Shittalpati
तानसेनमा संस्थागत विद्यालयको अनुगमन, समितिले बुझायो प्रतिवेदन

रामचन्द्र रायमाझी
पाल्पा । तानसेनमा संस्थागत विद्यालयको अनुगमन गरिएको छ । तानसेन नगर सरकारको कार्यापालिकाको बैठकले अनुगमन समिति नै बनाएर तानसेनका २१ वटा संस्थागत विद्यालयमा अनुगमन गरेको हो । समितिले कोभिडका कारण संस्थागत विद्यालयमा पारेको प्रभाव, विद्यालयमा स्वास्थ्य मापदण्डको अवस्था, भौतिक संरचना, शिक्षाको अवस्था, शुल्क निर्धारण लगायतका विषयमा अनुगमन गरेको छ । नगर उप–प्रमुख लक्ष्मीदेवी पाठकको संयोजकत्वमा शिक्षा शाखाका प्रमुख, शिक्षक महासंघ, पत्रकार महासंघ, तानसेन युवा परिषद्का पदाधिकारी लगायतको उपस्थितीमा विद्यालयको अनुगमन गरिएको थियो । समितिले एक हप्ता लगाएर गरेको अनुगमनको प्रतिवेदन मंगलबार बुझाएको छ । अनुगमन समितिका संयोजक लक्ष्मीदेवी पाठकले नगरप्रमुख अशोककुमार शाहीलाई उक्त अनुगमनको प्रतिवेदन एक कार्यक्रमका बिच बुझाएकी हुन् । प्रतिवेदन बुझ्दै नगर प्रमुख शाहीले प्रतिवेदनमा उल्लेख गरिएका समस्या र सुझावहरुलाई कार्यपालिकाको बैठकबाट नगर सरकारले तत्कालै सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले निजी क्षेत्रको अनुगमन, निरीक्षण र सुपेरीवेक्षण गर्ने दायित्व स्थानीय सरकारको भएकाले नगरभित्र रहेका संस्थागत विद्यालयहरुको शैक्षिक अवस्थाका विषयमा अनुगमन गरिएको बताए । नगरप्रमुख शाहीले भने ‘संस्थागत सँगसँगै सामुदायिक विद्यालयहरुको शैक्षिक विकासमा नगर सरकारको उत्तिकै जिम्मेवारी छ, त्यसका लागि संस्थागत विद्यायलको कार्यान्वयन पछि सामाुदायिक विद्यालयको पनि अनुगमन गर्छौ ।’

संघीय सरकारले दिएको ऐन, नियम र कार्य विधीभित्र रहेर विद्यालयहरुको शैक्षिक गुणस्तर विकासमा आफुहरु कटिवद्ध भएर लाग्ने समेत उनले बताए । प्रतिवेदन हस्तान्तरण गर्दै अनुगमन समितिका संयोजक तथा उपप्रमुख लक्ष्मीदेवी पाठकले अधिकांश विद्यालहरुको शैक्षिक अवस्था सन्तोषजनक रहेको बताइन् । उनले भनिन् ‘समग्रमा शैक्षिक अवस्था सन्तोषजनक नै रहे पनि केही एकाध विद्यालयहरुमा भौतिक पूर्वाधारदेखि विद्यार्थीहरुको संख्यामा भने कमी देखिएको छ ।’ विद्यालयको शैक्षिक अवस्था सुधारमा नगर सरकार एक्लैले मात्र सम्भव नरहेको भन्दै उपप्रमुख पाठकले यसका लागि पत्रकारहरुलाई पनि सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा अनुगमन समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख रेशमलाल न्यौपानेले प्रतिवेदनमा समेटिएका विषयहरुका बारे प्रष्ट पारेका थिए । पुस ६ गते कार्यपालिकाको बैठकले दिएको निर्देशन अनुसार विभिन्न मापदण्डहरु बनाएर विद्यालयहरुको अनुगमन गरिएको उनले बताए । अनुगमनका क्रममा विद्यालय सञ्चालनको ढाँचा, कोरोना रोकथाम सम्बन्धी स्वास्थ्य मापदण्डको अवस्था, महामारी लक्षित कार्यक्रम, अभिलेख, शुल्क निर्धारण लगायतका मापदण्डलाई आधार मानेर अनुमगन गरिएको न्यौपानेले जानकारी दिए । कार्यक्रममा करुवा अर्ध–साप्ताहिकका सम्पादक कृष्ण कार्कीले शैक्षिक क्षेत्रमा व्यापक गुनासाहरु आउने गरेको बताए । उनले नागरिकका गुनासाहरुलाई नगर सरकारले अनुगमन गरेर केही हदसम्म भएपनि सम्बोधन गर्ने प्रयास गरेको भन्दै त्यसलाई कार्यान्वयनको चरणमा लैजान आग्रह गरे । कार्कीले समस्या संस्थागत विद्यालयमा मात्र नभई सामाुदायिक विद्यालयहरुमा पनि भएकाले नगर सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए । अनुगमन समितिका संयोजक लक्ष्मीदेवी पाठकको अध्यक्षता, सदस्य गुराँस आत्रेयको स्वागत, पत्रकार महासंघ पाल्पामा उपसभापति भरत शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update