Shittalpati
तानसेनमा सरसफाई गरेर भ्रमण वर्षको शुभारम्भ

कृष्ण पोखरेल
पाल्पा, तानसेनमा सरसफाई गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा तानसेन नगरपालिकाले नगर सरसफाईको विशेष अभियान शुरु गर्दै भ्रमण वर्षको शुभारम्भ गरेको हो । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाही र उपप्रमुख लक्ष्मीदेवी पाठकले नेपाल भ्रमण वर्षको झण्डोलोत्तन गरी भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

तानसेन नगरपालिकाले नेपालकै पहिचानको रुपमा रहेको रानीमहललाई प्रमुख केन्द्रविन्दु बनाएर भ्रमण वर्षका कार्यक्रम सञ्चालन गरिएको जनाएको छ । नगर सरसफाई भए मात्र पर्यटकहरु बढी आउने भएकाले सबै वडा सडक गल्लीहरु विशेष रुपमा सरसफाई अभियान सञ्चालन गरिएको तानसेन नगरपालिकाले जनाएको छ । नगरपालिकाले नेपालका सबै होटलहरुको काउण्टरमा रानीमहलको फोटो राख्ने गरी कार्यक्रम बनाइएको नगर प्रमुख शाहीले बताए । स्वदेशी तथा विदेशी पाहुनाहरुलाई लक्षित गरी तानसेन नगरभित्र तथा जिल्लामा रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरुको डिजिटल डिस प्ले, बोर्ड व्यानरबाट सार्वजनिक गरिएको बताए ।

तानसेन नगरपालिकाले पोखराको फेवाताल, लुम्बिनी, सुनौली नाका, भैरहवा एयरपोटका साथै नेपालका सबै विमानस्थलहरुमा डिजिटल बोर्ड पाल्पाको प्रचार–प्रसार गरी पर्यटक भित्र्याउने नगर प्रमुख शाहीले जानकारी गराए । नगरपालिकाले भ्रमण वर्षको अवसरमा माघको पहिलो हप्तामा साता व्यापी फुड फेस्टिबल, सडक खाना महोत्सव, आर्ट महोत्सव तथा विभिन्न प्याकेज सहितका कार्यक्रम सञ्चालन गर्ने प्रमख कार्यकारी अधिकृत डिल्लीराज वेलवासेले बताए । पर्यटकहरुलाई आर्कषित तथा सूचनामूलक जानकारीको लागि नगरका विभिन्न स्थामा डिजिटल डिसप्लेहरु सञ्चालन गरिएको छ । तानसेन नगरपालिका भित्र प्रेमको प्रतिक रानीमहल र श्रीनगरलाई सरकारले नै एक सय पर्यटकीय गन्तव्यको रुपमा घोषणा गरेको छ । पाल्पामा रम्भापानी र मानव निर्मित रामपुरको तालपोखरालाई एक सय पर्यटकीय गन्तव्यको रुपमा सरकारले घोषणा गरेको छ । कार्यक्रमको सञ्चालन सामाजिक विकास अधिकृत भरत आचार्यले गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  २२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update