Shittalpati
‘पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट बनौं’

रामचन्द्र रायमाझी
पाल्पा । विघठित प्रतिनिधि सभाका सांसद् तथा पूर्वउद्योग मन्त्री सोमप्रसाद पाण्डेले पाल्पाको इतिहास र विरासत जोगाउन निजी क्षेत्र एक जुट भएर अगाडि बढ्नुपर्ने बताएका छन् । शनिबार पाल्पा व्यापार संघको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन् । उनले विकास क्रमसँगै पाल्पाको हिजोको इतिहास र विरासत ओझेलमा परेको चिन्ता व्यक्त गर्दै इतिहास र विरासत कायम राख्न जिल्लाका नीजि क्षेत्रहरु एक भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए । पूर्वमन्त्री पाण्डेले पश्चिम नेपालको सुन्दर नगरी तानसेन नेपाल एकीकरणभन्दा पहिलेदेखिकै प्रसिद्ध र ऐतिहासिक सहर रहेको स्मरण गर्दै सरकार र निजी क्षेत्रको वेवास्तका कारण त्यो विस्तारै हराउदै गएको बताए । तानसेनमा विकास निर्माणका धेरै काम भए पनि विगतको सौन्दर्यता र इतिहासमा भने कमी आएको उनले धारणा व्यक्त गरे । पाण्डेले भने ‘विगतमा सेन राजाहरूको राजधानी भएका कारण उसैबेलादेखि सामाजिक, आर्थिक र शैक्षिक दृष्टिले सम्पन्न तानसेन सहर त्यस क्षेत्रको आर्थिक तथा शैक्षिक गतिविधिको केन्द्र पनि थियो, यहाँका करुवा र ढाका कपडाले नेपालभित्र मात्र नभई नेपाल बाहिर पनि प्रसिद्धि कमाएका थिए, पञ्चायतकालसम्म पनि गुल्मी, अर्घाखाँची र पाल्पाको प्रशासनिक केन्द्र रहेको तानसेनले प्राकृतिक सौन्दर्य, सिल्पकारिता, उद्यमशीलता, जातीय तथा साँस्कृतिक विविधता, धार्मिक सहिष्णुता जस्ता कुरामा ख्याति कमाएको थियो, तर अहिले विस्तारै ति हराउँदै गएका छन्, अब त्यो इतिहास र विरासलाई कायम राख्न जिल्लाका निजी क्षेत्रहरु एक भएर लाग्नुपर्छ ।’

पूर्वमन्त्री पाण्डेले तानसेनलाई ऐतिहासिक र नमूना शहरको रुपमा विकास गर्न स्थानीय सरकार र निजी क्षेत्रलाई रचनात्मक र दिर्घकालिन योजना बनाएर अगाडि बढ्न आग्रह गरेका छन् । उनले सरकार र ठेकेदारको ढिलासुस्तीका कारण सिद्धबाबा सडकले गति लिन नसकेको बताए । पाण्डेले भने ‘हामीले सडक निर्माणका लागि पहल नगरेका होइनौ, तर सरकार र ठेकेदारको ढिलासुस्ती र लापरवाहीले सडकले गति लिन नसकेको हो ।’ कार्यक्रममा प्रदेश सांसद तुलराम घर्ती मगरले पछिल्लो समय मुलुक नै तरङ्गित भएकाले समृद्विको नारा सुखी नेपाली, समृद्व नेपाल बनाउने योजनामा अहिले केही अंकुश लागेको बताएका छन् । उनले सत्तापक्षको केही आन्तरिक मतभेदका कारण देश नै अहिले तरङ्गित भएकाले आर्थिक समृद्विको विषयले गति लिन नसकेको धारणा व्यक्त गरे । अर्का प्रदेश सांसद नारायण आचार्य, डा.पुरनमान बज्रार्चायले जिल्लामा थुप्रै आर्थिक सम्भावनाका क्षेत्रहरु रहेकाले ती क्षेत्रहरुको पहिचान गरी स्वदेशमै युवालाई रोजगारको व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस पाल्पाका सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निजी क्षेत्र आफैमा स्वतन्त्र संस्था भएकाले कुनै पनि दल विभाजन हुँदैमा उद्योगी व्यवसायहरु विभाजन हुन नहुने धारणा व्यक्त गरे । समाज रुपान्तरण र व्यापारीहरुको हितमा विचलित नभई लाग्न सांसद रानाले संघलाई आग्रह गरेका छन् । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले आर्थिक समृद्वि हासिल गर्ने दिशामा नगर सरकार अगाडि बढेको बताए । उनले तानसेन नगर भित्र रहेका सम्भावनाहरुको खोजी गरी दिर्घकालिन योजनाका साथ काम भइरहेकाले स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्न उनले निजी क्षेत्रलाई आग्रह गरे । कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले उद्योगी व्यवसायीहरुको एकता आजको आवश्यकता रहेकाले तानसेनको पर्यटन विकासमा एक भएर लाग्ने बेला आएको बताए । उनले पूर्वधार अभावमा पर्यटकहरु भित्र्याउन नसकेको धारणा व्यक्त गरे ।

होटल तथा रेष्टुरेण्ड व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले तानसेनमा ठूला लगानीका होटलहरु खुले पनि विकासका पूर्वधारहरु नभएकाले समस्या उत्पन्न भएको बताए । कार्यक्रममा गुल्मी च्याम्बरका अध्यक्ष युवराज ज्ञवाली, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, होमस्टे एशोसियसनका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल लगायतले संघको सफलताको शुभकामना व्यक्त गरेका थिए । उद्घाटन सत्र कार्यक्रम संघका अध्यक्ष चिरञ्जीवी पोखरेलको अध्यक्षता, संघका प्रथम उपाध्यक्ष बामदेव बस्यालको स्वागत र सचिव पर्शुराम पौड्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस १२, २०७७  १०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update