Shittalpati
नेपाली मूलका निर्मल फ्रान्सको ओभरभिलिय सहरको उपप्रमुखमा उम्मेदवार

पाल्पा । फ्रान्समा आगामी मार्च महिनामा हुन लागेको निर्वाचनमा नेपाली मुलका निर्मल अर्याल रेभेइए ओबरभिलिए समुहको तर्फबाट नगर उपप्रमुखका लागि उम्मेदवारी हुने भएका छन् ।

आगामी मार्च महिनाको १५ र २२ तारिकमा हुने स्थानीय तहको निर्वाचनका लागि हाल बसोबास गरिरहेको ओभरभिलिय नगरपालिकामा उपप्रमुख पदका लागि उम्मेदवारी दिएको अर्यालले बताएका छन् । फ्रान्सको पेरिस नगरपालिकासँग जोडिएको सेनशाँनदनि जिल्लामा रहेको ओभरभिलिय नगरपालिका जिल्लाको चौथो ठूलो नगरपालिका हो भने यो नगरपालिकामा करिब ८५ हजार जनसंख्या रहेको छ ।

फ्रान्समा ३५,हजार भन्दा बढी स्थानीय तह रहेको छ जसमध्ये ८५ प्रतिशत गाउँपालिका रहेका छन् । एनआरएनए फ्रान्सका पूर्व अध्यक्ष,तथा वर्तमान संरक्षक समेत रहेका अर्याल, फ्रान्सकै एक प्रतिष्ठित इन्सुरेन्स कम्पनीको सिनियर वातावरणीय इन्जिनियर हुँदै procurment प्रमुखको रुपमा कार्यरत रहेका छन् । सरल स्वभाव र सहयोगी भावना भएका अर्याल कुरा भन्दा काम गर्न मन पराउँछन् । अर्यालको जन्म नेपालको गोरखा जिल्लामा भएपनि उनको प्राथमिक तथा उच्च शिक्षा फ्रान्समै पुरा भएको थियो यसकारण उनी फ्रेन्च समुदायसँग र त्यहाँका सामाजिक कार्यकर्ताहरुसँग राम्रोसँग घुलमिल र नजिकबाट चिनिने मौका पाएका थिए । उनी नगरप्रमुख उम्मेदवारका अत्यन्त नजिक र विश्वास पात्रको रुपमा मानिन्छन । उनको समुहलाई चुनावी मैदानको दौरानमा आवश्यक पर्ने आर्थिक संकलन र परिचालनको जिम्मा पनि उनै अर्याललाई दिईएको छ । अर्यालले उम्मेदवारी दिएको रेभेइए ओबरभिलिए समूहमा राजनीतिमा लागेका व्यक्तिहरु कम छन्, यसमा धेरै जसो नागरिक समाजका व्यक्तिहरु आवद्ध रहेका छन् । यद्यपी यस समूहलाई फ्रान्सको सोसियलिष्ट पार्टी लगाएत अन्य थुप्रै सानातिना पार्टीको पनि समर्थन रहेको छ । यो समूहको मुल नारा “एक दिगो र साझेदारी परियोजनाको लागि” भन्ने रहेको छ । जसले फ्रेन्च मतदाताको मन पगाल्न सक्दछ । फ्रान्सको स्थानीयतहको समयावधी ६ वर्षसम्मका लागि हुने छ ।

यस्तो छ चुनावी प्रक्रिया

निर्वाचनको पहिलो चरणमा अत्याधिक बहुमत ल्याउने अर्थात ५० प्रतिशत भन्दा माथी ल्याउनेले नगरपरिषद्को जम्मा संख्याको आधा हिस्सा लग्छ र बाँकी रहेको सिट समानुपातिक ढङ्गले ५ प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टलाई बाँडिन्छ । पहिलो चरणमा अत्याधिक बहुमत नआए न्युनतम १० प्रतिशत ल्याउने लिष्ट दोस्रो राउण्डमा जान पाउँछ । दोस्रो राउण्डमा जाने लिष्टहरु मिसिन मिल्ने प्रावधान छ । न्यूनतम ५ प्रतिशत भोट ल्याए १० प्रतिशत भन्दा माथि भोट ल्याउने लिष्टसँग मिसिएर दोस्रो राउण्डको चुनावमा भाग लिन पाउँछ । दोस्रो राउण्डमा कुनै पनि लिष्टको बहुमत नआएमा अग्रपंक्तिमा रहेको लिष्टले बहुमतको ५० प्रतिशत सिट लैजाने व्यवस्था छ । र अरु बाँकी सिट भोट पाएको हिस्साले समानुपातिक हिसाबले बाँडिन्छ । स्थानीय चुनावमा महिला र पुरुषको हिस्सा बराबरी हुनु पर्ने प्रावधान छ । लिष्ट तय गर्दा पार्टी अथवा समूहले पुरुष महिला पालैपालो मिलाउनु पर्छ । नगरको जनसंख्याको आधारमा नगरपरिषद्को संख्या तोकिएको हुन्छ । ओभरभिलिय सहरमा नगरपरिषद्को संख्या ५३ जनाको रहेको छ ।

फ्रान्सको स्थानीय चुनावमा नगरप्रमुखको बन्ने भन्ने कुरा हरेक पार्टी अथवा समूहले घोषणा र दर्ता गर्नु पर्ने हुन्छ । नगरप्रमुख बाहेक अरु पदहरु निर्वाचनको परिणाम आएपछि तय गरिन्छ । तर अर्यालको भने उपप्रमुखमा लगभग पक्का भईसकेको छ । अर्यालको समूहले जिते नेपालीलाई हुने फाईदा निर्मल अर्यालको टिम रहेको “रेभेइए ओबरभिलिए” समूहले उक्त नगरपालिकामा विजय प्राप्त गरेमा जिल्लाको चौथो ठूलो सहर समेत रहेको सहरमा नेपाली मुलको व्यक्ति नगरसमाजमा जितेमा नगर भित्र रहेका नेपालीहरुलाई स्थानीय रुपमा बढी र प्रभावकारी रुपमा सहयोग हुने छ । नेपाली समुदाय र फ्रेन्च समुदायको सम्बन्ध विस्तारमा टेवा पु¥याउने छ जसबाट फ्रेन्च समुदायसँग बढी घनिष्ठता र हार्दिकता बढाउन सक्दछ । त्यहाँ रहेका नेपालीहरुले स्थानीय तहको स्रोत र साधन नियमकानुन सम्मत रहेर सहजरुपले उपयोग गर्ने सम्भवाना बढ्ने छ । नेपालको स्थानीय तह एवं सरकारसँग घनिष्ठता बढाउन पुलको काम गर्न सक्ने अवसर प्राप्त हुन सक्दछ । नेपालीहरु आफ्नै समुदायमा मात्रै सिमित रहेको परिस्थितिमा नेपाली समुदाय र फ्रेन्च समुदायको सम्बन्ध विस्तारमा टेवा पुग्ने विश्वास लिएको छ । फ्रान्समा नेपाली समुदाय धेरै सानो भएपनि यो अवसरले नेपाल चिनाउन सहयोग पुरयाउने छ ।

नेपाली कुट्नैतिक नियोगसँग हातेमालो गर्दै नेपालको स्थानियतहसँग भगेनी सम्बन्ध विस्तार,सहयोग र संस्कृतिक आदन प्रदान र नेपाली जनताको हितमा काम गर्न सक्ने अवसर प्राप्त हुने छ । को हुन निर्मल अर्याल २०३२ सालमा गोरखा जिल्लामा जन्मिएका निर्मल अर्याल १३ वर्षको उमेरमा आफ्ना पिता हरिहर अर्यालसँगै फ्रान्स गएका थिए । उनले माध्यामिक देखी एमफिल सम्मको पढाई फ्रान्समै पुरा गरे । पेसाले उनी सिभिल इन्जिनियर हुँदै वातावरण विज्ञानमा एमफिल गरेर हाल procurment प्रमुख रहेकाछन् ।

बौद्धिक क्षेत्रमा निकै अब्बल व्यक्तित्व अर्याल सामाजिक क्षेत्रमा पनि सक्रिय हुँदै आए । फ्रान्सको खे्रजीलेमोँ शहरमा खोलिएको फ्रान्स नेपाल बी पनौति मैत्री संघमा आवद्धता भएर सामाजिक क्षेत्रमा पहिलो पाईलाको सुरुवात गरे । तत्पश्चात विभिन्न संघ संस्थामा अवद्धता हुँदै सन् २००७ मा एनआरएनए फ्रान्सको युथ कोअर्डीनेटर भई जिम्मेवारी ग्रहण गरेभने युथ कोअर्डिनेटर हुँदा गरेको प्रशंसनिय कार्यले सन् २०११ मा उनले एनआरएनए फ्रान्सको अध्यक्ष पदको नेतृत्व गर्न पुगे । उनी अध्यक्ष भएको बखत गरेका कार्यलाई आज पनि फ्रान्सको नेपाली समुदायले एउटा स्वर्णीम पलको रुपमा सम्झना गरेको पाईन्छ । त्यो सँगै उनी फ्रान्सको सोसियलिष्ट पार्टीसँग निकट हुन थाले र पार्टीमा सहयोगी भूमिका निर्वाह गर्दै आए ।

फलस्वरुप उनी अहिले बसोबास गरिरहेको ओभरभिलिय नगरपालिका अन्र्तगत स्थापना भएको (सीसीसीई) विभिन्न ३२ देशको प्रतिनिधित्व गर्ने एउटा स्वैच्छिक वोर्ड जसले हरेक प्रकारको भेदभावका विरुद्धमा लड्ने, सुझाब दिने,सहयोग गर्ने र स्थानीय चुनावमा नगरभित्र बस्ने बासिन्दाहरुलाई भोटको अधिकार दिईनुपर्छ भन्ने बारे लविङ गर्ने समुहको अध्यक्ष समेत रहेर कार्य गरे । फ्रान्सको सेनशाँनदनि शहर स्थित सहकारी बैँकको तीन कार्यकाल अध्यक्ष समेत बन्न सफल भए यसरी उनीसँग आर्थिक क्षेत्रको पनि लामो अनुभव रहेको छ ।

 

उनी त्यो बैँकको अध्यक्ष रहँदा फ्रान्समा रहेका नेपालीहरुलाई खाता खोल्न,ऋण लिन मिल्ने सहज बाटो बनाईदिएका थिए । हरेक वर्ष जसो नेपाल आईराख्ने उनीमा नेपाली कला संस्कृति रीतिरीवाजप्रतिको चाख अझै मरेको छैन।उनले राष्ट्रिय समन्वय परिषद् फ्रान्सको अध्यक्ष हुँदा नेपालमा प्राकृतिक प्रकोपमा परी समस्यामा रहेकाहरुलाई ठुलो परिमाणमा आर्थिक सहयोग गरेका थिए । उनले अनाथ अपाङ्ग,गरिब बालबालिकाहरुकाहरुलाई शिक्षा स्वास्थ्य क्षेत्रमा पाल्पा गोरखा र धादिङमा आर्थिक सहयोग पनि प्रदान गर्दै आईरहेका छन् । अर्याललाई साहित्य र लेखन क्षेत्रमा पनि चाख रहेको पाईन्छ । उनको ज्ञानविन्दु पत्रिकामा अंग्रेजी लेख प्रकाशन भएको पनि पाइन्छ । यी र यस्तै लगनशीलता,परीश्रमी,अध्ययनशीलता, सामाजिक भावना,जिम्मेवारीबोध र उच्चशीक्षित,अनुभवी व्यक्तित्व भएकै कारण उनी फ्रान्सको स्थानिय निर्वाचनमा सोसलिष्ट पार्टीको समुहबाट उम्मेदवार बन्न सफल भएकोे पाइन्छ ।

प्रकाशित मिति: शनिबार, माघ १८, २०७६  १५:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update