Shittalpati
गुल्मीमा उत्पादित वस्तुहरुको गुणस्तर र लेभलिङ गर्न अन्तरक्रिया

गुल्मी । गुल्मीमा उत्पादित वस्तुहरुको लेभलिङ गर्ने उद्देश्यले उद्योगहरु, व्यवसायीहरु र सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा विभिन्न खाद्यवस्तु उत्पादक उद्योगहरुसँग अभिमूखिकरण कार्यक्रम गरेको हो । गुल्मी जिल्लामा उत्पादन भएका र अन्य ठाउँमा उत्पादन भएका वस्तुहरुको गुणस्तर, कसरी लेभलिङ गर्ने र यसका प्रक्रियाहरुको बारेरमा उद्योगी र व्यवसायीहरुलाई जानकारी गराउने उदेश्यले कार्यक्रम राखिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका वरिष्ठ उद्योग अधिकृत लक्ष्मण घिमिरेले बताए । यस कार्यक्रमले जिल्लामै उत्पादन गर्ने उद्योगहरुले उत्पादन गर्नेका खाद्य वस्तुहरुमा अनिवार्य रुपमा उत्पादित वस्तुको उत्पादन मिति र अन्तिम मिति उल्लेख गरेर विक्री वितरण गर्ने उदेश्य रहेको घिमिरेले बताए । कार्यक्रममा खाद्य प्राविधिक प्रकाश थापाले उत्पादित खाद्य वस्तुको गुणस्तर, लेभलिङ, कसरी गर्ने र खाद्य र अखाद्य वस्तुको बारेमा जानकारी गराएका थिए । उनले उद्योगहरुले अनिवार्य लेभलिङ गरेर विक्री गर्नुपर्नेमा जोड दिएका थिए ।

लेभलिङले कुन वस्तु कसरी प्रयोग गर्ने कहिलेसम्म प्रयोग गर्ने जस्ता खुलाएको हुनुपर्नेमा जोड दिएका थिए । बजारमा विक्री गर्न राखिने विभिन्न खाद्यवस्तुको उत्पादित मिति र म्याद सकिने मिति अनिवार्य राख्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका श्रीकृष्ण भट्टराई र गुल्मी अस्पतालका झबिन्द्र अर्यालले औषधी त्यसको प्रयोग र लेभलिङको बारेमा जानकारी गराएका थिए । उनिहरुले औषधीमा लेभलिङले ठूलो अर्थ राख्ने भएकाले प्रयोग गर्नेहरुले ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष रामप्रसाद पन्थीले जिल्ला सदरमुकाम तम्घास रहेका उद्योगहरुलाई धेरै पहिलेदेखि नै उत्पादित खाद्यजस्तुहरुमा लेभलिङ अनिवार्य राख्न भनिएको बताए । कुनैपनि खाद्य वस्तुमा राखिने लेभलिङ उपभोक्तालाई प्रयोग गर्न पनि ढुक्क हुनेभएकाले यसबारे सबै व्यवसायीले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा सहभागी जिल्लाका विभिन्न उद्योग व्यवसायीहरुले लेभलिङ गर मात्रै भन्ने तर कुनै तालिम र सहयोग नगर्ने गरेको दुखेसो गरेका थिए । तम्घासमा खासगरि चाउमिन, पाउरोटी, दूध, घिउ विक्री गर्ने व्यवसायीहरुले लेभलिङ गरेर विक्री गर्नको निम्ति राज्यबाट पनि सहयोग हुनुपर्ने जोड दिएका थिए । – अनिल खत्रीबाट

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update