Shittalpati
परम्परा धान्दै पदम, आम्दानीको स्रोत  बन्यो माटोका भाँडा

रमेश विश्वकर्मा
गुल्मी । कुमाल समुदायको माटोका भाँडा बनाउने परम्परागत पेशा आधुनिकीकरण तथा व्यवसायीकरण हुन नसकी लोप हुने अवस्थामा पुगिरहेका बेला गुल्मी इस्माका एक युवाले भने माटोका भाँडालाई आम्दानीको मुख्य स्रोत बनाएका छन् । इस्मा गाउँपालिका–६ बुल्मका २३ वर्षीय पदम मुखियाले आधुनिक प्रविधिको प्रयोग गरी माटोका भाँडाकुँडाबाट मनग्य आम्दानी गरिरहेका छन् । उनले स्वदेशमै केही गर्न सकिन्छ भन्ने जोस र जागरका साथ माटोका भाँडा बनाउने काम गर्र्दै आएका छन् । बुल्म प्रगतिशील सेरामिक्स उद्योग स्थानीय समूहबाट लिजमा लिई पुख्यौली पेशालाई निरन्तरता दिदैँ आएको उनले बताए । उनले भने ‘बजारको अभावका कारण नभई गतिलो माटोको अभावका कारण धेरै कुमाल समुदाय परम्परागत पेशाबाट पलायन भए पनि पुख्र्यौली पेशालाई जनतन निरन्तरता दिइदै आएको छु, माटोका भाँडाको विक्रीबाट कमाई पनि राम्रै भइरहेको छ ।’ सानै उमेरदेखि बाबुबाजेबाट माटोको भाँडा बनाउने सीप सिकेका मुखियाले अहिले व्यवसायिक तवरबाट यो पेशा अँगालेका छन् । उनले माटोबाट बन्ने विभिन्न सामग्रीहरु निर्माण गर्छन् ।

यसका लागि आवश्यक पर्ने कालो माटो चौरासी फाँटबाट लिने गरेका छन् । मुखियाले माटोबाट निर्मित हुने पानस, फिल्टर, क्यान्डिल, हाँडी, घैटा, मटुला, गमला, डल्लु, कचौरा, कप, पिलेट, गिलास, तथा अन्य सजावटका मुर्तिहरु निर्माण गर्दै आएका छन् । माटोबाट निर्माण गरेका भाँडाहरु सदरमुकाम तम्घास बजार, वामीटक्सार बजार, छिमेकी जिल्ला बाग्लुङ्ग, प्युठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा, बुटवल लगायतका बजारमा निर्यात हुने गरेको उनले बताए । मुखियाले सेरामिक्समा स्थानीयलाई रोजगारी समेत दिएका छन् । जिल्ला र जिल्ला भन्दा बाहिर हुने मेला महोत्सवमा स्टल राखी माटाका भाँडाहरु प्रर्दशनी गर्दै आएको उनले बताए । यहि पेशाबाट मुखियाले मासिक ३०/४० हजार रुपैयाँ आम्दानी समेत गर्दै आएका छन् । यो पेशाबाट आफु सन्तुष्ट रहेको उनको भनाई छ । २०७२ सालदेखि सेरामिक्स उद्योग सञ्चालनमा ल्याएर आफुले राम्रो आम्दानी समेत गर्दै आएको उनी बताउँछन् ।

गत वर्षसम्म यसको संरक्षण र आवश्यक तालिम तथा औजारको व्यवस्था घरेलु तथा साना उद्योग कार्यालय गुल्मीले गर्दै आएको उनले बताए । सेरामिक्स उद्योगको भौतिक संरचनाको लागि प्रदेश सरकारबाट १५ लाख बजेट विनियोजन भएको थियो । यस उद्योगको विकासका लागि इस्मा गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गर्ने भएको छ । लुम्बिनी प्रदेशकै एक मात्र चिनारी बुल्म सेरामिक्स उद्योग भएकाले पनि यसको विकास र प्रवद्र्धनका लागि स्थानीय सरकारले प्राथमिकता दिने गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले बताए ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update