Shittalpati
तानसेनमा लागु औषध, बालश्रम र मानव बेचविखन मुक्त अभियान

कृष्ण पोखरेल

पाल्पा, तानसेनलाई लागु औषध सेवन, वालश्रम मुक्त र मानव बेचविखन मुक्त नगर बनाउने अभियान सुरु भएको छ । तानसेन नगरपालिका र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा अभियान सञ्चालन गरेको हो । भावी सन्ततीको भविष्य उज्वल बनाउन संयुक्त रुपमा यो अभियान शुरु गरिएको एक कार्यक्रमको आयोजना गरी तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले जानकारी दिए । उनले अभिभावकको व्यस्तताका कारण बालवालिकाहरु सानै उमेर देखी रक्सी चुरोट तथा गुटका हुँदै लागु पदार्थ सेवनमा परिणत भएको अवस्थालाई मध्यनजर गरी लागु औषधमुक्त नगर बनाउन यो अभियान सञ्चालन गरिएको बताए ।

विद्यालय वरीपरी रक्सी चुरोट विक्रि गर्न नपाईने र बजारको अन्य स्थानमा पनि गुटका सुर्ती भोला जस्ता वस्तु देखाएर विक्रि गर्न नपाईने, मदिराजन्य पदार्थ समेत देखाएर सजाएर राख्न नपाईने गरी विक्रि गर्नुपर्ने तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरभित्र बालश्रमिकको रुपमा कामदार राख्न नपाईने, राखेको पाईएमा कारवाही गर्ने, कुनै व्यक्ति बाध्यताबस बालश्रमिकको रुपमा रही नियमित पढेको छ,भने त्यस्तो व्यक्तिलाई तानसेन नगरपालिकाले कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने नगर प्रमुख शाहीले बताए । कार्यक्रममा नगर उप–प्रमुख लक्ष्मीदेवी पाठकले तानसेनलाई बालश्रममुक्त, लागुऔषध सेवन मुक्त र मानवबेचविखन मुक्त नगर बनाउन प्रहरी संगै नगरका सबै संघ संस्था परिचालन गरिने बताईन । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले यो अभियानमा प्रहरीले एक्लै विगत देखी काम गर्दै आएको भएपनि नगरपालिकाको सहयोगले सफलता पाउने बताए । जिल्लामा वालवालिकादेखि रक्सी, गाजा सेवनकर्ता रहेको भएपनि अहिलेसम्म कडा खालको लागु औषध सेवनकर्ता नभेटिएको प्रहरी उपरीक्षक जिसीले बताए । कार्यक्रममा प्रहरी निरीक्षक सुरज श्रेष्ठले यो अभियान विद्यालय, बालक्लव, युवा क्लव, आमा समूह, महिला समूह टोल विकास संस्था, उद्योगी व्यापारी, होटल व्यवसायी, कानुन व्यवसायी, शिक्षक विद्यार्थीहरुसँगको सहकार्यमा गरिने बताए । कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत भरत आचार्यले गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update