
पाल्पा । जिल्लाको माथागढी गाउँपालिका ३ सराईमा रहेको माउण्टभ्याली ई·लिस स्कूलमा गठित जुनियर रेडक्रस सर्कलले मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ ।
दुवै मृगौला फेल भई उपचार गराइरहेका माथागढी ३ सराईका २२ वर्षीय यमबहादुर कुमाललाई सर्कलले आर्थिक सहयोग गरेको हो । विद्यालयमा गठित सर्कलले विद्यार्थी र शिक्षकहरुबाट संकलन गरी मृगौला पीडित कुमालका लागि तीन हजार आर्थिक सहयोग गरेको छ । विगत एक वर्षदेखि दुवै मृगौलामा समस्या देखिएपछि कुमालले उपचार गर्दै आएका छन् । माण्डव्य क्याम्पस दमकडामा बीएड अध्ययन गर्दै आएका उनको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएपछि माउन्टभ्यालीका विद्यार्थीहरुले सर्कलमार्फत सहयोग गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रवन्ध निर्देशक अशेष भट्टराई, प्रिन्सिपल प्रेमराज खराल, सर्कलका अध्यक्ष करण आले, शिक्षक नायक विमल घिमिरे र सर्कलका सदस्यहरुको उपस्थितीमा उक्त रकम पीडित र उनको आमालाई हस्तान्तरण गरिएको थियो । आर्थिक अभावले उपचार गर्न समस्या भएपछि पीडित परिवारले आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् । मृगौला प्रयारोपण गर्न ठूलो रकम खर्च लाग्ने भएपछि उनीहरु समस्यामा परेका हुन् । विद्यार्थीहरुले गरेको सहयोगले उपचारका लागि ठूलो राहत मिलेको परिवारले जनाएको छ । म सेवा गर्छु भन्ने मूलमन्त्र लिई विद्यार्थीहरुद्वारा गठित सर्कल समाजसेवामा समेत सक्रिय रहँदै आएको विद्यालयका प्रवन्धक भट्टराईले बताए । उनका अनुसार समुदायमा आइपर्ने विपद् व्यवस्थापन लगायत समाज परिवर्तनका रचनात्मक कार्यहरूमा जुनियर तथा युवा रेडक्रसमा आवद्ध विद्यार्थी सक्रिय हँुदै आएका छन् । मानविय सहयोगको पक्षलाई आत्मसात गरी विद्यार्थीहरु लागेको प्रिन्सिपल खराललले बताए । ५ सय ५० जना विद्यार्थीहरु अध्ययनरत विद्यालयमा गठित सर्कलमा ४० जना विद्यार्थीहरु आवद्ध रहेका छन् । विद्यालयमा व्यवस्थापन संकायमा कक्षा १२ सम्म अध्ययन हुँदै आएको छ ।