जीवित प्राणी र वनस्पतिबीचको भिन्नता, किसिम एवं फरकपनलाई जैविक विविधता भनिन्छ । जैविक विविधताले जल, स्थल, समुद्र तथा सिमसारमा रहेका सबै जीवित प्राणी तथा वनस्पतिबीच पाइने फरकपन, प्रकार तथा तिनीहरूबीचको अन्तरसम्बन्ध एवं संयोजनसमेतलाई जनाउँछ । कुनै एक स्थानको वन क्षेत्रमा वनस्पति, पशुपन्छी र अन्य जीव रहेका हुन्छन् । यो जैविक विविधता हो । वास्तवमा भन्ने हो भने पृथ्वीमा भएको सुक्ष्म तथा स्थूल जीव अनि वनस्पतिको समष्टी रुपलाई नै जैविक विविधताको रुपमा लिइन्छ । 
जैविक विविधतालाई अणु वा अनुवंशको सुक्ष्मतम तहदेखि लिएर वृहत् पारिस्थितिक तहसम्म अध्ययन गर्न सकिन्छ । पृथ्वीका हरेक जैविक र अजैविक तत्वहरु एक आपसमा अन्तरसम्बन्धित हुन्छन् जसको चक्र प्रणालीबाट जीवको अस्तित्व सम्भव हुन्छ । कुनै पनि तत्व लोप भएर गयो भने त्यसको असर समग्र प्रणाली वा चक्रमा पर्न जान्छ जो दूरगामी हुन्छ । पछिल्लो समयमा मानवीय क्रियाकलापका कारण जैविक विविधता नाश हँुदै जाँदा यहि सनातन पारिस्थितिकीय चक्रमा असर पर्दैछ । जनसंख्या वृद्धिका कारण प्राकृतिक श्रोतको अत्यधिक दोहन तथा बासस्थानको विनास अनि बढ्दै गएको जलवायु परिवर्तन र विश्व उष्णीकरणका कारण जैविक विविधता संकटमा परिरहेको छ  । तर यसको संरक्षण तर्फ भने कसैको पनि चासो जान सकेको छैन । जैविक विविधताको संरक्षणका लागि रक्षाको हरेक वर्षको मे २२ मा अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइने गरिन्छ । आज पनि यो दिवस विश्व समुदायले मनाउदै छ । तर हरेक वर्ष यो दिवस मनाईने गरे पनि अहिलेसम्म जैविक विविधता संरक्षणमा भने कसैको पनि ध्यान गएको देखिदैन । दिवस औपचारिकतामा मात्र सिमित हुन पुगेको छ । मानवीय क्रियाकलापका कारण पृथ्वीबाट कैयन जीवजन्तुका वंश नै समाप्त भैसकेका छन् भने कुनै अति नै संकटापन्न अवस्थामा पुगिसकेको सन्दर्भमा भावी संकट टार्नको लागि अब मानव समुदायले जैविक विविधता संरक्षणमा ध्यान दिन जरुरी छ ।


                                        
                                        
                                        
                                        
                    
                    
                    