Shittalpati
वृद्धवृद्धा र असल बुहारी सम्मान भुवन रायमाझी

पाल्पा (छहरा), जिल्लाको रिब्दीकोट गाउँपालिका ८ फेकका वृद्धवृद्धा र असल बुहारीलाई सम्मान गरिएको छ । वडा कार्यालय र दिवा सेवा केन्द्रको संयुक्त आयोजनामा वृद्धवृद्धा र असल बुहारीलाई सम्मान गरिएको हो । सम्मानका लागि सोमबार लौरो टेकेर वडा कार्यालय पुगेका ८० वर्षीय दिलबहादुर बगालेको चेहेरा सधाको दिन भन्दा उज्यालो देखिन्थ्यो ।

हातमा वडा कार्यालयले दिएको बलाङकेट लिर्दै बगालेले भने ‘स्थानीय सरकार आएको अनुभव भयो हामी जस्ता बुढाबुढीहरुको लागि यो भन्दा खुसीको दिन अरु चाहिदैन ।’ उनी जस्तै १६ जना वृद्धवृद्धा, एकल महिला र असल बुहारीलाई सम्मान गरिएको थियो । जसमध्ये ४ जना असल बुहारी रहेका छन् । सम्मान कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिकाकी उपप्रमुख लक्ष्मी खनालले समाजका जेष्ठ नागरिकहरुबाट धेरै कुरा सिक्न बाँकी रहेको भन्दै उनीहरुलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिइन् ।

पछिल्लो समय समाजमा जेष्ठ नागरिक र एकल महिलाहरुलाई हेर्ने दृष्टिकोण विभेदकारी रहेकाले त्यस्तो विभेदकारी व्यवहारमा परिवर्तन ल्याउनुपर्ने उनले धारणा व्यक्त गरिन् । कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिषीराम अर्जेलले सरकारले नीति बनाएर जेष्ठ नागरिकहरुका लागि विभिन्न कार्यक्रम लिएको बताउँदै स्थानीय सरकारले पनि जेष्ठ नागरिकको योगदानको मूल्याङ्कन गरी स्वास्थ्य उपचार, मनोरञ्जन, भ्रमण लगायतका कार्यक्रमहरुलाई अगाडि बढाएको बताए ।

कार्यक्रममा परमानन्द बालवृद्ध कल्याण संघका पूर्वअध्यक्ष हिराधर आर्चाय, नेपाली काँग्रेसका कुलप्रसाद उपाध्य, नेकपाका चेतबहादुर उचाई, दिवासेवा केन्द्र फेकका प्रमुख ज्ञानबहादुर दर्लामी वडा सदस्य दानबहादुर कामी लगायतका वक्ताहरुले वडा कार्यालयले नौलो र उदारणीय काम गरेको भन्दै आगामी दिनमा समेत सेवामूखी काम गर्न आग्रह गरे । वडा अध्यक्ष नारायण लामटाङ्गेको अध्यक्षता, वडा सदस्य चक्रबहादुर कुवँरको स्वागत, वडा सचिव तिलबहादुर थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: सोमबार, पुस २१, २०७६  २०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update