Shittalpati
दिवा खाजाले बालबालिका आकर्षित

रासस

पाल्पा । यहाँका कुमाल समुदायका बालबालिका दिवा खाजा कार्यक्रमसँगै विद्यालय आउने क्रम बढ्दो छ । रिब्दीकोट गाउँपालिकाले जोगिथुमको कालिका आधारभूत विद्यालयमा सञ्चालित दिवा खाजा कार्यालयले बालबालिकालाई नियमित रुपमा विद्यालय ल्याउन सफल भएको छ । अध्ययनका लागि विद्यालय नै उपस्थिति नहुने र दिउँसो नै विद्यालय छाडेर घर फर्किने समस्या पछि गाउँपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थी दिवा खाजापछि नियमित पठनपाठनमा सहभागी हुन्छन् र साँझसम्म बस्छन् । यसले कक्षा छाड्ने समस्या हटेको छ । विपन्न कुमाल समुदायका बालबालिका कक्षा छाड्ेर श्रममा जान थालेपछि दिवा खाजा चलाएर विद्यालयप्रति आकर्षित गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर जीसीले बताए । कार्यक्रम सञ्चालनपछि अहिले नियमित विद्यार्थीले अध्ययन गर्न थालेको जिसीको भनाई छ । गाउँपालिका अध्यक्ष जिसीका अनुसार एक वर्ष झण्डै ६० प्रतिशत बालबालिका विद्यालय समयमा कक्षा बाहिर अभिभावकसँग हुनेमा अहिले सबै बालबालिका विद्यालयमा अध्ययन गरिरहेका हुन्छन् । गाउँपालिकाले २०७५ जेठदेखि बालदेखि कक्षा ८ सम्म दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याएको थियो । गाउँपालिकाले प्रतिविद्यार्थी प्रतिदिन २० बराबरको सहयोग गर्छ ।

गाउँपालिकाले कुमाल समुदायमा शिक्षाको महत्व लगायतका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । अभिभावकले बालबालिकालाई श्रममा भन्दा विद्यालय अध्ययनलाई पठाउन रुचि देखाएका छन् । कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक सुरेशबहादुर कुमालले दिवा खाजा कार्यक्रमपछि छ दिन नै विद्यार्थी विद्यालयमा उपस्थित हुँदा पठनपाठन प्रभावकारी हुँदै गएको बताए । कक्षामा प्रशस्त विद्यार्थी हुँदा शिक्षकलाई पढाउन उत्साह हुने कुमालले बताए । खाजा कार्यक्रमले विद्यार्थीको सिकाइमा सुधार आएको छ । कुमाल समुदायको खेतीयोग्य जमिन प्रशस्त नहुँदा अधिकांश अविभावक मजदूरी गरेरै दैनिकी बिताउन बाध्य छन् । मजदूरी गरी कमाइ भएको पैसाले साँझ बिहान चुलोमा आगो बाल्न समस्या हुँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update