Shittalpati
गुल्मीमा चार स्थानीय तहका आफ्नै प्रहरी

रमेश विश्वकर्मा
गुल्मी ।रेसुङ्गा रेसुङ्गा नगरपालिका, धुर्कोट गाउँपालिका, ईस्मा गाउँपालिका र मालिका गाउँपालिकाले आफ्नै प्रहरी नियुक्ति गरिसकेका छन् । धुर्कोट गाउँपालिकाले २०७५ फागुन मै प्रहरी नियुक्ति गरेको थियो । गाउँपालिकाले एक हवल्दार र चार जना जवान सहित पाँच जना प्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले जानकारी दिए । हवल्दारलाई मासिक १५ हजार पारिश्रमिक दिइएको छ । जवानहरुलाई भने मासिक १२ हजार दिइने गरेको गाउँपालिकाले जनाएको छ । प्रहरीलाई मासिक रासनभत्ता स्वरुप ३ हजार प्रदान गरिदै आएको प्रमुख प्रशासकीय अधिकृत पन्थीले बताए । स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्नका लागि प्रहरीको महत्वपूर्ण भूमिका हुने पन्थीले उल्लेख गरे ।

विपद्को बेलामा पनि नेपाल प्रहरीहरुसँग समन्वय गरी उद्दारमा समेत उनीहरुको ठूलो भूमिका रहने छ । त्यस्तै २०७६ माघ महिनामा रेसुङ्गा नगरपालिकाले नगरप्रहरी नियुक्ति गरेको थियो । एक हवल्दार र ६ जना जवान सहित सात जना नगरप्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार सेवा सर्त र सुविधाको लागि नगर सभाबाट कार्यविधि पारित गरि नगरप्रहरी छनोट गरिएको बताए । उनका अनुसार अहिले ६ जना नगरप्रहरी कार्यरत रहेका छन् । एक जना हवल्दारलाई मासिक १५ हजार र जवानहरुलाई मासिक १३ हजारका दिइएको छ । नगर सरकारले उनीहरुलाई मासिक तीन हजार रासनभत्ता र वार्षिक रुपमा पोशाक उपलब्ध समेत गराउदै आएको छ । मालिका गाउँपालिकाले २०७७ कात्तिक महिनामा प्रहरी नियुक्ति गरेको थियो । एक जना हवल्दार र ४ जना जवान सहित ६ जना प्रहरी नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए । जसमा हवल्दारलाई मासिक १४ हजार प्रदान गरिँदै आएको छ । जवानहरुलाई मासिक १३ हजार पाँच सय पारिश्रमिक गाउँपालिकाबाट प्रदान गरिँदै आएको छ । मासिक रुपमा रासनभत्ता स्वरुप ३ हजार पाँच सय प्रदान गरिएको छ । उनीहरुलाई स्थानीय बजार अनुगमन, गाउँपालिका र नगरपालिकाको सुरक्षा बजार अनुगमन, आन्तरिक राजश्व उठाउने लगायतका कामको जिम्मेवारी दिइएको भण्डारीले बताए । यस्तै इस्मा गाउँपालिकाले २०७७ मंसिर महिनामा प्रहरी नियुक्ति गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले जानकारी दिए । उनका अनुसार एक जना हवल्दार र चार जना जवान सहित पाँच जना नगरप्रहरी नियुक्ति गरिएको छ । जसमा हवल्दारलाई मासिक १५ हजार र जवानहरुलाई मासिक १३ हजार पाँच सय र मासिक ३ हजार रासन भत्ता उपलब्ध गराउँदै आएको महतले बताए ।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update