Shittalpati
बूढा बाबुआमाको सहारा बन्न लागेका पेमी रोगसँग लड्दै

रमेश विश्वकर्मा
गुल्मी । बुढेसकालमा सहारा विहीन भएका बुबा–आमालाई हेर्ने दायित्व जो कोही सन्तानको हुन्छ । त्यस्तै दायित्व बोकेका थिए गुल्मीका एक युवकले । एक वर्षअघि बुढा भएका बुबा आमाको हेरचाह गर्ने सपना बुनेका रेसुा नगरपालिका–१४ टेकुवाका २२ वर्षीय मेखबहादुर पेमी अहिले आफै असक्त अवस्थामा छन् । नेपाली सेनामा भर्ती भएर देश र आमा बुवाको सेवा गर्ने सपना बुनेका पेमी विगत एक वर्षदेखि शरीरमा अप्लास्टिक एनिमिया (रगत उत्पादन नहुने) रोगबाट ग्रसित भई आफै रोगसँग लडिरहेका छन् ।

शरीरलाई चाहिने आवश्यक रगत उनको आफ्नो शरीरले उत्पादन गर्न सक्दैन । यसको उपचारका लागि धेरै रकम खर्च लाग्ने भएपछि परिवार अहिले पीडामा छ । आर्थिक अवस्था कमजोर भएपछि परिवार अहिले पेमीको सहयोगका लागि सबैसँग आग्रह गरिरहेको छ । परिवारको झिनो आस छ त केवल सहयोगको । भर्खर २२ वर्षमा टेकेका पेमी नेपाली सेनामा भर्ती भएर देशको सेवा गर्न चाहान्थे । तर सपनाको संघारमा टेक्न नपाउँदै उनले यतिबेला जीवन रक्षाका लागि हार–गुहार गरिरहेका छन् । ‘मेरो घरमा बुढो भएको बुबा र आमा हुनुहुन्छ । एउटा सानो भाई छ, घरमा आम्दानी भनेको एउटा सानो टुक्रा खेत मात्रै हो । आम्दानीको अरु स्रोत छैन । म बाच्न चाहान्छु । मलाई बचाउनुहोस् ।’ पेमीले कारुणीक मुद्रामा भने ‘तपाईहरुको सहयोगको खाँचो छ । भर्खर त जिन्दगीको सुरुवात हुँदैछ मेरो, बुढा भएका आमाबाबालाई हेर्नुछ । भाइलाई पढाउनु छ । म माथि धेरै जिम्मेवारी छ । घरको आशा भनेको म नै हुँ ।’ उनले देश तथा विदेशमा रहेका सम्पूर्णमा सहयोगको याचना गरेका छन् । पीडित पेमीले सदरमुकाम तम्घास अस्पतालमा केही व्यक्ति तथा संघ संस्थाहरुको सहयोगमा रगत चढाउँदै आएका छन् । तत्काल पेमीको वोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने डाक्टरले बताएका छन् । ट्रान्सप्लान्टका लागि कम्तिमा २५ देखि ३० लाखसम्म लाग्ने जनाइएको छ । आफ्नै अगाडि छोरा मध्येका जेठो सन्तान रोगबाट तड्पिरहेको देख्दा उनका ६२ वर्षिय बुवा चन्द्रबहादुर राना र ५१ वर्षीया आमा मुगा पेमीको मुहारमा अध्याँरो छाएको छ । चन्द्रबहादुरले जीवनको लामो समय भारतमा रोजगारका लागि गुजारे । बुढेसकालमा छोराको आर्जन खाएर नाती, नातिनाहरुसँगै समय बिताउने रहर बुनेका उनले छोराको कहाली लाग्दो अवस्था देख्दा भक्कानिन्छन् । उनी भन्छन् ‘सास हुँदासम्म आश लाग्ने रहेछ । कसरी उपचार खर्च जुटाऔँ । भएको सबै पैसा सकियो । अब खर्च माग्ने ठाउँ समेत बन्द भएका छन् ।’ अब कसैले सहयोग गरे छोराको जीवन बच्ने उनको भनाई छ ।

‘भएको घर बेचे पनि उपचार गर्ने खर्च पुग्दैन, आफ्नो परिवार सडकमा आउँछ’ बुबा चन्द्रको गुनासो छ । पेमीले छोराको उपचारका लागि सदरमुकाम तम्घासदेखि, पाल्पा, बुटवल, भरतपुर हुँदै भारतको गुजरातसम्म पु¥याए । रोग त पत्ता लाग्यो तर, उपचारका लागि पैसा नहुँदा परिवार सहयोगका लागि अपिल गर्दै आएको छ । उनको सहयोग गर्न चाहनेहरुले बैंक अफ काठमाडौंमा रहेको खाता नम्बर २०३७०००००१४८५२४ मा रकम संकलन गर्न सकिने परिवारले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २०, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update