Shittalpati
माथागढीमा हाजिरी जवाफ र चित्रकला प्रतियोगिता

पाल्पा । जिल्लाको मथागढीमा गाउँपालिकामा हाजिरी जवाफ र चित्रकला प्रतियोगिता भएको छ । गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा अतिरिक्त क्रियाकलाप अन्तर्गत गाउँपालिकास्तरीय मावि हाजिरी जवाफ र आधारभूत तह चित्रकला प्रतियोगिता चिदी पानीमा भएको हो ।

सौभाग्य माविमा भएको हाजिरी जवाफ प्रतियोगितामा गाउँपालिका भित्रका १२ विद्यालयका ३६ जना र चित्रकला प्रतियोगितामा १७ विद्यालयका १७ जना विद्यार्थीले भाग लिएका थिए । जसमा हाजिरी जवाफ अन्तर्गत सातपोखरी माविका विद्यार्थी प्रथम, माउन्ट भ्याली ईङ्गलिस स्कूलका दोस्रा, सौभाग्य माविका तेस्रा र किसान माविका सान्त्वना भएका छन् । त्यस्तैगरी चित्रकला प्रतियोगितातर्फ सनराईज पब्लिक बोर्डिङ्गका विद्यार्थी पहिलो, माउन्ट भ्याली ईङ्गलिस स्कूलका दोस्रा, रत्न माविका तेस्रा र आदर्श आधारभूत विद्यालयका विद्यार्थी सान्त्वना भएका हुन् । विजयी प्रतियोगीहरुलाई गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले नगद, प्रमाण पत्र र ट्रफीले सम्मान गरेका थिए । पुरस्कार वितरण गर्दै अध्यक्ष थापाले विद्यार्थीहरुको आन्तरिक प्रतिभा प्रस्फुटन गर्न यस्ता खालका प्रतियोगिताहरुले महत्वपूर्ण टेवा पुग्ने बताए । उनले शैक्षिक गुणस्तर वृद्धि गरी व्यवहारिक र जीवनपयोगी शिक्षाका लागि गाउँपालिकाले विशेष योजना बनाएर अगाडि बढेको जानकारी गराए ।

कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, शिक्षक नारायणप्रसाद अधिकारी, शिक्षक महासंघ माथागढीका अध्यक्ष गिरीराज बेल्वासे, वडा सदस्य हिराबहादुर रेग्मी, कार्यपालिका सदस्य विद्या थापा, तारा रसाईली लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम १ का वडा अध्यक्ष शिवप्रसाद शर्माको अध्यक्षता, विद्यालयका प्रअ कृष्णप्रसाद खनालको स्वागत, सहायक प्रअ श्रीधरकुमार उपाध्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update