Shittalpati
विज्ञान र प्रविधिमा जोड : मन्त्री बराल


इमान सिं राना
पाल्पा (रामपुर), प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले शिक्षा क्षेत्रमा विज्ञान र प्रविधिलाई जोड दिनुपर्ने बताएका छन् ।
आधारभूत माध्यमिक विद्यालय रामपुर ७ र नवदुर्गा माध्यमिक विद्यालयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईद्वारा निर्मित चारकोठे भवनको छुट्टाछुट्टै कार्यक्रमका बीच उद्घाटन गर्दै विश्वमा प्रविधिको विकास तिव्र गतिमा भैरहेकाले हाम्रो अस्तित्वको रक्षाको लागि पनि विज्ञान र प्राविधिक शिक्षा अनिवार्य हुनु पर्ने बताएका हुन् ।

उनले सन् २०५० सम्ममा हरेक क्रियाकलाप विश्वमा यन्त्रबाटै हुने गरी प्रविधि अघि बढेको भन्दै अब यसलाई मध्यनजर गरेर हाम्रो मुलुक पनि त्यसतर्फ लम्किनु पर्ने बताए । बरालले प्रदेश सरकारले पनि प्राविधिक शिक्षालाई जोड दिएर घरबाटै प्राविधिक शिक्षा लिन सक्ने वतावरण तयार गर्न लागि परेको बताए । आधारभूत माध्यमिक विद्यालय भएको कार्यक्रममा बोल्दै प्रदेश सांसद युवराज खनाल, रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापा, राष्ट्रिय पुनर्निर्माण प्रधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई पाल्पाका लक्ष्मण देवकोटा, नेकपा रामपुरका ईञ्चार्ज राजुप्रसाद श्रेष्ठ, काँग्रेस रामपुरका नगर सभापति नेत्रप्रसाद भट्टराई र रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा प्राधानाध्यापक रुपनाथ गौतमले ६९ लाख ५९ हजार १ सयको लागतमा भवन निर्माण भएको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका सदस्य मिठ्ठु माया सुनारको स्वागत र शिक्षक धुर्व शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो । यस्तै नवदुर्गा माध्यमिक विद्यालय रामपुर ६ तिलकपुरमा भएको उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर अधिकारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त न्यौपानेले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै ७० लाख ०८ हजार ३ सय ९० को लागतमा भवन निर्माण भएको बताए । शिक्षक अभिभावक संघका अध्यक्ष दिप भण्डारीको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक दिपेन्द्र भट्टराईले गरेका हुन् ।

प्रकाशित मिति: बुधबार, पुस १६, २०७६  २१:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update