमा न्यानो कपडा सहयोग गरेको भन्दै धन्यवाद दिए । न्यानो कपडा पाएपछि बालबालिकाहरु खुसी भएका छन् ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २१:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update